यूएईमा पहिलोपटक आयोजना गरिएको नेपाली प्रिमियर लिगको उपाधि गोर्खाली राइनोजलाई

news-details

संयुक्त अरब इमिरेट्स (यूएई) मा पहिलोपटक आयोजना गरिएको जीसीडी नेपाली प्रिमियर लिग यूएईको पहिलो संस्करण सम्पन्न भएको छ। सेप्टेम्बर ३ देखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलसँगै पुरस्कार वितरण समारोहसमेत सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतियोगिताको रोमाञ्चक फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै जीसीडी गोर्खाली राइनोजले पहिलो संस्करणको उपाधि जितेको छ। एनसीसी हार्डहिटर्स उपविजेतामा सीमित भएको छ।

फाइनल तथा पुरस्कार वितरण समारोहमा नेपाली महावाणिज्य दूतावास, दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईं प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा एनआरएनए, नेपाली समाज, विभिन्न सामाजिक तथा वैचारिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा नेपाली क्रिकेटप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन यूएईमा रहेका विभिन्न संस्था तथा व्यवसायीले प्रायोजन तथा साझेदारी गरेका थिए। अल फरदान एक्सचेन्ज प्लाटिनम स्पोन्सर, काटुस प्रोपर्टी गोल्डेन स्पोन्सर तथा जक ओरेन्ज र भण्डारी ब्रदर्स एन्ड ग्रुप प्रायोजकका रूपमा रहेका थिए।

त्यस्तै हिमालयन ग्लोबल ज्वेलर्स, निको पोलिक्लीनिक र नेप्लिज सेवाले सह–प्रायोजन गरेका थिए। विभिन्न ट्राभल्स, रेस्टुरेन्ट तथा सञ्चार संस्थाले पनि प्रतियोगितामा साझेदारी गरेका थिए। प्रतियोगिताको ब्रान्ड एम्बेस्डरका रूपमा नवराज पाण्डे ‘फुलेको बुढा’ले प्रवर्द्धनमा योगदान दिएका थिए।

आयोजक कमिटीका अध्यक्ष तथा जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै पहिलो संस्करणमै प्रतियोगिताले नेपाली समुदायमा उत्साह सिर्जना गरेको बताए।

उनले जीसीडी नेपाली प्रिमियर लिगको यात्रा पहिलो संस्करणमै नरोकिने बताउँदै आगामी दिनमा सिजन–२, सिजन–३ लगायतका संस्करणलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। पहिलो संस्करणका क्रममा देखिएका कमी–कमजोरीलाई अनुभव र सुझावका आधारमा सुधार गर्दै आगामी संस्करणलाई थप व्यवस्थित र भव्य बनाउने उनको भनाइ छ।

एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले यूएईमा नेपाली क्रिकेटका लागि प्रतियोगिता महत्वपूर्ण सुरुवात भएको बताए। नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिनुका साथै खेलकुदमार्फत नेपाली समुदायलाई जोड्न प्रतियोगिताले भूमिका खेलेको उनले बताए।

प्रतियोगिताको अवधारणा, प्रस्ताव तथा प्रपोजल तयार गरी अघि बढाउन प्रतियोगिता हेड दिपाङ्कर डङ्गोलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। प्रशिक्षक ड्यान परियारले खेलाडीलाई मार्गदर्शन गर्दै प्राविधिक पक्ष सम्हालेका थिए। आयोजक टिमका योगी विश्वकर्मा, सुमन उदयलगायतको पनि प्रतियोगिता सञ्चालनमा महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता निष्पक्ष र अनुशासित रूपमा सम्पन्न गराउन खटिएका अम्पायर, म्याच अफिसियल, स्वयंसेवक, प्राविधिक टोली तथा अन्य सहयोगीलाई पनि आयोजकले धन्यवाद दिएको छ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य यूएईमा रहेका प्रतिभावान नेपाली क्रिकेट खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनु र खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्नु हो। पहिलो संस्करणले नेपाली खेलाडी र समुदायबीचको सहभागिता तथा सहकार्यलाई थप मजबुत बनाएको आयोजकको दाबी छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया