पुस्तकको पाना छाडेर रंगमञ्चमा फर्कियो ‘एक चिहान’, ‘डा. गोदत्त’ पात्र दर्शकको मनमा

news-details

काठमाडौं। नेपाली साहित्यको चर्चित कृति ‘एक चिहान’ फेरि रंगमञ्चमा फर्किएको छ। हृदयचन्द्रसिंह प्रधानको कालजायी कृतिलाई निर्देशक रामबाबु रेग्मीले नयाँ कलाकार संयोजन र प्रस्तुतिशैलीसहित मञ्चमा उतारेका हुन्।

जमलस्थित नाचघरमा मञ्चन भइरहेको नाटकले दर्शकको आकर्षणसमेत पाउन थालेको छ। पछिल्लो शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ।

माण्डपिका आर्ट ग्रुपको प्रस्तुतिमा तयार भएको नाटकमा यसपटक कथा र पात्रलाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरिएको छ। निर्माण रिता थापाको रहेको नाटकको नाट्य रूपान्तरण तथा परिकल्पना वीरेन्द्र हमालले गरेका हुन्।

नाटकको प्रस्तुतिमा रंगकर्मी जेबी डीसीले निर्वाह गरेको ‘डा. गोदत्त’ पात्र विशेष रूपमा दर्शकको ध्यान खिचिरहेको छ। संवाद, हाउभाउ र चरित्रअनुकूलको अभिनयमार्फत डीसीले पात्रलाई मञ्चमा प्रभावशाली ढंगले स्थापित गरेका छन्।

‘एक चिहान’का यसअघिका प्रस्तुतिहरूमा समेत ‘डा. गोदत्त’ चर्चामा रहँदै आएको थियो। तर नयाँ निर्देशक, कलाकार संयोजन र मञ्चीय प्रस्तुतिसँगै यसपटक उक्त पात्रलाई फरक स्वादमा हेर्न पाउने अवस्था बनेको छ।

रामबाबु रेग्मीको निर्देशनमा कथाका पात्र र परिवेशलाई प्रस्तुत गर्ने शैलीमा समेत परिवर्तन देखिन्छ। पुरानो साहित्यिक कृतिको मूल भावलाई कायम राख्दै मञ्चीय प्रभाव बढाउने प्रयास गरिएको छ।

‘एक चिहान’ केवल एउटा पारिवारिक वा सामाजिक कथा मात्र होइन, नेपाली समाजमा रहेको वर्गीय विभेद, गरिबी, संघर्ष र मानवीय सम्बन्धको चित्रण गर्ने कृति हो। यही कारण पुस्तकमा पढेका पात्र र परिवेशलाई प्रत्यक्ष रंगमञ्चमा हेर्न पाउनु विद्यार्थी तथा साहित्यप्रेमीका लागि समेत विशेष आकर्षण बनेको छ।

नाटकमा राजेन्द्र गर्तौला, जेबी डीसी, प्रह्लाद खरेल, सानु पाण्डेय, रिता थापा, विपुल मगर, दिव्या कार्की, सुजन आचार्य, रिनेक्स बस्नेत, सुमित्रा श्रेष्ठ, आयान थापा, उमाकान्त सापकोटा, राशिका, सब्जुन राई ,बिशाल तामाङ ,स्मारिका कुवर, आशिश लामा र याना सिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

निर्माता रिता थापाका अनुसार नियमित मञ्चनसँगै दर्शक तथा विभिन्न समूहको मागअनुसार बुकिङ शोसमेत सञ्चालन गरिनेछ। नाटकलाई नियमित रूपमा मञ्चन गर्ने तयारी रहेको उनले जानकारी दिइन्।

साहित्यमा पढिएको कथा जब रंगमञ्चमा पात्र, संवाद र अभिनयमार्फत प्रत्यक्ष देखिन्छ, त्यसले कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने अर्को बाटो खोल्छ। ‘एक चिहान’को नयाँ प्रस्तुतिले पनि पुरानो कृतिलाई नयाँ पुस्ताका दर्शकमाझ पुनः परिचित गराउने प्रयास गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया