आज कतारमा दुई वटा खुशी एकैपटक महसुस गरिंदैछ।कतारीहरु नेपाली पाहुना र अब आफ्नै देशको पारिवारिक सदस्यको रुपमा खगेन्द्र र रुद्रकलीलाई स्वागत गर्न आतुर देखिएका छन।आज बिहानैबाट प्रतीक्षामा देखिएका थिए आम कतारी र अलखोरबासी कतारीहरु।अर्को भनेको भोलि कतारले आफ्नो १४८ औं राष्ट्रिय स्वतन्त्रता दिवस मनाउँदै छ।
नेपालीहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको कतारलाई विसं २०८१ साल वैशाख ११ र १२ गते त्यहाँका अमीर शेख तमीम बिन हमद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने प्रतिबद्धता अनुरुप नेपाल बाट रुद्रकली र खगेन्द्र प्रसादलाई उपहारस्वरूप आज कतार पठाएको हो।नेपाल र कतार दुवै मुलुक साइटिस अभिसन्धिका पक्षधर मुलुक हुन् । वन तथा वातावरण मन्त्रालयका अनुसार साइटिस मुख्यालयले अनुमतिपत्र दिएपछिमात्र चितवनबाट खगेन्द्र र रुद्रकलीलाई दोहा पुर्याउन लागिएको हो
विसं २०८१ साल वैशाख ११ र १२ गते कतारका अमिर शेख तमीम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो । उनिहरु दुवै उत्तरी क्षेत्र अलखोरको एक ऐतिहासिक वातानूकुलित अलखोर चिडियाखानामा रहने छन्।
नेपाल सरकारका तर्फबाट कतारलाई उपहारस्वरूप ६ वर्षको भाले हात्ती खगेन्द्रप्रसाद र ७ वर्षकै पोथी हात्ती रुद्रकली पठाइएको हो।आजै दुवै हात्तीलाई सयपत्रीको माला र अबिरले बिदाइ गरिएको थियो भने सो हात्ती हस्तान्तरण कार्यक्रममा सरकारी अधिकारी, संरक्षणकर्मी र स्थानीयको उपस्थिति रहेको थियो, र यसले नेपाल–कतार सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ।
आफूले पालेका जनावर उपहार दिँदा मुटु टुक्रिएजस्तो भएको छ,’ वन मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले भने, ‘छोरी अन्माएजस्तै भयो ।तथापि उनले खगेन्द्र र रुद्रकली दुवैको नयाँ घरको बास सुखद बनोस् र सन्तान वृद्धि होस् भनेर शुभकामना दिएर विदाइ गरेका थिए।
मेरो आदरणीय गुरु एवं पुर्व राजदूत तथा हाल परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले सन् २०२४ अप्रिलमा कतारका अमीरको राजकीय नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले हात्ती उपहार प्रदान गर्ने निर्णय गरेकामा अहिले त्यसको कार्यान्वयन गरिएको बताए ।अहिले हामी यहाँबाट बिदाइ गर्दैछौं,’ उनले भने, ‘बिहीबार कतारको राष्ट्रिय दिवसका दिन हात्तीले कतारी जमिन छुनेछन् ।’ नेपालले सन् १९७७ जनवरी २१ बाट कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । उक्त सम्बन्ध स्थापना भएको अर्को वर्ष ५० वर्ष पूरा हुँदैछ । ‘कूटनीतिक सम्बन्ध ५० वर्ष पुग्ने बेला उपहारस्वरूप हात्ती प्रदान गरिएको छ,’ उनले भने, ‘यसले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।’
२०७६ माघमा खगेन्द्रमली पोस्टमा कोशीकलीबाट जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएको हो। खगेन्द्रमली पोस्टमा जन्मिएकोले उसको नाम पनि खगेन्द्रप्रसाद नै राखिएको हो ।खगेन्द्रप्रसादकी आमा कोशीकलीलाई प्रशिक्षक हात्तीसमेत भन्ने गरिन्छ । छावाहरूलाई तालिम दिन कोशीकलीलाई प्रयोग गर्ने गरिन्छ । हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने पर्यटकहरूलाई फूलको माला लगाएर आर्शिवाद दिने काम खगेन्द्रप्रसादले गर्दै आएको थियो ।
यसैगरी हात्ती प्रजनन केन्द्रमा २०७५ सालमा पूजाकलीको कोखबाट जन्मिएकी रुद्रकली जन्मिएको हो । पूजाकलीको रुद्रकली जम्मा ३ महिनाको हुँदा नै मृत्यु भएको थियो। जन्मिएको ३ महिनामै आमाको मृत्यु भएपछि टुहुरी भइन् ।उनलाई आमाको अभावमा असहज नहोस् भनेर दुई माउते राखिएको थियो। विजयदास थारु र रामदत्त चौधरीले उनलाई निकै माया गरेर हुर्काएका हुन् ।
यी दुवै हात्तीको बाबु जंगली हात्ती ‘रोनाल्डो’ रहेको निकुञ्जले पुष्टि गरेको छ । खगेन्द्र र रुद्रकली उस्तै उमेरका छन् । रुद्रकलीले सानै उमेरमा धेरै कुरा सिकिसकेकी उनका माउतेहरु बताउँछन् । भन्छन्, ‘उनी निकै निडर स्वभावकी छिन्, गैँडा र बाघसँग पनि डराउँदिनन् ।’ साथै, उनी निकै इमान्दार रहेको र भनेको मान्ने माउते बताउँछन् ।
हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार जानेछन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।हात्तीलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धमा बुझ्न कतारी अधिकारी पनि नेपाल आइसकेका छन् । नेपाली अधिकारीहरूले पनि खगेन्द्र र रुद्रकलीलाई राखिने दोहा चिडियाखाना अवलोकन गरिसकेका छन् ।
कतारबाट आउने कतार एयरवेजको चार्टर्ड विमानमा खोरसहित हात्तीहरूलाई चढाएर कतार पठाइएको छ।
नेपालले खगेन्द्र प्रसाद र रुद्रकली जस्ता हात्तीहरू कतारलाई उपहारस्वरूप प्रदान गर्दा यसबाट नेपालले कूटनीतिक सम्बन्ध सुदृढीकरणमा महत्त्वपूर्ण आयाम थप्न सक्छ। खगेन्द्र र रुद्रकली राज्य–स्तरीय मित्रताको प्रतीक बन्न सक्छन्।हात्ती उपहार दिनुले नेपाल र कतारबीच हात्तीजस्तै बलियो सम्बन्ध स्थापित हुनेछ।
अब दुबै हात्ती कतार पुगि पछि नेपालले कतार संग आर्थिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा बहुआयामिक लाभ लिन सक्ने प्रचुर सम्भावना देखिएको छ।
खगेन्द्र प्रसाद र रुद्रकली लाई नेपालले आफ्नो मित्रराष्ट कतारलाई उपहारस्वरूप पस्किए पश्चात आगामी दिनमा नेपाल–कतार सम्बन्धमा आपसी विश्वास, सद्भाव र सम्मान अझ बलियो हुन सक्छ।यस कार्यले द्विपक्षीय सहकार्य (श्रम, लगानी, पर्यटन) मा सकारात्मक वातावरण तयार हुन्छ।जसले अन्तर्राष्ट्रिय पहिचान र ‘सफ्ट पावर’ निर्माण गर्नमा अहम भूमिका खेल्ने छ।हात्ती नेपालका सांस्कृतिक र जैविक सम्पदा का प्रतीक हुन् भन्ने सन्देश पनि मज्जाले प्रवाह गर्नेछ।यसैगरी यस्तो उपहारले नेपाललाई प्रकृति–मैत्री, उदार र सांस्कृतिक रूपमा समृद्ध राष्ट्रका रूपमा चिनाउँछ।खगेन्द्र प्रसाद र रुद्रकलीको अलखोरको चिडियाखानामा उपस्थितिले कतारका चिडियाखानारसंरक्षण केन्द्रमा नेपाल चिनाउने स्थायी सांस्कृतिक उपस्थिति बनाउँछ।
“नेपालबाट आएका हात्ती” भन्ने कथा मार्फत नेपाल पर्यटनको प्रचार हुन्छ।जसबाट नेपालले बलियो आधार निर्माण गरि कतारी पर्यटकलाई नेपाल भित्र्याउन ठुलो सहयोग लिन मद्दत पुग्नेछ।
आगामी दिनहरुमा कतारी तथा अरबी मुलुकका पर्यटकहरूमा चितवन, बर्दिया जस्ता राष्ट्रिय निकुञ्जप्रति चासो बढ्न सक्छ।
फिल्म, डकुमेन्ट्री वा प्रदर्शनीमार्फत पर्यटन ब्रान्डिङ सम्भव बढ्नेछ।नेपालले कतार संग सहकार्य गर्दै वन्यजन्तु संरक्षण र प्राविधिक सहकार्य गर्न सक्नेछ।यसैगरी हात्ती संरक्षण, पशु–चिकित्सा, अनुसन्धान र आधुनिक चिडियाखाना व्यवस्थापनमा नेपाल कतार बिच प्राविधिक तथा वित्तीय सहकार्य बढ्न सक्छ।नेपालका संरक्षणकर्मी, पशु चिकित्सक र प्रशिक्षकका लागि तालिम र आदान–प्रदान का अवसर खुल्न सक्छन्।
कतारी लगानीकर्ताबाट पर्यटन, पूर्वाधार, कृषि र नवीकरणीय ऊर्जामा लगानी आकर्षित हुन सक्छ।
कतारका परोपकारी संस्था र फाउन्डेसनमार्फत संरक्षण र सामुदायिक विकास परियोजना मा सहयोग पाउन सकिन्छ।
अर्को महत्त्वपूर्ण विषय र पाटो भनेको कतारमा कार्यरत नेपाली श्रमिकहरूप्रति सकारात्मक सन्देश जान्छ।खगेन्द्र र रुद्रकलीको कतार आगमनले जनस्तरमा नेपालप्रति सहानुभूति र अपनत्व बढ्छ, जसले श्रमिक कल्याण र सहयोगी नीतिमा पनि प्रभाव पार्न सक्छ।समग्रमा भन्नू पर्दा खगेन्द्र प्रसाद र रुद्रकली जस्ता हात्ती उपहार दिनु केवल प्राणी हस्तान्तरण मात्र होइन,यो नेपालको कूटनीतिक दूरदृष्टि, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय मैत्री को सशक्त अभिव्यक्ति हो।
सही कूटनीतिक र रणनीतिक उपयोग गर्न सकेमा नेपालले यसबाट दीर्घकालीन राष्ट्रिय लाभ लिन सक्छ।यस्ता दर्जनौं विषय छन जस मार्फत नेपालले कतार संग सहकार्य गर्न सक्ने सहयोग आदानप्रदान गर्न सक्ने प्रचुर सम्भावना छ।ढिलै भएपनि खगेन्द्र र रुद्रकली यस कार्यको प्रतिक बनेर इतिहास रच्न सफल भएका छन।
खगेन्द्र र रुद्रकली कतार पुगेपछि उनीहरूको भूमिका केवल चिडियाखानामा राखिएका जनावरको मात्र हुनेछैन । उनीहरू कूटनीति, संस्कृति, शिक्षा र संरक्षणका क्षेत्रमा बहुआयामिक प्रतीकका रूपमा उभिन सक्छन्।मलाई लाग्छ यी हात्तीहरू दुई राष्ट्रबीचको मैत्री, विश्वास र सद्भाव को प्रत्यक्ष प्रतीक बन्नेछन्।
यसैगरी राज्य–स्तरीय भेटघाट, राष्ट्रिय दिवस वा विशेष अवसरमा “नेपालको उपहार” को रूपमा उनीहरूको उल्लेख हुन सक्छ।अब हामी कतारबासी पनि समय समयमा आफ्नो देशका पाहुनालाई भेट्न जाँदा खुशी महसुस गर्न पाउनेछौं।खगेन्द्र र रुद्रकली कतारका नागरिक र पर्यटकहरूका लागि नेपालको संस्कृति र हिमाली पहिचान चिनाउने माध्यम बन्छन्।कतारी समाजमा दुवै नेपालका यी दुवै हात्ती शिक्षा र जनचेतनाको स्रोत र यहाँका बालबालिका तथा युवालाई
वन्यजन्तु संरक्षण, जैविक विविधता र प्रकृति–मैत्री जीवनशैली बारे सिकाउने शैक्षिक माध्यम बन्न सक्छन्।
विद्यालय भ्रमण, जानकारी केन्द्र र प्रदर्शनीमा नेपाल–कथा सहितको शैक्षिक सामग्री समावेश गर्न सकिन्छ। अन्ततः यसले नेपाल–कतारबीच संरक्षण प्रविधि र अनुभव आदान–प्रदान को ढोका खोलेको छ।खगेन्द्र र रुद्रकली कतारमा जीवित कूटनीतिक दूत का रूपमा उभिने छन। उनीहरू नेपालको पहिचान, मित्रताको सन्देश र संरक्षणको दर्शन बोकेका मौन प्रतिनिधि हुन्। दुवै हात्तीको नयाँ घरमा सुखद् बास र सन्तान वृद्धि होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।
(लेखक प्रोफेसर मोहम्मद रमजान अली मियाँ राष्ट्रिय मानवअधिकार आयोग कतारका नेपाली संयोजक तथा कानूनी परामर्शदाता हुन ।)








