युवालाई बाहिर जान बाध्य पार्ने को ? समाज कि राजनीति ?

news-details

नारायणप्रसाद कँडेल

यतिकै बसिरहँदा एक दिन बुवाको फोन आयो ।

‘ठूलो बुवा हस्पिटलमा हुनुहुन्छ । गएर एक चोटी भेट त।’

‘मैले हुन्छ’ भने ।

‘आज अङ्कल पनि त्यतै हुनुहुन्छ’, भन्नुभयो । अनि नम्बर दिनुभयो ।

यतिकैमा अङ्कललाई फोन गरे । बेड नम्बर, आउन दिने समयको बारेमा बुझे । अनि, प्राय साथीहरूसँग हुने शनिबारको जमघट टुंगाएर लागे हस्पिटलतिर ।

असारको अन्तिम भएर के गर्नु । बाटो हिँड्दा असाध्यै गर्मी थियो । वैशाख, जेठको जस्तो । भर्खंर १० दिनको मौन ध्यान बसेर आएकोले हो कि, किन हो । ट्याट्या र टुटुको आवाजले निकै दिक्क लाग्दो बनाएको थियो । हस्पिटलसम्मको यात्रामा ।

सातौं तलामा हुनुहुँदो रहेछ । हस्पिटल निकै व्यवस्थित र सफा देखिन्थ्यो । ठूलो बुवा बस्नु भएको कोठा डबल बेड रूमको रहेछ । अट्याच बाथरुम,एसी, सामान राख्नको लागि एउटा दराज, बिरामी कुरुवा सुत्ने बेड आदि सबै थियो कोठामा ।

ठूलो बुवा र अङ्कललाई ढोग गरेर बात गर्न थाले ।

‘कहिलेदेखि बस्नु भएको हो ?’, मैले सोधें ।

‘१० दिन भयो आज । त बस्ने कता हो ?’, अङ्कलले सोध्नुभयो ।

‘म पाटनतिर हो अङ्कल । अनि के भएर आउनु भएको हो नि ?,’ बुवाले ढाडको समस्याले भर्ना हुनुभएको बताउनु भएको थियो । त्यही पनि के हो डिटेल थाहा पाम भनेर सोधें ।

‘मेरुदण्डमा नसा च्यापिएर आएको हो । ५/६ दिन भयो । अपरेशन गरेको,’ अङ्कलले भन्नुभयो ।

‘मेरुदण्डको अपरेशन गर्दा खुट्टा नचल्ने हुनसक्छ भन्दै थिए कोही कोहीमा । मेरोमा चाहिँ त्यस्तो केही समस्या भएन,’ ठूलो बुवाले भन्नुभयो ।

‘आज यता वारिदेखि पारिसम्म हिँड्नु भयो । हामीले सपोर्ट दिएपछि,’ अङ्कलले भन्नुभयो ।

‘कहिलेसम्म राख्नुपर्छ भनेको छ ?’, एकछिनको मौनता तोड्दै मैले सोधें ।

‘अब तगडा भएपछि जाँदा हुन्छ भनेको छ । यहाँ बस्ने अर्को एक जना आज गए । डाक्टरलाई कहिले डिस्चार्ज गर्ने भनेर दिक्क बनाएसी आजै जाने बनाइदियो,’ ठूलो बुवाले भन्नुभयो ।

‘रमाइला थिए । कहिले के भन्थे, कहिले के । बुढीलाई भने देखि सहदैन थिए । अहिलेको उमेरमा पनि के त्यस्तो हो ?,’ एकछिन सोच्दै फेरि भन्नुभयो ।

‘त के गर्दै छस् अहिले ?,’ अङ्कलले सोध्नुभयो ।

‘म त काम गर्नी, डुल्नि, त्यस्तै छ अङ्कल ।’

‘अनि पढाइ के कति सकिस् ?’ ठूलो बुवाले सोध्नु भयो ।

डाक्टरले धेरै नबोल्न भनेको थियो रे । त्यसैले फोन दिएको छैन भन्दै हुनुहुन्थ्यो अङ्कलले । म पनि, त्यही भएर, ठूलो बुवाभन्दा पनि अङ्कलसँग बढी कुरा गर्दै थिए । ठूलो बुवाले चाहिँ धेरैपछि भेटेको भएर हो कि किन हो रमाइलो मान्दै बीच बीचमा आफ्ना कुरा राखिरहनु भएको थियो ।

‘मास्टर सकें । अब पिएचडी गर्न विस्तारै जानुपर्ला भन्ने सोचेको छु । बाहिर तिर’, मैले भने ।

मैले त्यसो भनेपछि अङ्कल भावुक हुँदै भन्न सुरू गर्नुभयो ।

‘हामीले त एक जना छोरा लण्डनमा अनि दुई छोरा अमेरिकामा बेच्यौं ।’

‘लन्डन हुने चाहिँ यहाँ सिए पढेर उता गएको पढ्नको लागि भनेर । पछि उतै जागिर गर्न थाल्यो । पैसा पनि धेरै नै कमाइस् अब नेपाल फर्की, यतै काठमाडौंमा अफिस खोल, २०/२५ जनालाई काम दे । यहाँ, त्यहाँभन्दा धेरै सम्मान पनि पाउँछस्, पैसा पनि कमाउँछस् । सधै कति बस्छस् अर्काको देशमा भनेको ।’

‘म त आउँदिन !’ भन्छ ।

‘अब त्यो नै आउँदैन भने त्यसका छोरा, छोरी त के आउँथे । त्यसका छोराछोरीले यहाँको भाषा, चलन पनि के मान्लान् ।’

‘अब हामी बिरामी भएको बेला पनि तिनीहरू हामीसँग हुँदैनन् । हामी मर्यौ भने पनि बिदा मिल्ने हो कि नै यहाँ आउन ।’

‘उता अमेरिका हुनेहरूको नि यस्तै कुरा छ ।’

‘तिनीहरूलाई त बेचे जस्तै भयो । अब अहिले कहिलेकाहीँ फोनमा कुरा गर्ने बाहेक अरु केही हुँदैन ।’

‘कहिले काहिँ टुरिष्ट भएर आउँलान् । अनि १/२ महिना बसेर फर्किहाल्छन् ।’

म के भन्ने, भन्ने भएको थिएँ । केहीबेर मौन बसें । ठूलो बुवा पनि भावुक भइ सक्नुभएको थियो । ठूलो बुवाको १ जना मात्र छोरो त्यही पनि बाहिर । कान्छो अङ्कल का २ छोरामध्ये १ जना बाहिर । पढाइको शिलशिला गएर उतै काम गरी बस्न थाल्नु भएको ।

कोठामा केहीबेर सन्नाटा जस्तो छायो । अहिले सम्झिँदा पूरै ‘डिप्रेसिङ’ वातावरण जस्तो लाग्ने ।

मैले मनमनै केही महिना अघि एउटा दाईले भनेको कुरा सम्झें । ससुराली जाँदा ससुराले, ‘जेठानले यति कमायो उति कमायो । तपाईंले यहाँ के गरेर बस्नु भएको छ ? ज्वाईं साप,’ भन्छन् । उता चाडपर्वमा पनि ‘रवाफ’ गरिरा’को हुन्छन् आफन्तहरूले । आफू नेपाली कमाइले त्यस्तो केही गर्न सक्ने अवस्थामा छैन । अब विदेश जाउँ भने पनि उमेर घर्की सक्यो । आफन्तको जमघटमा पनि जान मन लाग्दैन आजकल भनेर गुनासो पोख्दै हुनुहुन्थ्यो ।

यतिकैमा एक जना महिला कोठा सफा गर्न भित्र आइन् । उनी गएपछि मैले कोठाको सन्नाटा तोड्न अर्कोतर्फ कुरा मोडें ।

‘कति चोटी आउँछन् सफा गर्न । सबैतिर एकदम सफा रहेछ त ।’

‘सफा गर्न त घण्टा घण्टामा आउँछन् । पैसा टन्न लिए पनि अरु सुविधा राम्रो छ । नर्स पनि बेला बेलामा आएर औषधि खुवाउने, अनि कस्तो छ सोध्ने गर्छिन् । औषधि किन्न पनि जानु पर्दैन । सबै आफैं ल्याउँछन्’, अङ्कल भन्दै हुनुहुन्थ्यो । यस्तै गफ गर्दै अरु ३ घण्टा जति बसेर म फर्किए आफ्नो कोठा तिर ।

फर्किने बेला छोरा बेचेको कुरा मनबाट हटाउन सकिनँ ।

मैले धेरै परिवार देखेको छु जो आफ्नो छोराछोरीलाई विदेश जान दबाब दिन्छन् । कहिले प्रत्यक्ष भनेर त, कहिले अप्रत्यक्ष रूपमा । जस्तै : यसका छोरा, छोरीले यति कमायो । यति पठायो । यसले यता जग्गा किन्यो । उता जग्गा किन्यो । यस्तै यस्तै कुरा गरेर । अनि बाध्य भएर जान्छन् होला । कति त साथीको देखासिकी गरेर । छोरा पठाउने बेला अङ्कल र ठूलो बुवाहरूको सोचाइ अहिलेको जस्तो थियो कि थिएन होला ? कि अहिले बिरामी परेको अवस्थामा छोराछोरी साथमा नहुँदा उहाँहरूमा यो सोच आयो ? मनमा प्रश्नहरू आउन थाले ।

उता गएपछि पनि त गाह्रै होला फर्किन । यहाँको हस्पिटल, बाटो घाटो, स्कुल, जस्ता कुरालाई पश्चिमा जगतको भौतिक सुख सुविधासँग तुलना गर्दा । धेरैले भनेको सुनेको छु ‘सारै गाह्रो छ यहाँ’भनेर । अनि म भन्ने गर्छु ‘सारै गाह्रो भयो भने आउँदा भयो नि त यता । भिसा लगाउन पर्ने होइन ।’ अनि उनीहरुले तुरुन्त जवाफ दिन्छन्, ‘त्यो त गर्न सकिँदैन ।’

त्यसपछि यहाँको समस्याहरूको बेलिविस्तार लगाउन थाल्छन् । कतिले बुवाआमालाई पनि उतातिर लैजान प्रयास गर्छन् । यहाँ काम गरेर बस्नुभएका बुवाआमाहरू उता गएर यतिकै बस्न नसक्दा अत्तालिएर यतै फर्किनुहुन्छ ।

यस्तै कुरा सोच्दा सोच्दै अर्को कुरा मनमा आउँछ । हाम्रो समाजमा यही काम गरेर बस्नेलाई कस्तो सोचिन्छ ? नसकेर विदेश नगएको अथवा यही केही गर्न खोजेर बसेको । पैसा अनि रवाफको अगाडि उसको शिक्षा अनि मेहेनतको के महत्त्व हुन्छ ? गाउँतिर कलेज पढाउने प्रोफेसरकोभन्दा विदेशमा जे काम गरेर भए पनि पैसा कमाउनेलाई सबैले सम्मान दिएको देखेको छु ।

छोरीको विवाह गर्दा नेपालमै व्यवसाय गर्नेभन्दा विदेशमा काम गर्नेलाई प्राथमिकता दिएको पनि देखेको छु । यसो भनिरहँदा विदेश भएका सबै नराम्रो, नेपाल भएको सबै राम्रो भनेर भन्न पनि खोजेको छैन । तर पनि विदेशमा गएको र नेपालमा भएका मानिस लागि गर्ने यस्तै व्यवहारले नै होइन र ?

सकेसम्म विदेश जाउँ भनेर युवा पिढीलाई बाध्य पार्ने । अथवा कसले बाध्य पार्‍यो नेपाली युवायुवतीलाई बाहिर बस्नको लागि ? हाम्रो समाजले ? अथवा राजनीतिले ? अथवा अरुको मुनि काम गरी बस्ने चाहनाले ?

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *