भोटेकोशी बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

news-details

काठमाडौँ । अन्तर्राष्ट्रिय झापाली समाजले भोटेकोशी बाढीपछि प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

समाजको शनिबार बसेको आकस्मिक बैठकले विपद् प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले विपत्तिबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दुःखद घडीमा ऐक्यबद्धताका साथ साथ रहने प्रतिबद्धता समेत जनाएको छ।

विश्वभर छरिएर रहेका झापालीलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय झापाली समाजले यसअघि पनि नेपालमा आइपरेका प्राकृतिक विपत्तिका बेला सहयोग गर्दै आएको छ। समाज विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिमा समेत सक्रिय रहँदै आएको जनाएको छ।

समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईले विपत्तिको समयमा विदेशमा रहेका नेपाली तथा झापाली समुदायले समेत आफ्नो मातृभूमि र प्रभावित नागरिकप्रति जिम्मेवारीका साथ सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले राहत, उद्धार र पुनर्स्थापनाका लागि समाज निरन्तर सहयोग र सहकार्यमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया