कतारका नेपाली व्यवसायीद्धारा बाढीपीडितलाई ३८ लाखभन्दा बढी सहयोग प्रदान

news-details

काठमाडौं । कतारमा रहेका नेपाली व्यवसायीहरूले बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि ३८ लाख २६ हजार ३ सय ९ रुपैयाँ सहयोग जुटाएका छन्।

नेपाली व्यवसायी संघ कतारले आफ्ना सदस्य तथा विभिन्न सहयोगी संस्थाबाट संकलन गरेको रकम संघका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष नरेन्द्र भाट, सचिव सुनिल घिमिरे र सहकोषाध्यक्ष रामकुमार श्रेष्ठको सहभागिता थियो।

संघका अनुसार ४२ जना व्यवसायी तथा सहयोगीबाट रकम संकलन गरिएको हो। संकलित रकममध्ये सफारी मलले सबैभन्दा बढी १० लाख ४५ हजार रुपैयाँ सहयोग गरेको छ।

रकम हस्तान्तरण गर्दै अध्यक्ष चम्लागाईले विपत्तिमा परेका नागरिकको साथमा उभिनु व्यवसायीको मानवीय तथा सामाजिक दायित्व भएकाले सहयोग जुटाइएको बताए। संकलित रकम पारदर्शी रूपमा सरकारलाई हस्तान्तरण गरिएको उनले उल्लेख गरे।

विदेशमा रहेका नेपाली व्यवसायीहरूले व्यवसायसँगै मातृभूमिप्रतिको जिम्मेवारीलाई समेत प्राथमिकता दिँदै आएको बताउँदै चम्लागाईले आगामी दिनमा पनि नेपालमा लगानी, सामाजिक सहयोग तथा आपत्कालीन राहतका कार्यक्रमलाई निरन्तरता दिने बताए।

कतार सरकारमा औपचारिक रूपमा दर्ता भएको पहिलो नेपाली संघका रूपमा रहेको नेपाली व्यवसायी संघ कतारले नेपाली व्यवसायीको हकहितसँगै नेपालमा लगानी प्रवर्द्धन तथा सामाजिक र परोपकारी गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया