वर्षा र बाढीले बन्द भएका अधिकांश विद्युत केन्द्र सञ्चालनमा, १,१५४ मेगावाट विद्युत आयात गरिने

news-details

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल बर्षाका कारण विभिन्‍न विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढीका कारण आकस्मिक रुपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरु सञ्‍चालनमा आइसकेको र टावरमा क्षति पुगेका कारण अबरुद्ध उत्पादन केन्द्रहरु सञ्‍चालनमा आउन केही समय लाग्ने समेत जनाएको हो । बर्षापछिको बाढीका कारण राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै कुश्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा कुल १९० मेगावाटका ७ वटा जलविद्युत केन्द्रहरूको उत्पादन अवरुद्ध भएको र राहुघाट सबस्टेसनमा जोडिएका आयोजनाहरूमध्ये ४० मेगावाटको राहुघाट बाहेक १२७ मेगावाटका अन्य आयोजनाहरू पुनः सञ्चालनमा आउने अवस्थामा रहेको उनले बताएका छन् । उनले कालीगण्डकी कोरिडोरको २२० केभी लाइन अन्तर्गत म्याग्दीको दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण रहेको जानकारी दिए ।

अविरल वर्षाका कारण वितरण संरचना तथा टावरहरू ढल्दा र १ हजार मेगावाटभन्दा बढी उत्पादन प्रणालीबाट बाहिरिँदा आइतबार दिनभर असहज परिस्थिति बनेको समेत श्रेष्ठले उल्लेख गरे । त्यस्तै कार्यकारी निर्देशक श्रेष्ठले भदौ १० गतेको बाढीले माथिल्लो त्रिशूली थ्री–बी २२० केभी हब तथा विभिन्न केन्द्रहरूमा क्षति पु¥याउँदा ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिरिएको र करिब १४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको बताएका छन् ।

उनले हालको जडित क्षमता ३,७३९ दशमलव ४० मेगावाट रहेकोमा सुक्खा याममा थप ३२० मेगावाट गरि मंसिरसम्म करिब ४,०६० मेगावाट पुग्ने प्रक्षेपण रहेको जानकारी दिए । सुक्खा याममा करिब १,२१८ मेगावाट मात्र आन्तरिक उत्पादन रहने भएकाले करिब १,१५४ मेगावाट विद्युत आयात गरी माग व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ । अघिल्लो वर्षको सुखायामको उच्‍चतम राष्ट्रिय विद्युत माग २२९२ रहेको समेत प्राधिकरणले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया