हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवहाक इभी गाडी सडकबाट अन्दाजी एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
दुर्घटनामा इभी चालक बाराको कलैया उपमहानगर–२४ बस्ने २० वर्षीय अमिर अन्सारी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौंतर्फ पठाइएको छ भने गाडीमा सवार हेटौंडा–११ बस्ने २३ वर्षीया कल्पना तामाङ पनि गम्भीर घाइते भएकी छन् । उनलाई पनि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा हाल नाम, थर वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् उनलाई पनि थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका बाराको महागढीमाई नगरापालिका–११ बस्ने २१ वर्षीया बबियाकुमारी यादवको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका ४ जना पुरुषको सनाखत हुन सकेको छैन ।








