जंगलमा घाँस काट्न गएका दुई युवती प्रहरीद्वारा बलात्कृत, कारवाही माग गर्दै प्रदर्शन
- जेष्ठ ६, २०७६
- 0
नवलपरासी । प्रहरीले एक किशोरीसहित २ महिलालाई बलात्कार गरेको आरोप नवलपरासीका स्थानीयले लगाएका छन् । प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेपपिछि २ प्रहरी जवान निलम्बनमा परेका छन् ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादवमाथि १७ वर्षीया किशोरी र २६ वर्षीया महिला बलात्कार गरेको आरोप स्थानीयले लगाएका छन् ।
गत वैशाख १ गते घाँस काट्न गएका उनीहरुलाई जवानद्वयले बलात्कार गरेको दाबी स्थानीयको छ ।
तर, घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए ।
स्थानीयले घटना सतहमा आएलगत्तै रक्षक नै भक्षक भएको भन्दै प्रहरी जवानद्वयमाथि कारवाही माग गरेर प्रदर्शन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय, नवलपरासीले स्थानीयको आरोपपछि २ प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बलात्कार आरोपित दुवै जवानलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।
रासस