डेविड वार्नर एनपीएलका लागि काठमान्डु गोर्खाजमा आबद्ध
- भदौ ३०, २०८३
- 0
काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेविड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्।
वार्नरले मंगलबार सामाजिक सञ्जालमार्फत आफू काठमान्डु गोर्खाजको प्रतिनिधित्व गर्दै एनपीएल खेल्न नेपाल आउने पुष्टि गरेका हुन्। उनी दशैंपछि नेपाल आउने बताइएको छ।
अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी वार्नरको आगमनसँगै एनपीएलमा उनको सहभागिता अहिलेसम्मकै आकर्षक विदेशी खेलाडीमध्ये एक बनेको छ। अस्ट्रेलियाले २०१५ र २०२३ को एकदिवसीय विश्वकप तथा २०२१ को टी–२० विश्वकप जित्दा वार्नर टोलीका महत्वपूर्ण सदस्य थिए। २०२१ को टी–२० विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बनेका थिए।
वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदिवसीय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। तीनै फर्म्याटमा उनले ४९ शतकसहित करिब १९ हजार रन बनाएका छन्। टी–२० क्रिकेटमा उनको स्ट्राइक रेट १४२ भन्दा माथि छ।
काठमान्डु गोर्खाजले यसअघि श्रीलंकाका अलराउन्डर सहन अराचचिगे र भारतका पूर्व विकेटकिपर केएस भरतलाई टोलीमा भित्र्याइसकेको छ। वार्नरले एनपीएलमार्फत नेपाली क्रिकेट समर्थकसँग जोडिन पाउँदा आफू उत्साहित रहेको बताएका छन्।













