भारत जान लागेका दुई सय महिला तथा बालबालिकाको उद्धार
- भदौ २०, २०७५
- 0
बैतडी । पछिल्लो तीन वर्षमा नेपाल-भारत सिमानाका झुलाघाटबाट २ सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।
विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए ।
आर्थिक वर्ष २०७२/७३ मा २३ महिला तथा २७ बालबालिकाको उद्धार गरिएको थियो । आव २०७३/७४ मा २४ महिला र ४० बालबालिकाको उद्धार गरिएको थियो । आव २०७४/७५ मा ७० बालबालिका तथा १७ महिलाको उद्धार गरिएको पालले बताए । आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छोडेर रोजगारीका लागि भारत जाने गरेका छन् ।
‘विद्यालको पोशाकमै मजदुरी गर्न भारत जाने गरेका छन्,’ इन्चार्ज पालले भने, ‘भारतमा बेचबिखनको डर रहेकाले सीमाबाटै घर फर्काउने गरेका छौं । पढाइ खर्चको जोहो गर्न बिदाको समयमा भारत जाने विद्यार्थीको सङ्ख्या धेरै छ ।’
‘चैत र वैशाखमा बढीजसो मजदुरी गर्न भारत जाने गरेका छन्,’ उनले भने । उद्धार बालबालिका तथा किशोर १२ वर्षदेखि १८ वर्षमुनिका छन् । धेरैजसो विद्यालय उमेर समूहका बालबालिका साथीको लहलहैमा घरबाट भागेर भारत जाने गरेको पाइएको छ ।
आर्थिक अवस्था कमजोर भएका बालबालिका स्कुल बिदाका बेला खर्च जुटाउन भारत जाने गरेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी बताउँछन् ।
‘घरपरिवारको स्वीकृति लिएर भारत जानेको सङ्ख्या कमै छ,’ उनले भने,‘कतिपय किशोरकिशोरी भागेर विवाह गर्न तथा भारतमा लुकेर बस्नसमेत जाने गरेका छन् ।’ उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइबुझाइ जिल्ला प्रहरी कार्यालयले उनीहररूको अभिभावकको जिम्मा लगाउने गरिएको छ ।
झुलाघाटबाट उद्धार गरिएकामा बैतडीबाहेक डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी, कालिकोट, हुम्ला, मुगुलगायत जिल्लाका बालबालिका र किशोरकिशोरी पनि छन् । -रासस