नाट्यकर्मीको पेशागत अधिकारदेखि मोफसलको रंगमञ्चसम्म, प्रज्ञा प्रतिष्ठानसँग सहकार्य माग

news-details

काठमाडौं । नेपाली रंगमञ्चको विकाससँगै नाट्यकर्मीको पेशागत अधिकार र संस्थागत भूमिकालाई बलियो बनाउन माग गर्दै नाट्यकर्मी महासंघ नेपालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ज्ञापनपत्र बुझाएको छ।

महासंघका अध्यक्ष राजेन्द्र रिमालको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानका कुलपति ब्रजेश खनाललाई ज्ञापनपत्र बुझाउँदै रंगमञ्च क्षेत्रमा काम गर्ने पेशागत संघ–संस्थासँग प्रतिष्ठानले संस्थागत संवाद र सहकार्यको स्पष्ट संयन्त्र बनाउनुपर्ने माग गरेको हो।

महासंघले रंगमञ्चसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा सम्बन्धित पेशागत संघ–संस्थासँग परामर्श गर्नुपर्नेमा जोड दिएको छ। प्रशिक्षण, अनुसन्धान, अभिलेखीकरण, रंगमञ्च महोत्सवलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्न सकिने प्रस्ताव पनि महासंघले अघि सारेको छ।

विशेषगरी काठमाडौं केन्द्रित रंगमञ्च गतिविधिलाई मात्र प्राथमिकता नदिई मोफसलमा सक्रिय कलाकार तथा नाट्य संस्थालाई पनि समान अवसर र प्रोत्साहन दिनुपर्ने महासंघको माग छ।

त्यस्तै कलाकार तथा रंगमञ्चकर्मीको श्रमको सम्मान, पेशागत मर्यादा, क्षमता विकास र हितका विषयमा प्रतिष्ठानसँग सहकार्य गर्नुपर्ने महासंघले जनाएको छ। नेपाली रंगमञ्चको इतिहास, नाटक, कलाकार, प्राविधिक तथा सिर्जनात्मक योगदानलाई व्यवस्थित रूपमा अभिलेखीकरण र अनुसन्धान गर्न पनि महासंघले प्रस्ताव गरेको छ।

महासंघले प्रतिष्ठानसँगको सम्बन्धलाई व्यक्तिगत निकटता वा दूरीका आधारमा नभई संस्थागत प्रक्रियाबाट अघि बढाउनुपर्ने धारणा राखेको छ। भविष्यमा प्रतिष्ठान र महासंघबीच कुनै असहमति वा मतभेद उत्पन्न भए सार्वजनिक विवादभन्दा संवाद र संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा पनि जोड दिइएको छ।

महासंघले आफूलाई प्रज्ञा प्रतिष्ठानको प्रतिस्पर्धी वा विकल्पका रूपमा नभई नेपाली रंगमञ्चमा सक्रिय पेशागत समुदायको साझा संस्थाका रूपमा प्रस्तुत गरेको छ। नयाँ नेतृत्वसँगको सम्बन्धमा पनि व्यक्तिगत पहुँचभन्दा संस्थागत सहकार्य, आग्रहभन्दा नीति, दूरीभन्दा संवाद र प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्राथमिकता दिने महासंघले जनाएको छ।

ज्ञापनपत्र बुझ्दै कुलपति ब्रजेश खनालले महासंघले उठाएका विषयप्रति सकारात्मक रहेको बताए। प्रतिष्ठान र रंगमञ्च क्षेत्रमा सक्रिय पेशागत संघ–संस्थाबीच संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले माग सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख विजय विस्फोट र नाटक विभाग प्रमुख सरस्वती चौधरीको सहभागिता थियो।

महासंघका तर्फबाट अध्यक्ष रिमालसँगै उपाध्यक्ष सिर्जना अधिकारी, उपाध्यक्ष राम केसी, महासचिव जेबी डिसी, सचिव अशोक सिवाकोटी, सहकोषाध्यक्ष प्रभन भुषाललगायत सहभागी थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया