विपत्तिमा अन्तर्राष्ट्रिय झापाली समाजको साथ : बाढीपीडितका लागि १५ लाख सहयोग
- भदौ २२, २०८३
- 0
काठमाडौं । अन्तर्राष्ट्रिय झापाली समाजले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईसहितको टोलीले विश्वका विभिन्न देशमा रहेका झापालीहरूबाट संकलन गरिएको १५ लाख रुपैयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका पूर्वअध्यक्षहरू दिनेश पोखरेल र मुकुन्द ढुंगानासहित राजु थापा, डिल्ली थापालगायतको सहभागिता थियो।
विपद्को कठिन समयमा प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले विश्वभर रहेका झापालीहरूबाट रकम संकलन गरिएको समाजले जनाएको छ।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष चम्लागाईले विदेशमा रहेका झापालीहरूले आफ्नो जिल्लाको हितसँगै समग्र नेपाल र नेपालीका लागि समेत निरन्तर सहयोग र समन्वय गर्दै आएको बताए। विपत्तिमा परेका नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएकाले विश्वभरका झापालीहरूको सहकार्यमा सहयोग जुटाइएको उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय झापाली समाजका विभिन्न देशमा राष्ट्रिय तथा स्थानीय संरचना छन्। समाजले झापाको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा काम गर्दै आएको छ भने आवश्यकता अनुसार नेपालका अन्य क्षेत्र तथा नेपाली समुदायका लागि समेत सहयोग र समन्वय गर्दै आएको छ।
बाढी तथा विपद्का बेला गरिएको यो सहयोगले विदेशमा रहेका नेपाली समुदायले मातृभूमिमा आइपर्ने संकटमा निर्वाह गर्दै आएको सामाजिक उत्तरदायित्वलाई थप उजागर गरेको समाजले जनाएको छ।














