नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक
- भदौ ३१, २०८३
- 0
काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) को संयुक्त पहलमा आगामी मार्चमा सिरिज आयोजना हुन लागेको हो।
सिरिजका तीनवटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। पहिलो खेल मार्च २६, २०२७, दोस्रो खेल मार्च २८ र तेस्रो खेल मार्च ३० मा हुनेछ।
नेपाल र बंगलादेशबीच हुने यो सिरिज हालै नेपालमा आएको विनाशकारी बाढी तथा विपद्का क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा समर्पित गरिने भएको छ।
क्यानका अनुसार सिरिजलाई केवल क्रिकेट मैदानमा हुने प्रतिस्पर्धाका रूपमा सीमित नराखी नेपालको समग्र क्रिकेट विकासका लागि दीर्घकालीन सहकार्यको आधारका रूपमा अघि बढाइनेछ।
सहकार्यअन्तर्गत बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहको क्रिकेट तथा क्षमता अभिवृद्धिका कार्यक्रममा सहयोग गर्नेछ।
त्यस्तै, भविष्यमा नेपाल ‘ए’ टोलीको भ्रमण तथा द्विपक्षीय ‘ए’ टोलीका कार्यक्रमलाई समेत प्रोत्साहन गर्ने विषयमा सहकार्य हुने जनाइएको छ। यसबाट नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने तथा खेलाडी विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाढीको पीडाबीच क्रिकेटको मैदानमा नेपाल र बंगलादेशबीचको यो सिरिज खेलकुदसँगै सहकार्य र ऐक्यबद्धताको सन्देश दिने कार्यक्रमका रूपमा समेत अघि बढ्नेछ।













