सामाजिक सेवासँगै नीलकमलको १८औं वार्षिकोत्सव, रक्तदानदेखि छात्रवृत्तिसम्म 

news-details

काठमाडौं । वैदेशिक रोजगार क्षेत्रको अग्रणी संस्था नीलकमल ह्युमन रिसोर्स प्रा.लि. ले रक्तदान, आर्थिक सहयोग र छात्रवृत्तिजस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आफ्नो १८औं वार्षिकोत्सव सम्पन्न गरेको छ।

शनिबार सिनामंगलस्थित प्रधान कार्यालयमा केक काटेर वार्षिकोत्सवको शुभारम्भ गरेको कम्पनीले रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आफ्नै संस्थामार्फत वैदेशिक रोजगारीका क्रममा कुवेतमा मृत्यु तथा घाइते भएका कामदारका आश्रित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो।

सन् २००८ मा युवा व्यवसायीहरूको पहलमा स्थापना भएको नीलकमल ह्युमन रिसोर्स हाल नीलकमल ह्युमन ग्रुप अफ कम्पनीज अन्तर्गत सञ्चालित छ। कम्पनी विगत केही वर्षदेखि सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउने संस्थामध्ये अग्रस्थानमा रहँदै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै कम्पनीले ४ हजार १६ जना नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएको जनाएको छ।

कम्पनीका अध्यक्ष मेघनाथ भूर्तेल, म्यानेजिङ डाइरेक्टर जयराम भूर्तेल, एक्जिक्युटिभ डाइरेक्टर अजय थापा, अपरेसन डाइरेक्टर सागर पौडेल र रिसोर्सिङ डाइरेक्टर जीवनाथ भूर्तेलको नेतृत्वमा कम्पनी सञ्चालन हुँदै आएको छ। अध्यक्ष भूर्तेल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव समेत हुन्।

Screenshot

अध्यक्ष भूर्तेलले नेपाली युवायुवतीलाई खाडीका विभिन्न मुलुकमा आकर्षक सेवा–सुविधा र पारिश्रमिकसहितको रोजगारी उपलब्ध गराउन कम्पनी सफल भएको बताए। सिनामंगलस्थित प्रधान कार्यालयसँगै झापाको बिर्तामोड, महोत्तरीको बर्दिबास, चितवन, कास्कीको पोखरा र बाँकेको नेपालगञ्जमा शाखा कार्यालय सञ्चालनमा रहेका छन्। कम्पनीका विभिन्न कार्यालयमा २ सय ७० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

वार्षिकोत्सवका अवसरमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका रमेशकुमार राजवंशी र सोममाया वाइवा लिम्बूका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो। साथै, मृतक कामदारका सन्तानलाई कक्षा १२ सम्म अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा पनि कम्पनीले गरेको छ।

लायन्स क्लब अफ काठमाडौं नीलकमलका चार्टर प्रेसिडेन्ट मेघनाथ भूर्तेल र चार्टर सेक्रेटरी भवानी निरौलासहित २६ जना लायन्स सदस्यको सहभागितामा सम्पन्न रक्तदान कार्यक्रममार्फत कम्पनीले सामाजिक सेवाका गतिविधिलाई आगामी दिनमा अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले नीलकमलको सफल यात्राको प्रशंसा गर्दै आगामी दिनमा थप उन्नति र प्रगतिको शुभकामना व्यक्त गरे। उनले वैदेशिक रोजगार क्षेत्रलाई व्यवहारिक नीति र कानुनमार्फत नियमन गर्नुपर्नेमा जोड दिँदै अव्यावहारिक नियमनले व्यवसाय नै संकटमा पर्न सक्ने चेतावनी दिए।

वरिष्ठ अधिवक्ता शम्भुप्रसाद निरौलाले कम्पनीका सञ्चालक तथा कर्मचारीको निरन्तर मेहनतले नीलकमललाई स्थापित व्यावसायिक संस्थाको रूपमा विकास गरेको उल्लेख गर्दै थप व्यावसायिकता र सेवामुखी भावनाका साथ अघि बढ्न सुझाव दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया