‘एक चिहान’को पुनरागमन : जेबी डीसीसहित दिग्गज कलाकार रंगमञ्चमा फर्किँदै
- भदौ २५, २०८३
- 0
काठमाडौं । नेपाली साहित्यको चर्चित कृति ‘एक चिहान’ फेरि रंगमञ्चमा फर्किने भएको छ। हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित यो नाटक यसपटक नयाँ प्रस्तुति, नयाँ कलाकार संयोजन र फरक निर्देशकीय दृष्टिकोणसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ।
पछिल्लो एक दशकमा विभिन्न समूह र कलाकारले ‘एक चिहान’ मञ्चन गर्दै आए पनि गत वर्षको प्रस्तुतिपछि भने यसले रंगमञ्चमा विशेष चर्चा पाएको थियो। विशेषगरी रंगकर्मी जेबी डीसीले डाक्टर गोदत्तको भूमिकामा गरेको प्रभावशाली अभिनयले नाटकलाई दर्शकमाझ थप स्थापित गराएको थियो।
त्यही चर्चित प्रस्तुतिलाई अब निर्देशक रामबाबु रेग्मीले नयाँ शैलीमा पुनः मञ्चन गर्ने तयारी गरेका छन्। माण्डपिका आर्ट ग्रुपको प्रस्तुतिमा तयार हुने नाटकको निर्माण रिता थापाले गर्ने बताइएको छ। ह्रदयचन्द्रसिंह प्रधानको कृतिमा आधारित नाटकलाई नाटय रुपान्तरण बिरेन्द्र हमालले गरेका हुन ।
नयाँ संस्करणमा डाक्टर गोदत्तकै भूमिकाबाट चर्चा कमाएका जेबी डीसी पनि रहने निश्चित भएको स्रोतले जनाएको छ। उनको उपस्थितिले अघिल्लो प्रस्तुतिबाट बनेको अपेक्षालाई नयाँ संस्करणमा समेत जोड्ने देखिएको छ।
यद्यपि जेबीबाहेक नाटकमा सहभागी हुने अन्य कलाकार तथा उनीहरूले निर्वाह गर्ने पात्रबारे निर्माण पक्षले औपचारिक घोषणा गरिसकेको छैन। स्रोतका अनुसार नेपाली रंगमञ्चमा स्थापित केही दिग्गज कलाकारलाई समेत नयाँ प्रस्तुतिमा समेट्ने तयारी छ।
‘एक चिहान’को कथा पुरानै भए पनि यसपटक प्रस्तुति शैली, अभिनय र मञ्चीय संरचनामा नयाँपन दिने निर्देशक रेग्मीको तयारी छ। सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेको प्रधानको कृतिलाई समकालीन रंगमञ्चको भाषामा प्रस्तुत गर्ने प्रयासका रूपमा नयाँ संस्करणलाई हेरिएको छ।
पछिल्लो प्रस्तुतिमा जेबी डीसीको अभिनयले बनाएको प्रभाव र यसपटक थपिने नयाँ कलाकार तथा निर्देशकीय शैलीले ‘एक चिहान’लाई फेरि चर्चाको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ।
निर्माण पक्षले छिट्टै कलाकार र पात्रहरूको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। त्यसपछि मञ्चन मिति र अन्य विवरणसमेत सार्वजनिक गरिने बताइएको छ।














