रसुवा–नुवाकोट बाढी प्रभावितलाई एनआरएनएको ५० लाख बराबर राहत

स्वास्थ्य शिविरदेखि पुनर्निर्माणसम्म सहयोग गर्ने योजना
news-details

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चरणबद्ध रूपमा सहयोग अभियान सञ्चालन गरेको छ।

तत्काल राहत र स्वास्थ्य सेवासँगै दीर्घकालीन रूपमा प्रभावित समुदायको पुनःस्थापना तथा पुनर्निर्माणमा सरकारसँग समन्वय गरी सहयोग गर्ने संघले जनाएको छ। यसैक्रममा भदौ ११ गते बिहीबारदेखि नै एनआरएनएका पदाधिकारी तथा स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा खटिएको छ।

एनआरएनएले नुवाकोटमा भदौ ११ र १२ गते गरी करिब ५० लाख रुपैयाँ बराबरको राहत सामग्री बाढी प्रभावित परिवारका लागि उपलब्ध गराएको जनाएको छ। राहत सामग्रीमा ५ सय थान त्रिपाल, ५ सय थान सोलार लाइट तथा ५ सय परिवारका लागि खाद्यान्न, लत्ताकपडा, चप्पल, म्याट, ब्ल्याङ्केट, खानेपानी, औषधिलगायत अत्यावश्यक सामग्री रहेका छन्।

काठमाडौंस्थित एनआरएनए सचिवालयबाट राहत सामग्रीसहित गएको पदाधिकारीहरूको टोलीले नुवाकोट पुगेर प्रमुख जिल्ला विपद् व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना तथा स्थानीय तहका प्रतिनिधिसँग समन्वय गरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो।

टोलीले नुवाकोट वैकल्पिक आयुर्वेदिक औषधालय, विदुर–५ मा रहेको सेल्टरमा आश्रय लिइरहेका प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको जनाएको छ। विशेषगरी वृद्धवृद्धालाई प्राथमिकतामा राखेर प्रत्यक्ष राहत वितरण गरिएको संघले बताएको छ।

सरकारको एकद्वार राहत वितरण नीतिअनुसार प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत राहत सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री नुवाकोट पुर्‍याउन अबेर रातिसम्म समय लागेकाले भदौ १२ गते बिहानैदेखि प्रभावित क्षेत्रमा राहत वितरण सुरु गरिएको जनाइएको छ।

नुवाकोटको पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा आश्रय लिइरहेका बाढी प्रभावित नागरिकलाई पनि राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गरिएको छ। राहत टोलीले एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्यहरू बाढीबाट प्रभावित भए वा नभएको विवरण समेत संकलन गरी आवश्यक उद्धार तथा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गरिरहेको जनाएको छ।

भौगोलिक अवस्था र बाढीका कारण प्रत्यक्ष रूपमा पुग्न कठिन क्षेत्रमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय तहसँग समन्वय गरी थप राहत सामग्री पुर्‍याइने एनआरएनएले जनाएको छ।

स्वास्थ्य शिविर सञ्चालन

एनआरएनएको राहत टोलीसँगै नुवाकोट पुगेको स्वास्थ्यकर्मीको टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। संघले थप स्वास्थ्य शिविर सञ्चालन गरी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण, प्राथमिक उपचार, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श उपलब्ध गराउने जनाएको छ।

थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइने संघले जनाएको छ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

एनआरएनएले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मार्फत समेत बाढीपहिरो प्रभावितका लागि सहयोग रकम संकलन अभियान सुरु गरेको छ।

विभिन्न एनसीसीहरूले आ–आफ्नो स्तरबाट सहयोग तथा रकम संकलन गरिरहेका छन् भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पदाधिकारी, सदस्य तथा विश्वभर रहेका गैरआवासीय नेपालीलाई आफ्नो क्षमताअनुसार सहयोग रकम एनआरएनए आईसीसीको खातामा जम्मा गर्न अपिल गरिएको छ।

यसरी संकलित रकम राहत तथा मानवीय सहायताका लागि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संघका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिएका छन्।

संघले विभिन्न एनसीसीमार्फत संकलित सहयोग रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गर्ने पनि जनाएको छ।

एनआरएनएले विश्वभर रहेका आफ्ना एनसीसी, नेपाली समुदाय तथा गैरआवासीय नेपालीलाई बाढीपहिरो प्रभावित नागरिकको उद्धार, राहत, स्वास्थ्य सेवा, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सञ्चालन भइरहेको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया