नेपालमा पहिलो पटक ‘मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स-२०१८’ हुदै
- साउन २०, २०७५
- 0
नेपालमा पहिलो पटक मेडिकल टुरिजम एसिया एक्स्पो तथा कन्फरेन्स-२०१८ हुने भएको छ । यही अगष्ट ६ र ७ (साउन २१ र २२) मा काठमाडौको बबरमहलमा रहेको कार्की बैंक्वेटमा हुने एक्स्पोको सम्पूर्ण तयारी सकिएको आयोजक संस्था एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्श (इपिसीसी) का नेपालका लागि अध्यक्ष कृष्ण पाण्डेले बताएका छन् ।
अध्यक्ष पाण्डेले नेपालमा मेडिकल टुरिजमको अत्यधिक सम्भावना भएको र यसको विकास गर्ने अवधारणा अनुरुप एक्स्पो आयोजना गर्न लागिएको बताएका छन् । एक्स्पोमा नेपाल, भारत, बंगलादेश, थाईल्यान्ड, सिंगापुर लगायत सार्क देशहरुका अस्पताल तथा डाक्टरहरुको सहभागिता रहने र मेडिकल टुरिजम विकास तथा प्रर्बद्धनको लागि सहभागी डाक्टर, स्वास्थ्य व्यवसायी, स्वास्थ्यसँग आबद्ध व्यक्तिहरुबीच सुझाव तथा अनुभव आदान प्रदान हुने पाण्डेले बताए । उनले यस कन्फरेन्सले नेपालमा प्राबिधिक सहायता, अन्तर्राष्ट्रिय सहकार्य, तथा बैदेशिक लगानी भित्र्याउन प्रोत्साहन गर्ने पनि बताए ।
एक्स्पोले नेपाली अस्पतालहरुको प्रवद्र्धन गर्ने, विदेशी अस्पताल तथा स्वास्थ्य संस्थाहरुसँग समन्वय तथा सहकार्य गरी बिदेशी बिरामीहरुलाई नेपालमा उपचारको लागि प्रोत्साहन गर्दै नेपालमा बिदेशी पर्यटकहरुलाई भित्राउने लक्ष्य लिएको आयोजक संस्थाले जानकारी दिएको छ । बिदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा बातावरण अनुकुल भएकोले मेडिकल टुरिजनमा आकर्षण गर्न सजिलो हुने पाण्डेले बताए ।
एक्स्पोमा स्वदेशी तथा विदेशी अस्पतालका प्रतिनिधीबीच बिटुबि मिटिङका साथै बिदेशी डेलिगेटलाई नेपालका अस्पतालको भ्रमण, कार्य दक्षताको प्रदर्शनलगायत गरिने बताइएको छ । सो अवसरमा फ्रि मेडिकल हेल्थ क्याम्पको साथमा फ्रि डेन्टल क्याम्प संचालन गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।
विदेशबाट १०० भन्दा बढी डेलिगेटहरुको आगमन तथा नेपालमा पहिलो पटक यस्तो प्रकारको एक्सपो हुने भएकोले सबैको लागि नयाँ अनुभव हुने बताउदै आयोजक संस्थाले यस एक्स्पोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल टुरिजम बोर्ड, नाटा, साना तथा मझौला व्यवसायी महासंघ नेपाललगायतको सहकार्य रहेको जनाएको छ ।
एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शले बिगत केहि बर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा स्वास्थ्य तथा व्यापारसँग सम्बन्धित गोष्ठि, सम्मेलन, तथा प्रदर्शन गर्दै आएको छ ।