नेकपाका ‘विभिषण’हरू !

news-details

एउटा नीति कथाबाटै विभिषण महात्म्य सुरू गर्नु सान्दर्भिक लाग्यो ।

कुनै एक देशमा एक राजा थिए । उनको मनमा कुरा खेलेछ आफू जन्मेकै मिति, समय, बार, घडि, पला, राशी, नक्षत्र सबै मिलेर अरु पनि थुप्रै मान्छे जन्मिए होला, त्यो संयोग परेर म मात्रै जन्मेको पक्कै होइन । तर म नै राजा किन भएँ ।

साँच्चै जान्न मन लागेछ र तत्कालै विज्ञ सभा डाकेछन् । कसैले के भने कसैले के, सबैले चाकडीकै भाषा बोले । राजालाई कसैको कुरा चित्त बुझेन ।

एकजना बुज्रुकले सुझाएछन् महाराज ! दरबारदेखि उत्तरपटिको ठूलो जङ्गलमा एउटा साधु बस्छ त्यसले पो केही बताउला की ?

बुज्रुकको कुरा चित्त बुझ्यो । राजा दलबलसहिल वनतिर लागे । नभन्दै एउटा सेउले कुटीमा एक मनुष्य देखियो । हेर्दै घिनलाग्दो, निर्वस्त्र, माटो खाइरहेको थियो ।

त्यसलाई देख्ने बित्तिकै राजाको विश्वास टुट्यो । यो नाथे फोहोरीले यति गहन विषयको के जवाफ देला र ? अविश्वासमै उनले आफ्ना कुरा राखे ।

साधु झर्किएर बोल्यो देख्दैनस् म भोजन गरिरहेको छु । तलाई जान्नु नै छ भने अगाडि जा, अर्को मजस्तै साधु छ त्यसलाई सोध ।

राजा अगाडि बढे । केहीबेर हिँडेपछि अघिकैजस्तो फोहोरी साधु भेटियो । ऊपनि धमाधम खरानी खादै थियो ।

मन नलागि नलागि राजाले आफ्ना कुरा राखे । उसले पनि उस्तै रुखो जवाफ दियो त्यो खोल्सी पारी एउटा गाउँ छ, त्यो गाउँमा एउटा विरामी केटो छ त्यसले जवाफ दिन्छ गएर सोध् ।

राजा गए । नभन्दै खोलापारी गाउँको एक घरमा एउटा रोगी केटो जिर्ण अवस्थामा भेटियो । उसलाई देखेपछि सोधौँ की नसोधौँ भयो राजालाई । उसले विनम्रता प्रदर्शन गरेर राजालाई सोध्यो केका लागि आउनुभयो । को हो तपाई ।

राजाले आफ्नो परिचय दिए र सबै कुरा बताए ।

राजाको कुरा सुनेर उसले भन्यो तपाई राजा हुनुमा कारण छ ।

राजा उत्सुक भए र कान ठाडा पारे ।

केटोले कारण सुनायो ।

अघिल्लो जन्ममा एकैघरका चार दाजुभाइ सिकार खेल्न वनमा गएका थिए । धेरै दिन डुल्दा पनि शिकार भेटेनन् । बाटो पनि बिराए । बोकेको सामलखाजा पनि सिद्दियो ।

लखतरान भएका उनीहरुको झोलामा बचेको एउटा रोटी थियो । त्यही रोटि निकालेर बाँडि खान लागेका थिए । त्यहीबेला भोकले लखतरान भएको अर्को शिकारी आइपुग्यो र एक टुक्रा रोटी माग्यो ।

जवाफमा एउटाले भन्यो यो मुला एकटुक्रा रोटी तँलाई दिएर म माटो खाउँ ? अर्कोले हाँस्दै थप्यो त्यही त, यति नाथे खानेकुरा तँलाई दिएर खरानी खानु हामी ।

एउटा केही बोलेन । अर्को भाइले चाहिँ केही नबोली आफ्नो हातको आधा उसलाई दियो र आधा आफुले खायो ।

ती चार भाइ शिकारी हामी नै थियौँ । जसले तँलाई रोटी दिएर म माटो खाउँ ? भन्यो त्यो तपाईले भटेको पहिलो साधु थियो । जसले तँलाई रोटी दिएर म खरानी खाउँ ? भन्यो त्यो दोस्रो साधु थियो । र तेस्रो जसले त्यो भोकोलाई केही भनेन तर खान पनि दिएन । त्यो म हुँ । न मर्न सक्छु न निको हुन ।

अनि अर्को जो आफुले पनि खायो भोकोलाई पनि दियो त्यो तपाई हो महाराज । त्यही पूर्वजन्मको फलले तपाई आज राजा हुनुभएको हो ।

यहि कथासँग मिल्छ नेपालको वर्तमान संयोग ।

पाँचपटक देश हाँक्नुपर्ने खास योगदान र क्षमता नभए पनि सायद यस्तै केही कारणले प्रधानमन्त्रीको पद आइलागेको छ ।
अझ भनौँ, त्रेता युगका रामको अभिनय गर्नुपर्ने बाध्यता आइलागेको छ ।

राम यस मानेमा की वर्तमान राजनीतिमा पात्र विभिषणको चर्चा वा तुलना हुँदैछ ।

हुन त रावण जन्मिएपछि मात्र विभिषण जन्मिने हो । जब रावण र विभिषणको उदय हुन्छ राम स्वतः अगाडि आउनेछन् ।

तीन पात्र र प्रवृत्तिकै कारण नेपालको वर्तमान राजनीति महाभारत मच्चिएको छ ।

सच्चा रामहरू यत्र, तत्र, सर्वत्र हुँदाहुँदै लोकले रामको अगाडि ‘ह’ विशेषण थपेका पात्र नै आए, खोजियो ।

बिकल्प खोजिएन, दिइएन वा कसैले सच्चा राम हुँ भन्ने आँट गरेन । त्यसैले माथि राजाको कथासँग मिल्दो भएको मान्न सकिन्छ पूर्वजन्मको फल ।

अभिनय नै सही राम बन्ने अवसर जो कोहीले कहाँ प्राप्त गर्छ र ।

अभिनेता रामबाट साँच्चिकै राम बन्ने अवसर हो यो । यो अवसर छोप्न आफूबाहेक अरू कसैले प्रधानमन्त्री देउवालाई सहयोग गर्न सक्दैन । जनताले नपत्याएकै अवस्थामा सावित गरे हुन्थ्यो आफूलाई ।

तर राम भन्न सकिन्छ काँध थाप्न सकिन्न ।

रामका कुरा फेरि गरौँला अब विभिषणका कुरा ।

आप्mनै दलको सरकार गिराएर नक्कली रामलाई साथ दिएकोमा माधव नेपालहरूलाई विभिषण विशेषण दिएको सुनिन्छ । सायद विभिषणलाई धोकेबाज चरित्र मानिएको होला ।

तर धोकेबाज कम सत्यका पक्षपाती र साहसी पात्र बढि मानिन्छन उनी ।

अर्काकी पत्नी बन्धक बनाएर वंश, कुल र राज्यकै बदनाम गर्ने आफ्नै दाजुलाई समर्थन नगर्नु विभिषणको कमजोरी भयो । त्यही कमजोरी उनको नायकी चरित्र हो । उनका अरु पाटाहरू कस्ता थिए गौण भए ।

राजा रावणको अहंकार, दम्भ र अनैतिक कर्मले लंका र लंकेशको राजगद्दी मात्र गुम्दैन राज्यका सबै नागिरकले दुःख पाउछन् । अहंकार त्याग र आफ्नो कर्मप्रति पश्चाताप गर ।

यत्ति थियो विभिषणको भाइफुटे गवार लुटे बन्नुपर्ने मत ।

माधव नेपालहरूलाई धोकेबाज चरित्रकै रुपमा विभिषण मान्न सकिएला । तर, सत्य यो हो की रावण जन्मिएपछि मात्रै विभिषण जन्मिने हो । र रावणको खलनायकी चरित्रकै कारण रामको भूमिका आएको हो ।

नेकपाका विभिषण आज त्यति भाग्यमानी भएनन् जति त्रेता युगका विभिषण भाग्यमानी थिए ।

आफ्ना दाजु अहंकारी, दम्भी थिए । तर रोज्नका लागि राम पनि थिए । तर नेकपा विभिषणका रावण दाजु त थिए तर रोजाइमा कुनै राम भाइ थिएनन् । त्यसैले बाध्यता थियो पुत्ला राम छान्नुको । जोखिम उठाएकै हो ।

मानिएकै सही देउवारामले आफ्ना लागि नभए पनि ती विभिषण चरित्र, तिनको त्याग र योगदानका लागि भए पनि राम बन्ने अभ्यास गर्नै पर्दछ । कुलमान नियुक्तिले एक झिल्को आशा दिएको छ । यो संयोग मात्र नहोस् ।

नत्र भने आफ्नै दाजुको रावणचरित्र विरुद्ध कुनै भाइहरु विभिषण बन्न सक्ने छैनन् । रावणराजको विकल्प मर्नेछ । रामको उदय कल्पनामा मात्र पनि अंकुराउने छैन ।

अब प्रसङ्ग संक्षिप्त रावण चिनारीको ।

रावण सृष्टिकर्ता ब्रह्माका पनाति र विस्रवा ऋषिका छोरा थिए । उनको वास्तविक नाम दशानन् थियो । उनी शिव भक्त महाज्ञानी थिए । शिव पुराणअनुसार शिवले नै उनको नाम रावण राखिदिएका थिए ।

उनका दसओटा टाउका विम्ब मात्रै हुन् । ४ वेद र ६ शास्त्रको ज्ञान भएका विद्वान भएकाले दश टाउके भनिएको हो । यसको अर्थ दस जना बराबरको ज्ञान र दस गुना बल थियो भन्ने हो ।

आजको नेपाली महाभारतमा हामीले झेलेका माधव नेपाल, पुष्पकमल दाहाल, शेर बहादुर देउवा र बाबुराम भट्टराईहरू भन्दा राजनैतिक संघर्ष, व्यक्तिगत दुख र अभाव बढि झेलेका, गजबले उखाने गफ गर्न जान्ने, सुचनासँगै चेतना पनि बढी भएजस्तो देखिएकाले रावणजत्तिकै विद्वान ठानियो केपी ओलीलाई ।

दुई तिहाइको बलमा बनेका कम्युनिष्ट प्रधानमन्त्रीको बल लंकेशको झैँ माथि उल्लेखित नेताहरुको भन्दा दशगुना बढी नै ठाने जनले पनि ।

जसरी उसवेलाका विद्वान राजा लंकेशप्रति जनताको आशा र भरोशा थियो उसैगरी हाम्रा विद्वानप्रति उस्तै आशा र भरोशा थियो ।

तर दुर्भाग्य भइदियो जसरी आफ्नो विद्वता र बलमाथि लंकेशले धमण्ड र दंभको लेप लगाए उस्तै गरे हाम्रा दुईतिहाईका नेपालेशले पनि ।

दुबैले उस्तै गरे । कमजोरी औँल्याएर सुधार्न खबरदारी गर्ने कान्छा भाइहरुलाई दुश्मन र धोकेबाजे ठाने । घरबाट निकालिदिए । त्यही भुल पतनको जग बन्यो ।

आइपरे मर्न र मार्न चाहने यतिका अनुयायी भएका नेपालेशलाई खलपात्र भन्न मिल्छ र ? प्रश्न उठिरहेको होला ।

उसवेलाका रावणका पनि अनुयायी त थिए नी कतिकति । यसैगरी भन्थे सायद प्रभू हजुरको दम्भ पुजनीय छ । दम्भ जारी रहोस् ।

जसरी आजका नेपाली वा हिन्दी सिनेमा र सिनेमाका खलनायकका अगाडिपछाडि हिड्नेहरुले भन्छन् ।

जनचाहना थियो केपी महाराज बालुवाटारमै राज गरुन् । छताछुल्ल सुशासन र विकाश दिउन् ।

दुर्भाग्य ! अनुयायीहरुले नै जनचाहनाको घाँटी रेटे र रूदै समृद्धिको मलामी गए आफैँ । हुँदाछदाको रामलाई दागबत्ती दिए । र अभिनेता राम, रावण र विभिषण जन्माउने ध्याउन्नमा आफैँ लागे ।

अनुयायीहरूलाई यत्ति पढ्न पनि कठिनाई भयोहोला । मसँग रिसाइसक्नु भयो । तर शान्त भएर, आँखा चिम्म गरेर सोच्नुहोला मित्रहरू ! नेपाली जनताले यति लामो प्रतिक्षा गरेर समृद्धिको फल खानेवेलामा रुखको जरा काट्ने पात्र को हो ?

कतै तपाईहरू आफैभित्र त्यो पात्र पश्चाताप गर्दै नभेटियोस् ।

तपाईलाई लागिरहेको होला यतिधेरै कुरा गर्दा पनि प्रचण्डजीका कुरा खोइ ? बिचरा उहाँहरू न विभिषण न राम ।

विभिषण बन्न त पहिले भाइ हुनुपर्छ रावणको । उहाँहरुलाई भाइ हुने सौभाग्य त मिलेन नै राम हुनका लागि चरित्रले नै दिएन ।

अर्ध हनुमान भन्न सकिएला उहाँहरुलाई । आफु जलेरै होस् आधा लङ्का र लंकेशको दम्भ जलाउने प्रयासमै खुशी हुनुभयो ।

उहाँहरुको क्रान्ति यहाँसम्म आएर खुम्चियो । हुँदै नभएको र हुनै नचाहेको राम जन्माउने असफल प्रयासमा दश वर्षे संघर्षभन्दा बढी घोटिनुपर्यो ।

लंकाका लंकेशलाई रामले बध गरेका थिए । न त यो त्रेता युग थियो न द्वन्द्वको समय । तैपनी उहाँहरुले नेपालका लंकेशलाई बालुवाटारबाट बार्दलीसम्म पु¥याएर ओली सत्ताको बध गरेकै हो ।

नेपाली राजनीतिमा अकारण सिर्जना भएको महाभारतले जनताको समृद्धिको सपना र राजनीति संस्कार दुबैको बध हुनै लागिसक्यो । चेत आएको छैन कसैको ।

चेत आइदिए राजनीतिका रावणहरू साँच्चै दश टाउके मानव बन्न सक्छन् । अभिनयका रामहरू साँच्चिका राम बन्न सक्छन् । सत्ताका हनुमानहरू नेपाली जनतामाथि आशा जगाउने सञ्जीवनी बुट्टी दिनसक्ने जनताका हनुमान बन्न सक्छन् ।

तर बन्दैनन् । यो मेरो कामना मात्रै हो । यी सबैको २०४७ सालदेखीको बिगत, राजनैतिक संस्कार र चरित्र हेर्दा कालिदासको जन्म असम्भव छ ।

जसरी राजा ज्ञानेन्द्रका कारण गणतन्त्र आयो त्यसैगरी वर्तमान राजनीति पर्दामा अभिनय गरिरहेका दलकै कारण निकट भविष्यमा भरपर्दो र विश्वासिलो बैकल्पिक राजनीतिको उदय हुने निश्चित छ ।

बिकल्प खोजिरहेका जनता मात्र होइन राष्ट्रको सेवा गर्ने अवसर नपाएका, अवसर खोज्न वा लिन नसकेका तर पार्टीमा योगदान भएका भिजनरी नेताहरू सबै पार्टीबाट नयाँ बिकल्पमा समाहित हुनेछन् ।
अब यही क्रान्ति अपरिहार्य छ ।

नेपाली आकास हुँदै संसारभर उँड्ने ठूला जहाजहरू सधैँ नेपालीलाई मजदुर बनाएर बेच्न लाने र फर्किँदा नेपालीलाई बाकसमा हालेर ल्याउनका लागि मात्र हुन् ?

त्यो दिन आउनु पर्दैन ? जुन दिन हरेक नेपाली आफ्नो साथमा पुग्दो डलर बोकेर संसार घुमुन् ।

संसारभरि गुड्ने प्राडो, पजेरो, टक्सन गाडिहरू सबै नेपालीलाई पुग्ने गरी उहिल्यै बनिसकेका हुन् । तर त्यो पहुँचमा नेपालीलाई पुग्नबाट यिनैले सधै रोकीरहे । केबल आफुमात्र चढिरहे गाडिहरू ।

भोकलाग्दा दुई छाक र ज्वरो आउँदा सिटामोल खान नपाइरहेका सबै नेपालीलाई जिवन धान्न पुग्ने गरी पैसा छापिएको उहिल्यै हो । तर यिनले केबल आफ्ना ढुकटी भरेर भोटे ताल्चा लगाएका छन् ।

नेपालीका यस्ता सपना साकार बन्न यी दल र नेताले दिएनन् ।

यस्ता बिरोध र असन्तुष्टीहरू बोलेर र लेखे मात्र गन्तव्यमा पुगिँदैन । २० वर्षभित्रमा नेपालीलाई यी र यस्ता पहुँचसम्म पु¥याउनका लागि पनि एउटा गतिलो राजनैतिक दलको उदय गर्नैपर्छ ।

ताकी कहिल्यै नजन्मिउन् राजनैतिक विभिषणहरू । पटकपटक नरचिउन राजनैतिक महाभारतहरू ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *