नेप्से सूचकमा सुधारः कारोबार घटेर पनि बजारमा हरियाली
- पुस ८, २०८१
- 0
लगातार तीन दिन कारोबार घटेको नेप्से चौथो दिन भने बढेको छ । गएको हप्ताको बुधबार, बिहीबार र यो हप्ताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार भने बढेको हो ।
आज २८.९१ अंकले बढेर नेप्से २६१२.२० अंकमा बन्द भएको छ । सूचकमा सुधार देखिएपनि आजको बजारमा कारोबार भने बढ्न सकेन । आइतबार ४ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ४३ करोडको मात्र कारोबार भएको हो ।
बढेको बजारमा पनि लगानीकर्ता ८ अर्ब कम कारोबार गरेका छन् । नेप्से सूचक बढेर बजारमा हरियाली छाउँदा म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेका छन् । यो दिन सबैभन्दा धेरै हाइड्रो समूहको सूचक बढेको देखिन्छ । यस समूहको सूचक ३.६५ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक क्रमशः १.१५ र १.६७ प्रतिशतले बढेका छन्।
अन्य समूहहरूको भने सामान्य वृद्धि देखिएको छ । म्युचुअल फण्डको उपसूचक भने आज एकैदिन ४.२१ प्रतिशतले घटेको हो ।
कम्पनीगत रुपमा आज कारोबारमा आएका ३२८ वटा कम्पनी मध्ये १९४ वटा कम्पनीको मूल्य बढेका छन् भने ४२ वटा कम्पनीको घटेको छ । बाँकी ८ वटा कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएन ।
आज बढ्ने कम्पनीहरूमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, बराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेभलपर जस्ता कम्पनीले ९ प्रतिशत माथिको वृद्धि गरेका छन् ।
घट्ने कम्पनीहरूमा आज मानुशी लघुवित्त अगाडि छ । यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो। यसका अलावा, कर्पोरेट डेभलपमेन्ट बैंक पनि ३.१६ प्रतिशतको गिरावटसँगै मूल्य घट्नेमा दोस्रो स्थानमा छ।
कारोबारका आधारमा आज पनि जानकी फाइनान्स अग्रस्थानमा छ । यो कम्पनीको १८ करोडको कारोबार हुँदा जोशी हाइड्रोको ११ करोडको कारोबार दोस्रो स्थानमा छ ।