संखुवासभाको चैनपुर र ललितपुरबीच भगिनी सम्बन्ध, मेयर महर्जन र तामाङले गरे हस्ताक्षर
- रोजगारमञ्च
- बैशाख २६, २०८२
- 0

ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ ।
प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
पुर्वी जिल्ला संखुवासभामा अवस्थित प्राचीन, ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण चैनपुर नगरपालिकामा बिहीवार ललितपुर र चैनपुरको औपचारिकरुपमा भगिनी सम्बन्ध स्थापना भएको हो ।
चैनपुर नगरपालिकाको ११औँ वार्षिकोत्सवको अवसरमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर हुँदा चैनपुरवासीले खुशी व्यक्त गरेका छन् ।
पूर्वाधार तथा शहरी विकास, समाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्कृति तथा संम्पदा संरक्षण, पर्यटन प्रर्वद्धन र शिक्षा स्वास्थ्य र आर्थिक प्रर्वद्धनका क्षेत्रमा आपसी सहयोग र अनुभव आदनप्रदान गर्ने लगायतका विषयमा सम्झौता भएको छ ।
त्यसैगरी स्थानीय उत्पादनलाई प्रर्वद्धन गरी उत्पादित समानहरुको बजारीकरण तथा व्यावसायिकताका लागि आवश्यक सहयोग र सहकार्यमा जोड दिने सम्झौतामा उल्लेख गरिएको छ । ललितपुरका मेयर महर्जनले कार्यक्रममा संवोधन गर्दै भने–‘भगिनी सम्बधले दुःख सुख साटासाट गर्ने छ, अब हामी एकै परिवारका भयौं।’
कला, संस्कृति, सम्पदा, वातावरण झल्कने योजनामा चैनपुरको विकासको लागि ललितपुर महानगर तयार रहेको प्रतिवद्धता मेयर महर्जनले जनाए ।
चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने बताए । ललितपुरदेखि चैनपुरमा नै आफ्नो प्रतिनिधि मण्डल लिएर आएकोमा तामाङले खुशी व्यक्त गर्दै सहकार्यका लागि बाटो खुलेको बताए ।
नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख तथा चैनपुरवासी राजेन्द्र गौतमले ललितपुर महानगर र चैनपुर नगरपालिका बीचको भगिनी सम्बन्ध ऐतिहासिक भएको बताए । विकासका लागि स्थानीय तहहरु बीच हातेमालो हुन आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा खाँदवारी नगरपालिका प्रमुख महेश थपलियाले नेपालकै समृद्ध नगरपालिका ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्नु चैनपुरबासीको मात्रै नभई संखुवासभाकै लागि गौरवको विषय भएको बताए ।
ललितपुर र चैनपुरबीचको सम्बन्ध स्थापित गर्नका लागि सक्रिय रहेका बृहत चैनपुर सम्पदा परिषद्का संयोजक निराकर श्रेष्ठले दुवै नगरपालिकाका लागि ऐतिहाँसिक दिन सम्पन्न गराउँदा सबैभन्दा खुशी लागेको बताएका छन् ।
महानगर प्रमुख महर्जन नेतृत्वको टोलीमा प्रवक्ता एवम वडा नं.९का अध्यक्ष राजु महर्जन, वडा नं.१का अध्यक्ष निर्मल तण्डुकार, महानगरका वरिष्ठ अधिकृत सागर थापा, वडा नं.११ का वडा सदस्य जुबन तण्डुकार, वडा नं.१८ सदस्य रुक्मिणी महर्जन रहेका छन् ।