विदेशी पैसा ल्याएपछि मात्र रेमिट्यान्स भुक्तानी

तत्काल लागू गर्दा रेमिट्यान्समा कमी आउने आशंका
news-details

विदेशी रेमिट्यान्स कम्पनीले पैसा उठाएर नेपाल नपठाउने समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाले विदेशी पैसा नेपाल नल्याएसम्म भुक्तानी गर्न नपाइने भएको छ ।

सामान्य सम्झौताका आधारमा भुक्तानी दिँदा केही बैंक वित्तीय संस्था अप्ठ्यारोमा परेपछि नेपाल राष्ट्र वैंकले सो व्यवस्था लागू गरेको हो । नेपाली कामदार भएका खाडीलगायतका मुलुकका रेमिट कम्पनीले नेपाल पैसा पठाउने भनेर उठाए पनि नपठाएपछि केन्द्रीय बैंक नै अघि सरेको हो ।

नेपाली बैंकहरूले विदेशी रेमिट कम्पनीसँग सम्झौता गरेर नेपालमा भुक्तानी दिने गर्दा समस्या आएपछि अनिवार्य रूपमा विदेशी मुद्रा भित्याउनु पर्ने व्यवस्था गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए ।

‘अहिले सम्झौताका आधारमा भुक्तानी दिन रोकेको हो, ढुंगानाले भने, ‘विदेशी रेमिट्यान्स कम्पनीले नेपाली कम्पनीलाई पैसा नपठाउने समस्या बढ्ने देखिएपछि यस्तो व्यवस्था गर्नुपरेको हो ।’

पैसा नभित्रिएको खण्डमा विदेशी बैंकको ग्यारेन्टीमा भुक्तानी दिन सकिने भए पनि ग्यारेन्टी भएको रकम मात्र भुक्तानी दिन सकिने उनले बताए ।
केही समयअघि मात्र मलेसिएन मेक्स रेमिटले नेपाल पठाउन उठाएको २३ मिलियन डलर नपठाएपछि एभरेस्ट बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, सम्सारा रेमिट, प्रभु रेमिट, आईएमई रेमिट, सिटी एक्सप्रेस र आइपेको कतारमा उठाएको रकमको भुक्तानी विवाद चुलिँदै आएको थियो । त्यसैगरी हिमालयन बैंक र आइपेको मलेसियामा उठाएको करिब ४५ करोड रुपैयाँसमेत नेपाल नपठाएपछि केन्द्रीय बैंकले विदेशी पैसा नल्याएसम्म नेपाली लाभकर्तालाई भुक्तानी दिन नपाउने व्यवस्था गरेको हो ।

नेपाली कम्पनीले रेमिट्यान्स भुक्तानी दिने तर, आफूले भुक्तानी लिनुपर्ने समयमा मुद्दा मामिला गर्नुपर्ने समस्या आउने भएकाले अनिवार्य रुपमा विदेशी रकम भित्र्याएपछि मात्र भुक्तानी दिने व्यवस्था गरेको हो ।

यसअघि विदेशी रेमिट कम्पनी र नेपाली बैंक वित्तीय संस्थाबीच हुने गरेका कारोबारका प्रक्रियालाई नै रद्द गरेर मुद्रा भित्रेयाउने वा बैंक ग्यारेन्टी गर्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

विगतको कारोबार प्रक्रिया नै कमजोर भएकाले पनि समस्या आएको ढुंगानाको भनाइ छ । विदेशी कम्पनीले भुक्तानी नदिएको खण्डमा त्यसको दायित्व नेपाली कम्पनीले नै लिनुपर्ने भएकाले पनि राष्ट्र बैंकले रेमिट कारोबारको प्रक्रिया प्रभावकारी बनाएको हो ।

यता सेवाग्राहीहरुले विदेशमा पैसा पठाएको केही मिनेटमा नै भुक्तानी पाउँदै आएका छन् । तर, अव नयाँ नियम लागेको खण्डमा भुक्तानीका लागि समय लाग्ने हुँदा नीजि रेमिट्यान्स कम्पनीहरुले विरोध जनाएका छन् । उनीहरुले तत्काल नियम लागू भए रेमिट्यान्समा कमी आउने आशंका समेत व्यक्त गरेका छन् ।

नेपाल विप्रेषण संघका अध्यक्ष दिवाकर थापाले तत्काल लागू गर्नुको सट्टा क्रमिकरुपमा लागु गरेको खण्डमा सबैलाई सहज हुने धारणा राख्छन् । संघले केही दिनमा नै राष्ट्र वैंकलाई ध्यानाकर्षण गराउने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *