आज साउने संक्रान्ति पर्व मनाइँदै
- साउन १, २०७५
- 0
आज देशभर साउने संक्रान्ति पर्व मनाइँदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कट रेखामाथि पुग्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
कृषिप्रधान देशमा मुठी खाइ मुरी उब्जाउने भन्ने कथनअनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ ।
असारे हिलोका कारण फैलिनसक्ने रोगबाट जोगिन लुतो फाल्ने उद्देश्यले यो पर्व मनाउन थालिएको हो ।
यसदिन कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूल चढाएर कन्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्नसकिने विश्वास गरिन्छ ।
कुकुरडाइनो, कागभलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनीलगायतका औषधीय वनस्पति बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टोबाट लुतो फ्याँक्ने चलन छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घन्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने गरिन्छ ।
महिलाहरुले साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनुका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् ।
यो महिनाभर शिवजीका भक्तजनहरु बोलबम यात्रामा निस्कने पनि गर्दछन् ।