काठमाडौं । समाजका विसङ्गति, मनोवैज्ञानिक द्वन्द्व र मानिसको अन्तर्मनका कथा बोकेको विसङ्गत शैलीको नाटक “मनमनै मन्त्रालय” मा कलाकार जेबी डीसीले मनमन्त्रीको भूमिकामार्फत दर्शकको ध्यान खिच्न सफल भएका छन्।

काठमाडौंको नेपाल नाट्यशालामा साउन २४ गते मञ्चन गरिएको नाटकमा डीसीको ओजिलो, स्वाभाविक र प्रभावशाली अभिनयले करिब एक घण्टा दर्शकलाई मञ्चमै बाँधेर राखेको थियो। मनमन्त्रीको भूमिकामा उनले प्रस्तुत गरेको संवाद, हाउभाउ र अभिनय शैलीले नाटकको कथ्यलाई थप जीवन्त बनाएको थियो।

प्रस्तुतकर्ता स्नेपाल मातृगृह र नेपाल नाटयशालाको संयुक्त प्रस्तुतिमा तयार भएको नाटक प्रविण पुमाको निर्देशन तथा सौभाग्य सिंह राई राईको लेखनमा आधारित छ। नाटकले समकालीन समाजका सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक विसङ्गतिलाई मानिसको अन्तर्मनसँग जोडेर प्रस्तुत गरेको छ।

“मनमनै मन्त्रालय”मा मनमन्त्री बनेर चम्किए जेबी डीसी

नाटकमा एक्लोपन, पारिवारिक विखण्डन, डिजिटल निर्भरता, बेरोजगारी, विभेद र सामाजिक अन्यायजस्ता विषयलाई उठाइएको छ। “मनमै मन्त्रालय” ले एकपक्षीय मानसिक विचार, भावना र व्यवहारलाई नियन्त्रण गर्ने अदृश्य शक्तिको खोजी गर्दै आज समाज परिवर्तनसँगै मानिसको मन परिवर्तन हुनुपर्ने सन्देश दिएको छ।

निर्देशक पुमाले आफ्नो “सह–अस्तित्ववाद” अवधारणामा आधारित रहेर नाटक तयार गरेका हुन्। मञ्चीय दृश्यमा अत्याधुनिक प्रकाश, ध्वनि, भिडियो, प्रतिकीयता र सांकेतिक उपकरणको प्रयोगले नाटकलाई दृश्यात्मक रूपमा समेत प्रभावकारी बनाएको थियो।

नाटकमा जेबी डीसीका अलवा प्रवीण पुमा, सौभाग्यसिंह राई, रिता थापा, दिपमाला परियार, सानु पाण्डे, कविता खड्का, निर्मल साउद, आयन थापा, तृप्ती श्रेष्ठ, खुशी तामाङ, महेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै नाटकमा प्रकाश परिचालनमा अजय घलान, सङीत परिचालनमा सुदिप रौतेल र कास्टिङ डाइरेक्सन डिसी स्वयंको रहेको छ ।

“मनमनै मन्त्रालय”मा मनमन्त्री बनेर चम्किए जेबी डीसी

मञ्चन कार्यक्रममा नाट्यशाला दर्शकले भरिभराउ थियो। साहित्य, कला, सञ्चार तथा प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा नाटकपछि सिर्जनात्मक समालोचनासमेत गरिएको थियो।

समालोचक तथा प्राज्ञहरूले “मनमनै मन्त्रालय” ले समाजका विसङ्गति र मानिसका मनोवैज्ञानिक समस्यालाई उजागर गर्दै दर्शकलाई आफ्नै चेतना, सोच र व्यवहारबारे प्रश्न गर्न बाध्य बनाएको धारणा राखेका थिए।

यसरी “मनमनै मन्त्रालय”ले समाज बदल्ने बहसभन्दा पहिले आफ्नै मन बदल्नुपर्ने सन्देश दिएको छ भने मनमन्त्रीको भूमिकामा जेबी डीसीको प्रस्तुतिले नाटकलाई थप प्रभावशाली बनाएको छ।