एनआरएनएका पूर्वअध्यक्ष आरके शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग
- भदौ १२, २०८३
- 0
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्ष आरके शर्माले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन्।
शर्माले आफ्नो नेतृत्वमा रहेको पिजन इन्जिनियरिङ ग्रुपको तर्फबाट शुक्रबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्।
भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेको बाढीले भोटेकोशी र त्रिशूली नदी आसपासका रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले सहयोग रकम प्रदान गरेका हुन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।
देशबाट टाढा रहे पनि विदेशमा रहेका नेपालीहरूको मन सधैं मातृभूमिसँग जोडिएको उल्लेख गर्दै शर्माले राष्ट्रिय संकटको घडीमा देश र जनताले भोगिरहेको पीडा विश्वभर रहेका नेपालीहरूको साझा पीडा भएको बताएका छन्।
‘यो सहयोगको अंकभन्दा पनि मातृभूमि संकटमा पर्दा हामी जहाँ भए पनि देशकै साथमा छौँ भन्ने हाम्रो आत्मीय भावना र दायित्वको सानो अभिव्यक्ति हो,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘देश बाहिर रहे पनि हाम्रो मन सधैं मातृभूमिमै हुन्छ।’
शर्माले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका लागि अहोरात्र खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा सरकारी एवं गैरसरकारी निकायहरूप्रति सम्मान र कृतज्ञता व्यक्त गरेका छन्।
त्यस्तै, प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा सक्रिय गैरआवासीय नेपाली संघका अभियन्ता तथा प्रवासबाट सहयोग जुटाइरहेका नेपालीहरूप्रति पनि उनले आभार व्यक्त गरेका छन्। छिमेकी तथा मित्रराष्ट्रहरूले विपत्तिको समयमा देखाएको मानवीय सद्भाव र सहयोगप्रति समेत शर्माले धन्यवाद दिएका छन्।
एनआरएनएका पूर्वअध्यक्ष शर्माले विश्वभर छरिएर रहेका नेपालीलाई आफ्नो सामर्थ्यअनुसार बाढी पीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न अपिल गरेका छन्।
नेपालले विगतमा भूकम्प, महामारी, बाढीपहिरोलगायतका राष्ट्रिय संकट सामना गर्दा विदेशमा रहेका नेपालीहरूले एकजुट भएर मातृभूमिको साथ दिँदै आएको स्मरण गर्दै उनले अहिले पनि त्यही एकता र मानवीय भावनालाई व्यवहारमा उतार्ने समय आएको बताएका छन्।
‘हामी सबैले हातेमालो गरेमा गुमेको अमूल्य जीवन फर्काउन नसके पनि पीडितहरूको घाउमा मलम लगाउन र उनीहरूलाई पुनः उठ्नका लागि ठूलो हौसला र आशा प्रदान गर्न सक्छौँ,’ शर्माले भनेका छन्।













