ललितपुरको धापाखेलमा पहिरोले ढल्यो सिंगै घर

news-details

ललितपुरको धापाखेलमा पहिरोले सिंगै घर ढलेको छ। सोमबार बिहान ६:३५ बजे ललितपुर महानगरपालिका-२४ धापाखेल स्थित सोबित कुमार थापाको साढे २ तले घर पहिरोले ढलेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले उक्त घर ढलेर खोलामा पुगेको छ।

पहिरोका कारण खोला समेत थुनिएको छ। सो ठाउँमा आइतबारदेखि पहिरो खस्न सुरू भएको थियो।

आइतबार दिउँसो १:४० बजे घरको भुइँतलासँगै जोडिएको ट्रसले बनेको किचन २० मिटर तल खसेको थियो।

थापाका तीन जनाको परिवार बस्दै आएका थिए। पहिरिन थालेपछि आइतबार नै उनीहरू आफन्तकोमा सरिसकेकाले मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए।

घटनास्थलमा प्रहरी प्रभाग धापाखेलबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ४ जनाको टोली खटिएको छ।

ललितपुर महानगर प्रहरीको टोली पनि घटनास्थलमा खटिएको छ। घर ढलेपछि त्यहाँ रहेका सामानहरू महानगर प्रहरीले सुरक्षित स्थानमा सारिरहेको छ।

सातदोबाटो प्रहरी वृत्तबाट मुचुल्का टोली खटिएको एसपी मिश्रले जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया