आईपीएल युएईमा हुदै, १९ सेप्टेम्बरदेखि नोभेम्बर ८ सम्म खेल तालिका रहने
- साउन ९, २०७७
- 0
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १३औं संस्करण सेप्टेम्बर १९ देखि युएईमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को स्रोतले १९ सेप्टेम्बरदेखि लिग सुरु हुने र फाइनल नोभेम्बर ८ मा हुने जनाएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
कोरोना भाइरस महामारीको कारण अनिश्चित बनेको आईपीएल टी–२० विश्वकप एक वर्ष पछि सरेपछि युएईमा आयोजना गर्ने तयारी भएको हो । आईसीसीले अष्ट्रेलियामा अक्टोबर नोभेम्बरमा हुने तय भएको टी–२० विश्वकप स्थगित गरेपछि आईपीएल आयोजना गर्ने बाटो खुलेको थियो ।
‘आईपीएल सेप्टेम्बर १९ मा सुरु हुने सम्भावना छ र फाइनल नोभेम्बर ८ मा हुनेछ। यो ५१ दिनको हुनेछ र फ्रेन्चाइज, ब्रोडकास्टर, स्टेकहोल्डर सबैलाई सुहाउने छ,’ बीसीसीआईको उच्च पदाधिकारीलाई उद्धृत गर्दै पीटीआईले उल्लेख गरेको छ ।