प्रहरीबाट अवकाशपछि ढकालको झन बढ्यो सक्रियता, ‘गाउँ–गाउँमा आइटी अभियान’ चलाउँदै
- रोजगारमञ्च
- माघ २४, २०८१
- 0
लामो समय प्रहरी प्रशासनमा जागिर खाएर भर्खरै मात्र अतिरिक्त महानिरीक्षक (एआइजी)बाट अवकाश लिनु भएका भीम ढकालको हिजोआज झन सक्रियता बढेको छ । उहाँ अहिले गाउँगाउँ पुगेर युवायुवतीलाई आइटीसम्बन्धी जानकारी दिदै जागरण अभियानमा जुट्नु भएको छ ।
विद्यार्थी र युवायुवतीहरूका लागि आइटी प्रशिक्षण, इन्टर्नसीप र रोजगारीका अवसरका लागि भोजपुरका गाउँ–गाउँमा आईटी अभियान सुरु गर्नु भएको छ ।
भोजपुर चरम्बीमा जन्मनु भएका ढकाल आफ्नो जिल्ला फर्किएर आइटी अभियान चलाउनु भएको छ । ढकालको अगुवाइमा माघ २२ गते भोजपूरको अरुण गाउँपालिकाबाट यो अभियान सुरु गरिएको छ ।
दिनहुँ हजारौँ युवाहरु देश छाडेर बाहिरिदैँ गर्दा गाउँका युवाहरूलाई आइटीको प्रशिक्षण दिएर क्षमता वृद्वि गरी गाउँघरमै बसेर आइटी रोजगार सृजना गर्न स्थानिय सरकार, सुरक्षा निकाय र अन्य कार्यलयका काम कारवाहीलाई प्रविधिमैत्री बनाउन यो अभियान थालिएको पूर्व एआइजी ढकालको भनाई छ ।
यस अभियानलाई सिताराम पद्मकुमारी फाउन्डेशन र जेनिस सोलुसन प्रा. लि.ले प्राविधिक सहयोग गरेका छन् भने स्थानिय पालिकाले प्रशिक्षण संचालनमा सहयोग गरेको छ ।
जेनिस सोलुसनका प्रमुख अन्जनी फुयाँलका अनुसार गाउँमा रहेका युवालाई शुरुमा आइटी प्रशिक्षण दिइने, त्यसपछि प्रशिक्षणमा उत्कृष्ट हुने ५० प्रतिशतलाई इन्टनसिप गराइने र इन्टर्नसिप राम्रो गर्नेहरुलाई रोजगारी उपलब्ध गराइनेछ ।
उक्त प्रशिक्षण भोजपुरका गाउँगाउँमा विस्तार गरिने जनाइएको छ । माघ २३ गते अरुण गाउँपालिकामा आइटी इनोभेशन सेन्टरको उद्घाटन पालिका अध्यक्ष शालिकराम खत्री र पुर्व एआइजी ढकालले संयुक्त रुपमा गर्नुभएको थियो ।
त्यसैगरी गत माघ २३ गते भोजपुरको पौवा दुङमा पालिकामा पनि आइटी अभियान सम्पन्न भएको छ । सो क्रममा पालिकाका उपाध्यक्ष ज्योत्सना राईले अभियानबाट गाउँमा युवाहरुले रोजगार पाउने अवसर प्राप्त हुने बताइन् ।
एकै पालिकामा शुरुमा २०–२० जनाको दरले प्रशिक्षण सञ्चालन गरिने जनाइएको छ ।