‘संगीतमा जति सिक्न सक्यो उति स्वर र तालमा माधुर्यता छाउँछ’ : संगीतकर्मी सुरज कुमार थापा

news-details

‘हुने विरुवाको चिल्लो पात’ भने झैं संगीतको धुनमा सानैदेखि हराउँथे सुरज कुमार थापा, बालपनको त्यो अवोध क्षणमा पनि उनी संगीतमा रमाउँथे, संगीतमा नै भुल्दथे, मानौं उनी संगीतकै लागी जन्मिएका हुन् ।

बुवा प्रेम बहादुर थापा र आमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाबाट परिवारको कान्छो सुपुत्रको रुपमा ललितपुरको सानेपामा जन्मिएका सुरज कुमार थापाका एक दाई र दुई दिदीहरु छन् । उनले अनल ज्योति वोर्डिङ स्कुल, झम्सिखेलमा नर्सरी देखि कक्षा ४ सम्म अध्ययन गरे भने त्यसपछि उनले महेन्द्र आदर्श विद्याआश्रम, सातदोवाटोमा अध्ययन गरे र सोहि विद्यालयबाट २०४८ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । नमूना मछिन्द्र क्याम्पसबाट वाणिज्य शास्त्रमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका उनले शंकरदेव क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरे ।

वालपनदेखि नै कम बोल्ने, लज्जालु स्वभाव, शान्त, शालिन, भद्र आज्ञाकारी र विद्यालय तथा टोल छिमेकमासमेत सबैका मायालु गायक तथा संगीतकार थापा सानैदेखि संगीतमा रुचि राख्दथे । उनकी ममतामयी आमा तीर्थ कुमारी थापा नेपाली लोक संगीतमा सक्रिय रहनु भएकीले थापा सानैदेखि सांगितिक वातावरणमा हुर्के, बढे । घरमा गीत संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको नियमित आवतजावत, आमाको संगीतप्रतिको लगाव, आमासंगै गीत रेकर्डको क्रममा रेडियो नेपालको स्टुडियोमा सँगै आउने जाने गर्नाले त्यो प्रभाव उनमा पर्ने नै भयो ।

सानैदेखि गीत गुनगुनाउने उनले कक्षा ७ मा अध्ययन गर्दादेखि औपचारिक रुपमा गीत गाए । विद्यालय स्तरका कार्यक्रमहरुमा उनले गाउँदा साथीहरु र गुरुहरुले उनको स्वरको निक्कै तारिफ गर्दथे । २०४६ सालमा स्वरसम्राट नारायण गोपालद्धारा स्वरवद्ध कालजयी गीत ‘विरताको चिनो …’ विद्यालय स्तरीय गायन प्रतियोगितामा गाएर उनी प्रथम भएका थिए । यसरी विद्यालय स्तरका विविध कार्यक्रमहरुमा गाउने कार्यलाई उनले निरन्तरता दिए, जसले गर्दा उनलाई संगीतप्रतिको मोहले अझ तान्दै लग्यो ।

थापाले सुरुवाती दिनमा रत्न वहादुर खड्गीसँग संगीत सिके । उनकी आमाले संगीत सिक्न खड्गीसँग भेटाएको उनी स्मरण गर्दछन् । त्यसैगरि उनले कुमारलाल श्रेष्ठ, नरराज ढकालसँग पनि संगीत सिके । वरिष्ठ संगीतकार अम्वर गुरुङ्गसँग उनले सांगितिक ज्ञान हासिल गरे । ‘सिकेर गाउनु पर्छ’ भन्ने मान्यता राख्ने थापाले गायनलाई भन्दा सिकाईलाई प्राथमिकता दिए । उनले एक दशक भन्दा लामो समय संगीत सिके र पनि उनी भन्छन् ‘सिक्न अझ धेरै बाँकी छ ।’ संगीतमा जति सिक्न सक्यो उति स्वर र तालमा माधुर्यता छाउँछ भन्ने मान्यता राख्ने उनी जीवनलाई सुख, दुःखको पाटोको रुपमा परिभाषित गर्छन् । परिवारसँग बस्न मन पराउने उनी मिल्ने साथीसँग समय विताउन र घुमफिरमा पनि रुचि राख्छन् । एकान्तप्रेमी थापाले विगत दुई दशकदेखि ओशिश बोर्डिङ स्कुल लगायत अन्य धेरै विधालयहरूमा संगीत अध्यापन गराईसकेकोमा हाल सबै स्कुलमा काम छोडेर प्राईभेट कक्षाहरू अनलाईन र भौतिक माध्यममा अध्यापन गराईरहेका छन ।

गायक थापाले २०६७ सालमा देवकी बोहोरासँग मागी विवाह गरे । मागी विहे भए पनि विवाहको कुरा मिलेपछि लामो समय अन्तरालमा विवाह सम्पन्न भएकोले आफ्नो विवाहलाई ‘प्रेम विवाह’को रुपमा परिभाषित गर्दा पनि फरक नपर्ने उनी बताउँछन् । ‘बिचको अवधिमा एकअर्कालाई बुझ्ने मौका पाइयो’ उनी थप्छन् । बोहोरासँगको भेटपछि विवाह बन्धनमा बाधिनु अघि झण्डै एक वर्ष उनीसँगको प्रेमको लहरमा लहरिएका उनले त्यो प्रेम अहिले पनि उत्तिकै जीवन्त रहेको बताए । हाल थापा र बोहोराका एक सुपुत्री आरोही रहेकी छिन् ।

थापाले हालसम्म झण्डै साढे तीन दशक नेपाली संगीतको क्षेत्रमा विताइसकेका छन् । यो अवधिमा उनका धेरै एकल र फुटकर गीतहरु बजारमा आएका छन् । २०६० सालमा नेपथ्य समुहमा आवद्ध भएर वाद्यवादकको रुपमा सक्रिय उनको सक्रियता अहिले पनि नेपथ्यमा उत्तिकै रहेको छ ।

गायक तथा संगीतकार थापालाई उनकै समकक्षी चर्चित गायक तथा संगीतकार केशव पौडेल घमण्डरहित, मिलनसार र शालिन गायक तथा संगीतकारको रुपमा परिभाषित गर्दछन् । उनी थप्छन् ‘सुरज कुमार थापा संगीतको असल पुजारी हुन्, संख्यात्मक भन्दा गुणात्मक गीत गाउने उनका श्रोता पनि सीमित छन् तर बौद्धिक छन् । उनी संगीतको व्याकरण बुझेका र शुद्धाशुद्धी मिलेका गीत मात्र गाउँछन् । वाद्यवादन बजाउन पनि सिपालु उनी, भायोलिन र गितार राम्रो बजाउँछन्, संगीतको क्षेत्रमा लागेर संगीतकै माध्यमबाट बाँचेका थोरै संगीतकर्मी मध्ये एक हुन् सुरज कुमार थापा ।’

झण्डै तीन दशकदेखि नेपाली संगीतमा सक्रिय थापाले आफ्नो सांगितिक यात्राक्रममा धेरै सम्मान तथा पुरस्कारहरुले सम्मानित तथा पुरस्कृत पनि भइसकेका छन् । २०४८ सालमा मानसिंह थुलुङ्गको संगीत तथा अर्जुन सापकोटाको गीत ‘म त डुविसकेछु …’ बोलको गीत गाएर रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरेका उनले रेडियो नेपालद्धारा आयोजित अधिराज्यव्यापी आधुनिक गीत २०५५ मा गायनतर्फ तृतीय, २०५७ मा चौथो तथा २०५९ मा दोश्रो स्थान हासिल गरेर पुरस्कृत भएका छन् भने रेडियो नेपाल तथा जनसंख्या तथा वातावरण मन्त्रालयद्धारा संयुक्त रुपमा आयोजित वातावरण गीत प्रतियोगितामा पनि उनले तृतीय पुरस्कार प्राप्त गरेका छन् । २०५० सालमा भगवती भजन मण्डलद्धारा आयोजित बृहत भक्ति संगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका गायक तथा संगीतकार थापा श्रोताको मायालाई नै जीवनको सबैभन्दा ठुलो उपलब्धि ठान्दछन् ।

आफ्नो सांगितिक यात्राक्रममा अम्बर गुरूङ, गोपाल योञ्जन, शान्ति ठटाल, फत्तेमान सँगै राष्टकवि माधव प्रसाद घिमिरे, रत्न शमशेर थापा, प्रेमध्वज प्रधान, किरण खरेल, राम मान तृषित, दिनेश अधिकारी, मीरा राणा जस्ता अन्य धेरै अग्रज श्रष्टाहरु सँगै गाउने सौभाग्यलाई पनि उनि उत्तिकै महत्वपूर्ण क्षणको रुपमा स्मरण गर्दछन् । नेपथ्य समुहमा आवद्ध भएर झण्डै तीन दशकको सांगितिक यात्रामा धेरै कुरा सिक्ने अवसर पाउनुलाई उनी अर्को महत्वपूर्ण उपलब्धि मान्दछन् ।

सांगितिक कार्यक्रममा नेपालको पूर्वदेखि पश्चिमसम्म पुगेका तथा सांगितिक यात्राकै दौरानमा विश्वका समृद्ध मुलकहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिरल्याण्ड, दक्षिण कोरिया, फिनल्याण्ड, हल्याण्ड, बेल्जिम, जर्मनी, डेनमार्क, जापान, इजरायल, दुवई, कतार, चीन, सिंगापुर, हंगकङ्ग र भारतका धेरै सहरहरुमा पुगेर उनले आफ्नो सांगितिक प्रस्तुति दिइसकेका छन् ।

आधुनिक गीत, पप गीत, गजल र लोकगीत गाउनसमेत उत्तिकै रुचि राख्ने थापाका परिभाषा, क्यान्भास, चिनारी एकल गीति एल्वम बजारमा आइसकेका छन् भने निशानी ५३ , हे भानुभक्त, दिलदिल, नभए तिमी, सम्पदा, रहरका लहर, रोशी खोला, निलो आकाश लगायत दर्जनौ कलेक्सन एल्वमहरुमा उनले आफ्नो क्षमता देखाएका छन् । घर संसार, अवला लगायतका चलचित्रमा उनले स्वर दिएका छन् ।

सुरज कुमार थापाको संगीतप्रतिको निरन्तरको लगाव, साधना र मेहनतले नेपाली संगीतले उनीबाट अझ धेरै आशा राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *