‘यो गीत तिमीलाई नै दिन्छु’ भनेर धेरै संगीतकारहरुले डमी गाउन लगाएर झुक्याए : बीना भट्टराई

news-details

नेपाली गायनको क्षेत्रमा पछिल्लो समय चर्चा बटुल्दै गरेकी गायिका हुन् बीना भट्टराई । नेपाली आधुनिक गीतको क्षेत्रमा १५० भन्दा बढि गीत गाइसकेकी उनी नेपाली संगीतको क्षेत्रमा अघि बढ्दै गरेकी प्रतिभा पनि हुन् । संगीतको क्षेत्रमा अनवरत रुपमा अघि बढ्दै सङगीतमय जीवन संगसंगै चर्चाको सगरमाथा चढिरहेकी एक सफल गायिका हुन् बीना भट्टराई ।

बीनाको जन्म प्राकृतिक हिसावले निकै सुन्दर मानिने ताप्लेजुङमा बुवा मनप्रसाद भट्टराई र आमा अम्विकादेवि गौतमबाट भएको हो । तप्लेजुङमा जन्मेपनि उनको बसोवास भने झापाको दमकमा भयो । उनले आफ्नो बाल्यकाल दमककै सेरोफेरोमा व्यतित गरिन् । उनको अध्ययन पनि दमकमा नै भयो । अध्ययनको साथसाथै उनी बाल्यकालदेखि नै गायनमा रुचि राख्थिन् । विद्यालय स्तरमा संचालन हुने विभिन्न सांगितिक कार्यक्रमहरुमा उनले सहभागिता जनाउने गर्दथिन् । जुन–जुन सांगितिक कार्यक्रममा उनले सहभागिता जनाउथिन् त्यो कार्यक्रममा उनी नै प्रथम हुने निश्चित हुन्थ्यो । प्रतियोगितामा सामेल हुँदा उनी सधैं प्रथम स्थान नै हासिल गर्दथिन् । उनले वालपनमा गाएकी गीत ‘डाली डाली फूल फुल्यो..’ बोलको गीत अझै पनि उनी सम्झिन्छिन्, पहिलो पटक गाएको यो गीतले नै उनको क्षमता प्रस्फुटन गरेको थियो ।

उनी झापाको सानो वाह्घरेस्थित पाणिनी माध्यामिक विद्यालयबाट प्रवेशिका परीक्षा दिएपछि उच्च शिक्षा अध्ययनको लागि काठमाडौ प्रवेश गरेकी हुन् । काठमाडौ प्रवेश गर्नुको कारण उच्च शिक्षाको साथसाथै नेपाली संगीतको क्षेत्रमा पनि केहि गरौ भन्ने रहेको उनी बताउँछिन् । उनकी आमा अम्विकाको पनि गायनमा रुचि थियो, आमाले गीत गुनगुनाएको बीनाले सुन्ने गर्दछिन्, त्यति बेला उनलाई पनि गाउन मन लाग्थ्यो । उनी पनि आमासंगै गुनगुनाउने प्रयास गर्थिन्, छोरीको त्यो प्रयास देखेर उनकी आमालाई बीनाले संगीतको क्षेत्रमा केहि गर्न सक्छिन् भन्ने लागेको थियो, छोरीको प्रतिभा प्रष्फुटन हुनु पर्छ भनेर उनले बीनालाई काठमाडौको बाटो रोज्न उत्प्रेरित गरेकी थिइन् ।

बीनाले आफ्नो भविष्यको बारेमा केहि सोच्न नपाउँदै आमाले तिमीमा गायन क्षमता छ, गायनमा नै तिमीले केहि गर्नुपर्छ भनेर उनलाई प्रोत्साहित गर्ने गर्दथिन् । उनको भित्री रहर र आमाको प्रोत्साहनले उनी काठमाडौ प्रवेश गरिन् । आफ्नो सन्तानको लागि आमाले देख्ने सपना सुन्दर हुनुको साथै त्यो सपना पुरा गर्दाको सन्तुष्टि विशेष हुन्छ नै, बीनाले उनकी आमाले देखेकी त्यो सपना पुरा गर्न धेरै मेहनत गरिन् । आमाको सपनाको साथसाथै उनको भित्री रहर र चाहना पनि भएकोले संगीतको क्षेत्रमा छोटो समयमा नै उनले एउटा स्थान हाँसिल गरिसकेकी छिन् ।

संगीतको क्षेत्रमा केहि गर्ने उत्कृष्ट अभिलाषा बोकेर काठमाडौ प्रवेश गरेकी उनले काठमाडौंको डिल्लीबजारमा अवस्थित श्री संगीत पाठशालामा गुरु चण्डी प्रसाद काफ्लेसँग संगीत शिक्षा लिइन् । संगीत सिकाईको क्रममा उनको लगनशीलता र सुमधुर स्वर देखेर साथीहरु र शिक्षकहरुबाट प्रशंसाका साथै हौसला पाएको उनी बताउँछिन् । हालसम्म सयौं गीतहरुमा आफ्नो सुमधुर स्वर पस्केकी बीनाको पहिलो गीत भने ‘झुक्याएर पासो थापि ..’ बोलको गीत थियो । जसमा मीन गुरुङको संगीत र उर्वसी थापाको शब्द रहेको छ । उनका अन्य चर्चित गीतहरुमा बुढेसकालको लौरी, सुन्तलाको फूल, साँइला छक्कै परे नि, जाम्ला भागेर, चुलबुले कान्छी लगायतका रहेका छन् ।

गायनको साथसाथै उनी शब्द लेखनमा पनि दख्खल राख्छिन् । उनले आफैंले लेखेका धेरै गीतहरु मध्ये साडी मलमलको बोलको गीत चर्चामा रहेको छ । त्यसै गरि मेरो संसार, मुग्लानी आदि पनि चर्चित रहेका छन् । विशेष गरि आफ्ना भन्दा अन्य गीतकारका शब्दहरुमा गाउँदै आएकी बीनाले बेला–बेलामा आफ्ना शब्दहरुलाई पनि गाउने गरेकी छिन् । उनले आफ्नै शब्दका झण्डै एक दर्जन गीत गाएकी छिन्, आफ्नो मात्रै शब्द गाउँदा गीतमा विविधता नआउला भनेर उनी अन्य सर्जकहरुका शब्दहरु पनि गाउने गर्दछिन् । प्रताप दास, स्मिता दाहाल, कृष्ण कार्की लगायतका चर्चित गायक–गायिकाले उनका शब्दका गीतहरु गाएका छन् भने अन्य गायक गायिकाहरुले पनि उनका शब्दहरुमा गाउने तयारी गरिरहेको उनी बताउँछिन् ।

बीनाले सानो मेहनत र लगनशीलताले यो सफलता हाँसिल गरेकी होइनन् र उनको बाबा–आमाले सजिलै काठमाडौमा संगीत सिक्ने वातावरण मिलाएका पनि होइनन् । बीनालाई संगीतको क्षेत्रमा अघि बढ्न बुवाले गोठको लैनो भैसी बेच्नु भएको अनि आमाले आँफूले लगाइरहेका गहनाहरु बेचेर काठमाडौ बस्ने र संगीत सिक्ने वातावरण मिलाउनु भएका ती पुराना दिनहरु आज पनि बीनाका मनमा ताजा छन् । यसरी आँफूले खाइ–नखाई खर्चपातको मेसोमेलो मिलाउने, छोरीले संगीतको क्षेत्रमा नै अगाडि बढ्नु पर्छ भनेर सधैं हौसला र उत्प्रेरणा दिने उनका बुवा मन प्रसाद भट्टराईको २०७७ भदौ १९ गते दुःखद निधन भयो । कोरोना कहरको त्यो बन्दाबन्दीको बेला आफ्नो बुवाको अन्तिम मुहार समेत हेर्न नपाएकी उनी निकै मर्माहत भइन् । सधैं ‘म छु तिमी अघि बढ’ भनेर हिम्मत दिने आफ्नो जीवनको सहारा बुवा गुमाउँदाको पीडा र बेदना शब्दमा वर्णन गर्न नसक्ने भन्दै उनी भक्कानिन्छिन् । बुवाले देखाउनु भएको बाटो हिँड्दै गर्दा आँफ्नो प्रतिभा बुवालाई देखाउन नपाएको अभाव अव उनको जीवनभरि खड्किनेछ । ‘भौतिक देह नभए पनि आत्मा मर्दैन भन्छन् कतै न कतैबाट बुवाको आत्माले आफ्ना गीतहरु सुनिरहनु भएको होला नि’ भनेर उनी आँफूले आफैंलाई सान्त्वना दिने कोशिश गर्छिन् ।

बुवाको निधन पछिको २ वर्ष उनी बुवाको शोकमा आमालाई साथ दिदै आमासंगै बसिन् । सधैं शोकमा डुवेर जीवन किन चल्थ्यो र ? फेरि उनको आमाको चाहना कसरी पुरा हुन्थ्यो र ? आमाले ‘बुवा नहुनु भए पनि म छु तिमी अघि बढ्नु पर्छ’ भने पछि उनी अहिले आमासंगै रहेर संगीतकै क्षेत्रमा सक्रियता बढाइरहेकी छिन् ।

संगीतको क्षेत्रमा भिजेर लाग्न सके तथा मेहनत र लगनशील भएर काम गर्न सके यो क्षेत्र नाम र दाम दुवै हिसावले राम्रो रहेको उनको अनुभव रहेको छ । यहि क्षेत्रमा सक्रिय रहेर उनले आफ्नो दैनिकी सजिलै चलाइरहेकी छिन् भने यहि क्षेत्रको आम्दानीले उनले सामाजिक कामहरुमा पनि सकेको योगदान दिदै आएकी छिन् । अन्तर्राष्ट्रिय सामाजिक र परोपकारी संस्था लायन्स क्लवमा अवद्ध भएर उनले आफ्नो व्यस्त समयको बावजुद पनि सामाजिक कार्यहरु गर्दै आइरहेकी छिन् ।

संगीतको क्षेत्रमा लागेर उनले छोटो समयमा नै विभिन्न सम्मान तथा अवार्डहरु प्राप्त गर्न सफल बनेकी छिन् । गायन समाज ताप्लेजुङकी सदस्य समेत रहेकी उनले छायाँदेवि तीज म्युजिक अवार्ड २०७५ र २०७६, सगरमाथा म्युजिक अवार्ड २०७६, राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७५, राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७९ प्राप्त गरेकी छिन । यी अवार्ड र सम्मानले नेपाली संगीतको क्षेत्रमा अझ सक्रिय भएर लाग्न उत्प्रेरित गरेको उनी बताउँछिन् ।

यो क्षेत्रमा लाग्दाका केहि तीतो अनुभव पनि छ बीनासँग । सुरुवाती दिनमा धेरै तरिकाबाट उनीलाई हतोत्साही पनि बनाइएको छ त्यो पनि संगीत क्षेत्रकै हस्तीहरुबाट । विनाले थुप्रै चर्चित संगीतकारका हिट गीतमा डमी भरेकी थिइन्, उनीहरुले ‘यो गीत तिमीलाई नै दिन्छु’ भनेर धेरै संगीतकारहरुले डमी गाउन लगाए । एकै दिनमा ३,४ वटासम्म उनले डमी गाएकी छिन् । आँफूले डमी गाएका गीतहरु आँफूले आदर गर्ने संगीतकारहरुले दिन्छु भन्नु भएकोले पाउँछु भन्नेमा उनी ढुक्क हुन्थिन् र संगीतकारको फोनको बाटो हेरिरहन्थिन् । संगीतकारको फोन त आउँथ्यो तर उनलाई गीत गाउन होइन फेरि अर्को डमी गाउन । उनले डमी भरेका गीतहरु भने नाम चलेका अन्य गायक गायिकाले गाइसकेका हुन्थे । त्यति बेला उनको मनमा निराशाको बादल मडारिन्थ्यो, त्यो बादलबाट बर्षिएका उनका अश्रुधाराले उनको संगीतको क्षेत्रमा नै केहि गर्ने सपनाको बाँध भत्काउने अवस्थासम्म पु¥याउथ्यो र पनि उनी सम्हालिदै आइन् । आफ्नो योगदानसँगै समयको प्रतीक्षा गरिन् अहिले तिनै संगीतकारहरु उनको स्वरको लागि उनको समय लिने गर्दछन् ।

१५ वर्षदेखिको संगीतमा लगावका कारण अहिलेसम्म आउदा आनन्दित महशुष गरेकी उनले संगीतमा रमाउन पाउदा खुशी भएको पनि बताइन् । नेपाली संगीतमा केही मात्रामा आम्दानीको समस्या भए पनि सबै कुरा पैसा नभएको उनको धारणा छ । पैसा भन्दा पनि स्रोताको माया र हौसलामा नै बढी रमाउन मन पराउने बीनाले यहाँसम्म आईपुग्दा चित्त बुझाउने माध्यम नै श्रोता र दर्शकको माया भएको बताउँछिन् । सांगीतिक क्षेत्रमा अगाडी बढ्नका लागि घरपरिवारको पूर्ण साथ पाएकी बीनाले आफूलाई यो स्थानसम्म आइपुग्न सहयोग गर्ने बालपनदेखिका गुरुहरु पासाङ तामाङ र गंगा अधिकारीको हालसम्म पनि साथ पाइरहेको बताइन । यस्तै श्री संगीत पाठशालाले आँफूलाई संगीतको पाठ सिकाएको उनी सधैं सम्झन्छिन् । आँफूलाई सामान्य गायिकाको रुपमा श्रोता माझ प्रस्तुत गर्न रुचाउने बीना एक सरल र मृदुभाषी गायिका भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

रेडियो नेपालबाट २०७५ सालमा स्वर परीक्षा उत्तीर्ण गरेर संगीत कर्ममा नै रमाउँदै अघि बढिरहेकी बिना हाल त्रिभुवन विश्वविद्यालय, ललितकला क्याम्पस, कीर्तिपुरमा संगीत विधामा नै स्तातक तहको अध्ययनमा अध्ययनरत छिन् । नेपाली लोक तथा आधुनिक गीतको क्षेत्रमा सफलताका साथ अगाडी बढिरहेकी बीनाको आगामी सांगीतिक यात्राले सफलताको शिखर चुम्दै संगीतमा छुट्टै स्थान हाँसिल गर्न सफल हुनेमा विश्वास गर्न सकिन्छ ।

[email protected]

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *