कतार कांग्रेसमा अधिवेशनको विवाद चर्कियो, महाधिवेशन प्रतिनिधि सिफारिसविरुद्ध केन्द्रीय निर्वाचन समितिमा निवेदन

news-details

नेपाली कांग्रेससँग आबद्ध नेपाली जनसम्पर्क समिति कतारको छैटौँ अधिवेशन र महाधिवेशन प्रतिनिधि सिफारिसको विषय विवादमा परेको छ। छैटौँ अधिवेशन सम्पन्न नगरी सीमित व्यक्तिहरूको बैठकबाट महाधिवेशन प्रतिनिधिको नाम सिफारिस गरिएको भन्दै त्यसको वैधानिकता परीक्षण गर्न माग गर्दै नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिमा निवेदन परेको हो।

समितिका पूर्वकोषाध्यक्ष एवं क्रियाशील सदस्य पूर्णबहादुर पोखरिया, क्रियाशील सदस्य नवीन पोखरेल, सल्लाहकार एवं क्रियाशील सदस्य राकेश श्रेष्ठ र पाँचौँ राष्ट्रिय अधिवेशनका निर्वाचन समिति संयोजक एवं क्रियाशील सदस्य धनबहादुर बलायरसहितका सदस्यले असोज १० गते केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्कासमक्ष निवेदन दिएका हुन्।

निवेदकहरूले पाँचौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल समाप्त भइसकेको अवस्थामा छैटौँ अधिवेशन नगरी महाधिवेशन प्रतिनिधि सिफारिस गरिएको दाबी गरेका छन्। उनीहरूले यस्तो सिफारिसको वैधानिकता जाँच गरी छानबिन पूरा नभएसम्म त्यसलाई मान्यता नदिन माग गरेका छन्।

निवेदनमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले समेत छैटौँ अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको उल्लेख छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भाद्र मसान्तभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको थियो।

निवेदकहरूले अधिवेशन नगरी गरिएको भनिएको प्रतिनिधि सिफारिसका क्रममा बैठक कसले बोलायो, क्रियाशील सदस्यलाई सूचना दिइयो कि दिइएन, सहभागी हुनुपर्ने सदस्यको सहभागिता भयो कि भएन तथा बैठकको माइन्युट र प्रतिनिधि छनोटको आधार के थियो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन्।

साथै, छैटौँ अधिवेशनबाट वैधानिक कार्यसमिति गठन नभएसम्म विवादित प्रतिनिधि सूचीका आधारमा थप प्रक्रिया अघि नबढाउन उनीहरूको आग्रह छ। सिफारिस प्रक्रिया विधानविपरीत देखिएमा त्यसलाई खारेज गरी नयाँ विधिसम्मत प्रक्रिया सुरु गर्नुपर्ने माग निवेदनमा गरिएको छ।

निवेदकहरूले समितिभित्र लामो समयदेखि संगठन सञ्चालन, प्रतिनिधित्व र नेतृत्व चयनलगायतका विषयमा विवाद तथा गुटगत असन्तुष्टि रहेको दाबीसमेत गरेका छन्। उनीहरूले आफ्नो माग कुनै व्यक्ति वा समूहको विरोधमा नभई विधानसम्मत अधिवेशन, क्रियाशील सदस्यको प्रतिनिधित्वको अधिकार र संस्थागत निर्णय प्रक्रियाको सुनिश्चितताका लागि भएको बताएका छन्।

उनीहरूले छैटौँ अधिवेशन निष्पक्ष, पारदर्शी र सहभागितामूलक रूपमा सम्पन्न गरी नयाँ वैधानिक कार्यसमिति गठन गर्न केन्द्रीय निर्वाचन समितिसँग माग गरेका छन्।

यसैबीच, नेपाली कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ।

निवेदकहरूले महाधिवेशनअघि नै विवादको निष्पक्ष टुंगो लगाउन माग गर्दै केन्द्रीय तहमा समन्वय भइरहेको बताएका छन्। उनीहरूको भनाइअनुसार छानबिन नगरी विवादित प्रतिनिधि सूचीलाई मान्यता दिइए त्यसविरुद्ध सम्बन्धित निकाय हुँदै आवश्यक परे अदालतसम्म जाने तयारी रहेको जानकारी दिएका छन्।

अब केन्द्रीय निर्वाचन समितिले निवेदनमा उठाइएका विषय, सम्बन्धित कागजात र प्रतिनिधि सिफारिसको प्रक्रियाबारे गर्ने निर्णयले नेपाली जनसम्पर्क समिति कतारको छैटौँ अधिवेशन तथा १५औँ महाधिवेशनमा प्रतिनिधित्वको विवाद कसरी अघि बढ्छ भन्ने टुंगो लाग्ने देखिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया