मेलम्ची क्षेत्रका धेरै भौतिक पूर्वाधारमा क्षति

news-details

सञ्चिता घिमिरे । गत असार १ मा मेलम्ची नदीमा लेदोसहित आएको बाढीका कारण यस क्षेत्रमा पुल, सडक, झोलुङ्गे पुल, बसपार्कलगायतका धेरै पूर्वाधार क्षतिग्रस्त बनेका छन् । सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारअन्तर्गतका विभिन्न संरचना क्षतिग्रस्त बनेका छन् । मेलम्ची नगरपालिका–११ स्थित चन्द्र शम्शेरको समयमा बनेको पुल बाढीले बगाएको छ । विसं १८८६ मा बनेको सो पुल अहिले बगाएको हो । सङ्घीय सडकअन्तर्गत सिपाघाट नजिकै पहिरोका कारण सडक क्षतिग्रस्त बनेको छ । झण्डै १५० मिटर सडकमा तलबाट नदीले र माथिबाट पहिरोले असर पु¥याएको देख्न सकिन्छ ।

त्यसलाई मर्मत गरिने र पहिरो नियन्त्रण गरिने सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि सडक सुचारु छ पहिरो हटाएर मर्मत गरेपछि ठूलो समस्या छैन ।” मेलम्ची–११ मा रहेको मेलम्ची बजारदेखि नवलपुर चौतारा र पाँचपोखरी थानपाल जोड्ने पक्की पुल पूर्णरुपमा क्षति भएको छ । यो पुल छोटो समयमा नै निर्माण गर्न सकिने देखिएको महानिर्देशक थापाले बताउनुभयो । उहाँका अनुसार पुलको जग नबिग्रिएकाले र पिलरमा क्षति नदेखिएकाले छोटो समयमा बनाउन सकिने देखिएको छ । पुलको बीचको भाग मात्र भत्काएर लगेको पाइएको छ । सो पुल आठ नौ महिनामा निर्माण गर्न सकिने देखिएको छ । उहाँले भन्नुभयो, “त्योभन्दा अघि तत्कालका लागि झोलुङ्गे पुल वा अरु अस्थायी क्रसिङ सकिन्छ ।”

यस क्षेत्रमा सबैभन्दा बढी क्षति मेलम्चीको पुलबजारदेखि हेलम्बुको अम्बाथानसम्मको सडकमा भएको छ । झण्डै सात किमी लम्बाइको सडक पूरै भाँसिएको त पुल नै बगाएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समिति निर्माण गरेको सडक उसैले मर्मत गर्नेछ भने पुलको मर्मतको काम सडक विभागले गर्नेछ । सो सडक मर्मत गर्न आवश्यक भएमा विभागले समितिलाई उपकरण दिने महानिर्देशक थापाले बताउनुभयो ।

मेलम्ची–हेलम्बु सडकमा दुई पुल बाढीले बगाएको छ । उहाँले भन्नुभयो, “अहिले दुई बेलीब्रिज विभागले दिने र बाँकी काम समितिले गर्ने भन्ने सहमति छ ।” पुल बजारबाट हेलम्बुसम्म चार पुलमा क्षति पुगेको महानिर्देशक थापाले बताउनुभयो । पुल बजारको एउटा पुलमा क्षति भएको छ । पुल बजारभन्दा माथि एउटा पुल माटोले पुरिएको छ । पुल आफ्नै ठाउँमा भएकाले त्यो माटो हटाएपछि त्यसलाई सुचारु गर्न सकिने उहाँले बताउनुभयो ।

सोही खण्डमा पर्ने रातो पुलमा पहिले क्षति भएको अनुमान गरिए पनि सडक विभागको टोलीले शनिबार स्थलगत अवलोकन गर्दा क्षति नभएको पाइएको छ । पुलमा पिलरमा केही असर भए पनि त्यसलाई बलियो गरेमा अर्को बनाउनुनपर्ने उहाँले बताउनुभयो । हेलम्बु क्षेत्रमा रहेका दुई पुल बाढी बगाएकाले त्यस ठाउँमा सडक विभागले बेलीब्रिज दिने भएको छ ।

मेलम्ची नगरपालिकामा वडागतरुपमा हेर्दा सबैभन्दा बढी क्षति वडा नम्बर ११ मा भएको पाइएको छ । यहाँका दुई सडक पुल र तीन झोलुङ्गे पुलमा क्षति भएको छ । मेलम्ची बजारबाट पाँचपोखरी थानपाल र मेलम्ची फट्टेबाट दुबोचौर जोड्ने पुल पक्की पुल पूर्णरुपमा क्षति भएको नगरपालिकाले जनाएको छ । मेलम्ची पुरानो पुल बजारदेखि मेलम्ची वडा नं १० जोड्ने झोलुङ्गे पुल पूर्णरुपमा, मेलम्ची बगैँचादेखि मेलम्ची नगरपालिका–१० जोड्ने झोलुङ्गे पुलमा आंशिकरुपमा क्षति भएको छ । मेलम्चीकै डिही टारदेखि बगैँचा जोड्ने झोलुङ्गे पुल र नुहार खोलामा रहेको काँडे बगर र भटार तर्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । यहाँ रहेका इन्द्रावती करिडोर सडक उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ । वडा नं १० मा रहेको शिखरपुर तिपनी भोताङ सडक आंशिकरुपमा क्षतिग्रस्त बनेको छ ।

यहाँका सार्वजनिक भवन, खानेपानी, पार्क, बसपार्क, विद्यालय भवन, सिँचाइ कुलो र विद्युत्का लाइन पनि क्षतिग्रस्त बनेका छन् । यहाँ रहेका भवनमध्ये मेलम्ची नगरपालिका आयुर्वेद शाखा भवन र बहुउद्देश्यीय कवर्ड हल, मनमोहन स्मृति भवन, फोहरमैला सङ्कलन केन्द्र, राधेराधे भवन, क्रियापुत्री भवन र रेडियो मेलम्चीको भवन क्षतिग्रस्त बनेको नगरपालिकाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिको भवन, मेलम्ची बजार लिफ्ट खानेपानी, तेर्से माध्यमिक विद्यालय, शवदाह गृहमा क्षति पुगेको छ । वडा नं १० र ११ मा रहेका विद्युत्का पोल क्षतिग्रस्त बनेको छ । यहाँका शहरेखोला सिँचाइ कुलो, नुहार खोला टार सिँचाइ कुलो, सङ्गुरे सिँचाइ कुलो, अमारे ठूलोबगर सिँचाइ कुलोलगायतका सिँचाइमा क्षति पुगेको छ ।

पालिकाबीचको सहज यातायातको लागि मेलम्ची र इन्द्रावती नदीमा तत्काल दुई बेलीब्रिज निर्माण गरी यातायात सुचारु गर्नुपर्ने नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताउनुभयो । मेलम्ची क्षेत्रमा बाढीले पुल बगाएर आवतजावत ठप्प हुँदा नगरपालिकाअन्तर्गत सञ्चालित सङ्घीय तथा प्रदेश सरकारको वित्तीय समानीकरण, सशर्त र समपुरक अनुदानबाट सञ्चालित आयोजनामा बाढीले असर पु¥याएको छ ।

उहाँले भन्नुभयो, “उक्त आयोजना आगामी आवमा आर्थिक दायित्वसहित निरन्तता दिने गरी म्याद थप गर्नुपर्छ ।” तालामाराङदेखि ढाँडखोलासम्म झण्डै १५ किमी नदी किनाराको दुबै भागमा रहेको बस्ती र खेतीयोग्य जमीन जोगाउन दुबै किनारामा तटबन्ध बाँधी जमीन संरक्षण गर्नुपर्ने नगरपालिकाले बताएको छ । मेलम्ची र इन्द्रावती नदीलाई पूरानै अवस्थामा फर्काउन प्रयास भइरहेको प्रमुख अर्यालले बताउनुभयो ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *