प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको अधिवेशनका लागि प्रतिनिधि पठाउने म्याद साउन २७ सम्म
- साउन २०, २०८३
- 0
काठमाडौं। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले आगामी साउन २९ गते हुने साधारणसभासहितको अधिवेशनमा सहभागी हुन सदस्य संस्थाहरूलाई साउन २७ गतेभित्र प्रतिनिधि पठाउन आग्रह गरेको छ।
मञ्चका अध्यक्ष जनक रावलद्वारा जारी सूचनाअनुसार, साउन १९ गते बसेको बैठकको निर्णयबमोजिम प्रतिनिधि पठाउने अन्तिम म्याद साउन २७ गतेसम्म कायम गरिएको हो। केही सदस्य संस्थाले तोकिएको समयभित्र प्रतिनिधि पठाउन नसकेको अवस्थालाई ध्यानमा राख्दै समयसीमा थप गरिएको मञ्चले जनाएको छ।
मञ्चले अधिवेशनमा सहभागिता सुनिश्चित गर्न सबै सदस्य संस्था तथा व्यवसायीलाई आवश्यक कागजातसहित समयमै प्रतिनिधि पठाउन अनुरोध गरेको छ। प्रतिनिधिसँग प्रतिनिधि छनोटसम्बन्धी निवेदन, संस्थाको इजाजतपत्र तथा शेयर लगतको प्रतिलिपि, प्रतिनिधिको नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजका फोटो तथा तोकिएको लेवी बुझाएको प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ।
मञ्चले साउन २७ गतेपछि प्राप्त हुने प्रतिनिधिसम्बन्धी आवेदन तथा कागजातलाई मान्यता नदिइने स्पष्ट गर्दै अन्तिम समयसम्म प्रतीक्षा नगरी समयमै प्रक्रिया पूरा गर्न सदस्य संस्थाहरूलाई आग्रह गरेको छ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालको साधारणसभासहितको अधिवेशन साउन २९ गते आयोजना हुने तय भएको छ, जहाँ नयाँ नेतृत्व चयनसँगै संगठनको आगामी कार्यदिशा तथा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।















