टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको छ ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १५१ रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे ।

गुल्सन झा ६, लोकेश बम २८, आरिफ शेख ३ रन, अनिलकुमार शाह ११, दीपेन्द्रसिंह ऐरी ७, विनोद भण्डारी १९, बिबेक यादव ३, कुशल मल्ल २० र कमलसिंह ऐरी ६ रनमा आउट हुँदा सागर ढकाल ३ रनमा अविजित रहे ।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइण्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनाएको थियो । वेष्टइण्डिजका ओपनर जोनसन चाल्र्स ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

ओपनर एलिक एथानाजे १७ रनमा रन आउट भएका थिए भने आन्द्रे फ्लेचर ३३ बलमा ५३ रन बनाएर आउट भए । यस्तै फबिएन एलेन १९ रनमा आउट भए भने किमो पल १३ रनमा नट आउट रहे ।

नेपालका लागि स्पिनर सागर ढकाल र करण केसीले १-१ विकेट लिए ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।