काभ्रे सेवा समाज यूएईद्वारा विपद् पीडितका लागि १ लाख १११ रुपैयाँ सहयोग

news-details

काठमाडौं । नेपालमा पछिल्लो समय आएको बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि काभ्रे सेवा समाज यूएईले रु. १ लाख १११ रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि पीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

समाजका अनुसार यूएईमा रहेका काभ्रे सेवा समाजमा आबद्ध सदस्यहरूले आफ्नो तर्फबाट सहयोग जुटाउँदै ‘थोपा–थोपा सहयोग’ संकलन गरेका हुन्। संकलित रकम वास्तविक विपद् पीडितसम्म पुग्ने र उनीहरूको दुःखमा केही राहत मिल्ने विश्वास समाजले व्यक्त गरेको छ।

समाजले विपद्को यस कठिन घडीमा आफूहरू विदेशमा रहे पनि नेपालको पीडामा साथ दिन सकिन्छ भन्ने भावनाका साथ सहयोग अभियान सञ्चालन गरिएको जनाएको छ।

सहयोग अभियानमा सहभागी भई रकम जुटाउन साथ दिने काभ्रे सेवा समाज यूएईका सम्पूर्ण सदस्य तथा सहयोगीहरूप्रति समाजले आभार व्यक्त गरेको छ।

‘हाम्रो सानो सहयोग कसैका लागि ठूलो आशा’ भन्ने भावनाका साथ गरिएको यस सहयोगले विपद्बाट प्रभावित परिवारलाई राहत पुग्ने समाजको विश्वास छ। साथै, विपद्को समयमा एकता, सहयोग र सद्भाव नै सबैको साझा शक्ति भएको समाजले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया