आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै
- साउन २७, २०७७
- 0

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’भनिन्छ ।
आज कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधनाका साथै रातभर जाग्राम बस्ने पनि प्रचलन छ । राक्षसी प्रवृत्तिबाट मानवको रक्षा गर्न विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णलाइ सत्य र सत्कर्मको प्रतिक मानिन्छ ।
श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । स्वयम् श्रीकृष्णका मुखारविन्दुबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।
श्रीकृष्ण जन्माष्टमीका दिन आज ललितपुरको पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मन्दिर बन्द अवस्थामा रहेको छ । तर विहानैदेखि श्रद्धालु भक्तजनहरुको मन्दिर परिसरमा पुगिरहेका छन् । विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने प्रसासनको निर्देशन रहेको छ । तर प्रहरीले मन्दिर अगाडी उभिएर पुजा गर्न समेत नदिएको भन्दै श्रद्धालुले गुनासो गरेका छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै ऐतिहासिक सांस्कृतिक परम्पराले समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्या उने विश्वास व्यक्त गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले विविध धर्म, संस्कृति र परम्परा नेपाली सभ्यता र सम्पन्नताका सूचक भएको उल्लेख गर्दै श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भन्दै शुभकामना ब्यक्त गर्नुभएको छ ।