कुवेत र इराकमा रहेका नेपालीलाई सुरक्षा सावधानी अपनाउन दूतावासको आग्रह

news-details

कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन विशेष आग्रह गरेको छ। दूतावासले आइतबार जारी गरेको सूचनामार्फत क्षेत्रीय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशन मात्र पालना गर्न र सामाजिक सञ्जालमार्फत अपुष्ट सामग्री नफैलाउन अनुरोध गरेको हो।

दूतावासले कुवेत तथा इराकमा रहेका सबै नेपालीलाई स्थानीय सरकारी निकायबाट जारी हुने सुरक्षा सूचना, समाचार तथा निर्देशनहरू निरन्तर पालना गर्न आग्रह गरेको छ। साथै कुनै पनि अपुष्ट वा भ्रामक सूचना सामाजिक सञ्जालमा साझा (सेयर/पोस्ट) नगर्न र सरकारले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न नहुन पनि सचेत गराएको छ।

सूचनामा आकाशमा देखिने कुनै पनि सैन्य गतिविधि, आक्रमण वा प्रतिरक्षासम्बन्धी दृश्य, तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न विशेष अनुरोध गरिएको छ। यस्तो कार्य कुवेत सरकारले जारी गरेको सुरक्षा व्यवस्थाविपरीत हुने भएकाले त्यसको पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ।

यस्तै, कुनै पनि अपरिचित वा शंकास्पद वस्तु नछुन, साइरन बजेमा बाहिर रहेका व्यक्तिले नजिकको सुरक्षित भवनभित्र प्रवेश गर्न तथा भवनभित्र रहेका व्यक्तिले सुरक्षित स्थानमै बस्न दूतावासले अनुरोध गरेको छ। साथै झ्याल वा बाल्कोनीबाट बाहिर हेर्नसमेत नहुने उल्लेख गरिएको छ।

दूतावासले कुवेतमा रहेका नेपाली नागरिकलाई कन्सुलर सेवा वा अन्य आपतकालीन सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा स्थानीय प्रहरी, दमकल तथा एम्बुलेन्स सेवाका लागि ११२ नम्बरमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ।

नेपाली राजदूतावास, कुवेतद्वारा जारी गरिएको उक्त सूचनाले हालको संवेदनशील परिस्थितिमा संयमित रहँदै आधिकारिक सूचना मात्र अनुसरण गर्न सबै नेपाली समुदायलाई अपिल गरेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया