इराकमा एनआरएनएले ‘दशैं धमाका २०८३’ आयोजना गर्दै
- रोजगारमञ्च
- अशोज २२, २०८३
- 0
गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् इराकले नेपालीहरूको महान् पर्व विजया दशमीको अवसरमा ‘दशैं धमाका २०८३’ आयोजना गर्ने भएको छ।
प्रवासमा रहे पनि नेपाली संस्कृति, परम्परा र आपसी भाइचारालाई निरन्तरता दिने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रम २३ अक्टोबर २०२६, शुक्रबार कुर्दिस्तानको सुलेमानियास्थित ओस्कार हलमा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित गायक विश्व दोङको विशेष लाइभ सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै, स्थानीय नेपाली कलाकारहरूको सांस्कृतिक प्रस्तुति तथा डीजे मनोरञ्जनसमेत कार्यक्रमका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ।
प्रवासमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला गराई रातो टीका र जमरा लगाउँदै दशैंको शुभकामना आदान–प्रदान गर्ने, आपसी भेटघाट तथा नेपालीपनको अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
एनआरएनए इराकका अध्यक्ष विनोद श्रेष्ठले कुर्दिस्तानमा स्थापित विभिन्न संघ–संस्था, व्यवसायी, पत्रकार, कलाकार, खेलाडी तथा त्यहाँ कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
गायक विश्व दोङको इराक जाने समपुर्ण कागजी प्रकृया पुरा भइसकेको जनाइको छ । कार्यक्रमले प्रवासमा नेपाली संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा आयोजकको छ।
कार्यक्रमको संयोजकमा राजिब कुमार थिङ, सह–संयोजकमा निम दोर्जे शेर्पा तथा कलाकार संयोजकमा सरोज बयलकोटी रहेका छन्।
‘दशैं धमाका २०८३’ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इराकको आयोजनामा हुन लागेको हो।













