ब्याक गियरमा ३५ वर्ष
- शम्भु सुस्केरा
- अशोज १३, २०८२
- 0
नेपालका अल्ट्रा धावक स्वर्गीय सञ्जय पण्डितले ५ हजार ८ सय ९८ मिटर उचाइ रहेको अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारोको उल्टो आरोहण गरेर किर्तिमानी कायम गरेका थिए ।
नेपालका राजनीतिक दलहरुले सत्तारोहणमा ३५ वर्ष उल्टो गतिमा यात्रा गरेर विश्व रेकर्ड कायम गरे । नेपालका नव पुस्ताले ३५ वर्षको उल्टो यात्रा ३५ घण्टामा समापन गरिदिए र सुल्टो बाटोमा हिँड्न कडा चेतावनी दिए ।
२०४६ तिर बंगलादेशको प्रतिव्यक्ति आय करिव ३ सय डलर थियो । चाइनाको भन्दा भारतको केही बढी भए पनि दुवैको ४ सय भन्दा कम थियो । श्रीलंकाको ४ सय ६३ र भुटानको दक्षिण एशियामै सबैभन्दा बढी ५ सय ४२ थियो । त्यसबेला नेपालको करिब २ सय थियो ।
पञ्चायती सत्ताले राजनीतिक स्वतन्त्रता, सुशासन र विकास दिएन । दक्षिण एसियाका अरु देशभन्दा नेपाल कमजोर भयो भनेर काङ्ग्रेस र कम्युनिष्टहरुको तीस वर्ष सकसपूर्ण विद्रोह गरे । फलस्वरुप राजनीतिक स्वतन्त्रता मात्र पाएनन् सत्ता र शक्ति दुवै पाए ।
उनीहरुले २०४७ मा बनाएको संविधानले राजालाई संविधानको धारामा बाँधे । २०६२/०६३ को आन्दोलनले बाँधिएको त्यही राजसंस्थाको डोरी खोलेर जंगलतिर धपाइदिए र आफूहरु राजा बने ।
माओवादी विद्रोहको बलमा एकथान राजा हटाइए पनि सरकार र दल दुवै नेतृत्वमा देखिने गरी राजतन्त्र स्थापित गरे । राजाले आफ्नो जीवन रहँदै छोरालाई गद्दी हस्तान्तरण गर्थे तर यिनीहरु आर्यघाटबाट मात्रै हुने नेतृत्व हस्तान्तरण गर्थे ।
वि.सं.२०५३ सालमा यो स्तम्भकार झापा सुरुङ्गाको कनकाई क्याम्पसमा प्लस टु पढ्दा प्रथम पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवा स्तम्भकारको छोरो प्लस टु पढ्दै गर्दा केपी ओलीको हातबाट छैटौँ पटक प्रधानमन्त्री पद लिएर सातौँ पटकका लागि तयारी गर्न उक्सिँदै थिए । र उनका कार्यकर्ता भनिरहेका थिए– क्याबात देउवा दाइ ।
माओवादी विद्रोहको बलमा एकथान राजा हटाइए पनि सरकार र दल दुवै नेतृत्वमा देखिने गरी राजतन्त्र स्थापित गरे । राजाले आफ्नो जीवन रहँदै छोरालाई गद्दी हस्तान्तरण गर्थे तर यिनीहरु आर्यघाटबाट मात्रै हुने नेतृत्व हस्तान्तरण गर्थे ।
सधैँ यिनै, पालो गरिगरी केका लागि ? यो बृद्धतन्त्र र दलगत राजतन्त्र कसका लागि ?
वर्तमानमा बंगालादेशको प्रतिव्यक्ति वार्षिक आय १८ सय २० डलर छ । भारतमा २८ सय ७८, श्रीलंकामा ४२ सय ७, चाइनामा १३ हजार ८ सय ७३, भुटानमा ४४ सय ९५ पुग्दा नेपालको बल्ल १५ सय १७ पुगेको छ । श्रीलंका, भुटान र चिनको कुरा नगरौँ बंगालादेश र भारतको दाँजोमा कहिले पुग्छ नेपाल ?
यिनले आफू र आफ्ना मात्र पोसेर देशलाई दुनियाको सबैभन्दा गरिब बनाए भन्ने आरोपको पुष्टी भदौ २३ र २४ ले गरिदियो । किसानले भकारीमा धान राखेझै नेताले लुटको धन थुपारेको संसारले देख्यो ।
हरेक वर्ष झैँ सन् २०२४ मा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनले भन्यो १८० देशमा नेपाल १०७ औँ स्थानमा छ । १०० अंकमा सबैभन्दा कम भ्रष्टाचार हुने डेनमार्कले ९० अङ्क पाउँदा नेपालले सुशासनमा ३४ अङ्क मात्र पाएको छ । प्रतिवेदनका अनुसार चिन, भारत, मालदिभ्स, भुटानमा भन्दा नेपालमा बढी भ्रष्टाचार हुने गरेको छ ।
हरेक नेपालीलाई एकबिघा जग्गा र एक हल गोरु दिइनेछ भनेर २०४७ सालमा भाषण गरेको आवाज अझै स्तम्भकारको कानमा गुन्जिरहेको छ । त्यसको ८ वर्षमा सरकारी सेवा प्रवेश गरी २२ वर्ष बिताएर फर्किँदा समेत न आफ्नो कमाइले एकबिघा जग्गा र एकहल गोरु किन्न पुग्यो न भन्नेहरुले दिए । पेन्शनले परिवार पाल्न असम्भव प्राय छ ।
हरेक नेपालीलाई एकबिघा जग्गा र एक हल गोरु दिइनेछ भनेर २०४७ सालमा भाषण गरेको आवाज अझै स्तम्भकारको कानमा गुन्जिरहेको छ । त्यसको ८ वर्षमा सरकारी सेवा प्रवेश गरी २२ वर्ष बिताएर फर्किँदा समेत न आफ्नो कमाइले एकबिघा जग्गा र एकहल गोरु किन्न पुग्यो न भन्नेहरुले दिए । पेन्शनले परिवार पाल्न असम्भव प्राय छ ।
वस्तुको उत्पादन बृद्धि गर्न र उन्नत सार्वजनिक सेवा प्रवाह गर्न पढेका, दक्ष युवालाई देशमा राख्छ र विदेशबाट पनि झिकाउँछ दुनिया । तर हाम्राले पढेलेखेका र क्षमतावान युवालाई देशमा बस्नै दिएनन् अर्कैको देशमा हली बस्न बाध्य पारिरहे । आर्थिक वर्ष ०८१/०८२ मा विदेश पढ्न जाने विद्यार्थीसँग ३ खर्ब ३९ अर्ब रकम विदेसियो, जो ०८२÷०८३ को नेपालको बजेटको १७.८४ प्रतिशत रकम हो । यो हरेक वर्ष गइरहेको छ ।
युवाहरू वैदेशिक रोजगारीमा नजाने हो भने हावापानी छल्ने सामान्य घर पनि हुने थिएन लाखौँ नेपालीसँग । भ्रष्टहरू, सफल व्यावसायी र आइएनजिओकर्मी बाहेक अरुसँग एउटा घर र दुईछाककै जोहो कठिन हुने थियो । अझै पनि २५ लाख नेपाली खाद्य सुरक्षाभन्दा बाहिर छन् ।
हरेक राजनीतिक व्यवस्था परिवर्तनपछि होस् वा सरकार परिवर्तनपछि अगिल्ला सरकारलेभन्दा धेरै के गर्न सकिन्छ भनेर सोच्छन् असल सरकारहरू । लालु यादवको समयमा भारतको सबैभन्दा बदनाम उदाहरण बोकेर बाँचेको बिहार नितिश कुमारको उदयपछि सकारात्मक उदाहरण बन्यो ।
संसारका विकसित र विकासशील देशले आफ्ना उत्पादन संसारभरि बेचेका छन् । तर अथाह सम्भावना भएर पनि भारत, चिन, युरोप र अमेरिकाको एकतर्फी बजार बनेको छ नेपाल । निर्यात गर्ने हैसियतमा पुग्नै खोजेन, चाहेन ।
नेपालमै बजार पाएका कृषि उपज भारतीय बजारसँग टिक्न नसकेर आजित छन् । छिमेकी र मित्र राष्ट्रको बजार सम्भावना भएका छुर्पी, गलैँचा, अलैँची, चिया लगायत सयौँ उत्पादनको माग भएर पनि सरकारको उदासिनताले कठिनाई झेलिरहेका छन् । बजारको सहज व्यवस्थापन नहुँदा टाट पल्टेर पलायन भएका छन् ।
देशका मुख्य उद्योग कारखाना सबै इतिहास बने । गोरखकाली टायर, भृकुटी कागज कारखाना, विरानगर जुट मिल यसका केही उदाहरण हुन भने उदयपुर र हेटौँडा सिमेण्ट कारखाना इतिहास बन्ने लयमा छन् । जनकपुर चुरोट कारखाना पनि थियो भनेर धेरैलाई थाहा छैन ।
अबका बुवाआमा कहिल्यै आफ्ना छोराबुहारी र नातिनातिनासँग बस्न पाउने छैनन् । परिवारको सम्बन्ध र भावना खण्डित भएको छ । लाखौँ बाआमा मर्दा दागबत्ती दिने छोरा देशमा छैनन् । बाआमाको मरेको लास एकहप्ता चिस्यानमा राखेर उसलाई कुर्न बाध्य छ समाज ।
देशमै केही गर्छु भनेर लगानी गर्ने हजारौँ युवाहरू सरकारको असहयोग र कुशासनले टाट पल्टेर रगतको आँसु बगाउँदै विदेश पलायन भइरहेका छन् ।
नयाँ उद्योग खोल्ने प्रक्रियामा हैरानी र लेनदेनबाटै थाकिसकेको व्यक्ति उत्पादन र बजारसम्म आइपुगेछ भने कर्मचारी तन्त्र कर नतिर्न र कर छल्न प्रेरित गर्छ, अनि आफू मोटाउँछ ।
सरकारी सेवा भनेको राजनीतिक अखडा र घुसखोरीको उद्योग हो भन्ने पर्याय बनाएका छन् । यसबाट नीजि सेवा समेत प्रभावित बन्दै गएको छ ।
सबैभन्दा चिन्ताजनक र सामाजिक खतरा निम्तिएको र भ्रष्टाचारको मूल जड बनेको विषय हो “नैतिकता” । जसरी होस् सम्पति कमाएको व्यक्ति सम्मानित हुने संस्कार सर्वत्र विकास गरिएको छ ।
अबका बुवाआमा कहिल्यै आफ्ना छोराबुहारी र नातिनातिनासँग बस्न पाउने छैनन् । परिवारको सम्बन्ध र भावना खण्डित भएको छ । लाखौँ बाआमा मर्दा दागबत्ती दिने छोरा देशमा छैनन् । बाआमाको मरेको लास एकहप्ता चिस्यानमा राखेर उसलाई कुर्न बाध्य छ समाज ।
देशप्रतिको भरोशा र सम्भावनाको हत्या जघन्य अपराध हो । युवाहरुमा त्यो मरेको आश व्यँुताउन कुनै आँटिलो र गतिलो शक्तिले देश नचलाए असम्भव प्राय भएको छ ।
सुरक्षा सेवामा होस् वा अन्य उत्पादन र सेवाको क्षेत्रमा १८ वर्ष उमेरको युवा धेरै नतिजा दिनसक्ने समुहकोरुपमा नेपाल लगायत संसारभर कानुनमै समेटिएको छ । उमेर २८–३० सम्म आइपुग्दा अध्ययन पुरा गर्छ, कुनै न कुनै रोजगारी गरेर कमाउन थाल्छ, घर–व्यवहारको सहारा बन्छ, विवाह गरेर व्यवहार सिक्छ, संघसंस्था कार्यालय सञ्चालनदेखि टिमवर्कमा निपुणता हासिल गरिसकेको हुन्छ । कानुनतः हरक्षेत्रमा अवसर पाएको उमेर समुह राजनीतिक दलहरुको विश्वासमा कहिल्यै परेन ।
एकदिन यसैको हिसाव खोजिनु थियो त्यो ०८२ भदौ २३ र २४ ले खोज्यो र कहिल्यै भूल्न नसक्ने गरी बालबालिकाको रगतले इतिहास लेख्यो ।
देशका प्रधानमन्त्री हेलिकोप्टर चढेर भागे पूर्व प्रधानमन्त्रीले सबक सिके ।
कुनै दलको सदस्य नबनी गरिखानै कठिन बनाइदिए । सार्वजनिक सेवालाई झण्झटिलो, तलदेखि माथिसम्म सेटिङ् नगरी सेवा लिन नसकिने बनाए र त्यही सेटिङको सहजिकरण गरेर आफूले पैसा कमाए अनि जनतामा भ्रम छरे समाजसेवाको नाममा ।
हरेक उद्योगी व्यावसायीलाई कुनै न कुनै दल र गुटको झोला बोक्न बाध्य बनाए । झोला नबोके कुनै अफ्ठ्यारो सिर्जना गरेर पक्राउ गर्ने, मुद्दा लगाउने त्यसपछि ठूलो रकमको बार्गेनिङ गरेर छुटाउने र आफ्नो दास बनाउने । तिनै व्यापारीकहाँ आफ्नो कालोधन साझेदारी गर्न दिने र जीवनभर अप्ठ्यारोमा पारिरहने ।
अधिकांश मोफसलका निम्न र मध्यम वर्गका नेता चुनाव जितेर खाली हात काठमाडौँ छिरे र महल ठड्याए । एउटा नेपालीले जीवनभर दुःख गर्दा सम्भव नभएको तरक्की यिनले कसरी गरे ?
दललाई चन्दा दिएपछि तस्करी र कर छली दुवै सिकाए । परिणामस्वरुप दलसँगै उद्योगी व्यावासायीहरू अलोकप्रिय र बद्नाम बन्दै गए । यसको ज्वलन्त उदाहरण हुन् भाटभटेनीका सञ्चालक मिन बहादुर गुरुङ ।
सूचना प्रविधि घातक भयो यिनका लागि । प्रत्येकको हातमा भएको स्मार्ट फोन र त्यसमा सामाजिक सञ्जालको पहुँच र संसारभर छरिएका नेपालीका कारण संसारको सबै सुचना सबै सामु सहज बन्यो र विकसित देशसँग नेपाललाई तुलना गर्न पाए ।
यही तथ्यले राजनीतिक दलप्रति घृणा उत्पन्न गराइदियो । यसैलाई रोक्न सकिन्छ की भनेर सामाजिक सञ्जाल बन्द गर्न खोज्दा यो हाल निम्तियो ।
आक्रोस अझ बढ्ने र नोक्सान झन धेरै हुनसक्छ ।
अधिकांश मोफसलका निम्न र मध्यम वर्गका नेता चुनाव जितेर खाली हात काठमाडौँ छिरे र महल ठड्याए । एउटा नेपालीले जीवनभर दुःख गर्दा सम्भव नभएको तरक्की यिनले कसरी गरे ?
मन्त्री बन्नासाथ राजशी ठाँटमा जीवन बिताउनुपर्ने, सर्वहाराका नेतालाई ६ महिनामै महल चाहिने, विदेशी ऋणबाट करोडको गाडि चढ्नुपर्ने विषय दलभित्रै उठेको हो तर दबाइयो ।
यिनै असन्तुष्टी बोकेर सडकमा आएका, शिक्षकले समेत एक थप्पड हान्न नपाउने विद्यार्थीलाई आफ्नो सत्ता जोगाउन छाति र टाउको ताकिताकी ६ दर्जनको हत्या गरे । तिनका आमाबाका नाममा एक शब्द सहानुभूति समेत राख्नुपर्छ भन्ने ठानेनन् । २ हप्ताअघि सेनाको हेलीकोप्टर चढेर ज्यान बचाउन भागेको हुँ भन्ने बिर्सेर डुक्रिन थालेका छन् ।
०६२/०६३ को आन्दोलनपछि सत्ताबाट हटाइएका राजा ज्ञानेन्द्रले राजनीतिका बारेमा एक शब्द बोले भने झम्टिन पुग्ने दलहरु आफूले हत्या गरेका बालबच्चाको सडकको रगत सुक्न नपाइ त्यही बालकको दलिन छेउमा उभिएर आन्दोलनकारीलाई आतंककारी भन्दैछन् । न भरियालाई मालिकप्रति ग्लानी छ, न मालिकलाई आफैँप्रति सरम छ । यसको आक्रोस अब के हुन्छ समयले बताउला ।
छानविन समितिले काम थाल्नुभन्दा अगि नै दलको नेता कार्यकर्ताको जाहेरीका आधारमा आन्दोलनकारी खोजीखोजी समात्दैछ प्रहरी । ज्यानमारालाई सलाम गर्दै आन्दोलनमा ज्यान जोगाएर बसेकाहरूलाई पक्राउ गर्नु कति प्राकृतिक र न्यायसंगत छ ।
कुनै दिन आशलाग्दा तन्नेरी नेताहरू तिनै भ्रष्ट नेताका हस् हजुर बनेर भ्रष्टाचारलाई समर्थन गरिरहे । कि त राम्राले अवसर पाएनन् कि अवसर पाएर पनि गरेनन् की शक्तिमा पुगेर पनि नेताको चाकडीमै बिताए । यस प्रवृत्तिले बचेखुचेको आश मरेपछि निराशाको चरम अवस्था पार गरेर प्रहार भएको हो । यो तथ्य स्वीकारदैनन् उनीहरू ।
आफ्नो कमजोरी स्वीकारेर सद्भाव देखाउनुको साटो बदलाभाव बोकेर निस्किनु आफैँमा खतरनाक बिज हो । अझै उनीहरु आफैँ अकल्पनीय विद्रोह र क्षतिको सम्भावना खोजिरहेका छन् ।
खासमा भदौ २३ गते आन्दोलनकारीले क्षति गरेका थिएनन् । वयस्क र अभिभावकहरू पनि आफ्ना बालबच्चाको विद्रोहको रमिते बनेर हेरिरहेका थिए । तर झोलामा किताब बोकेका, युनिफर्म लगाएका साना निहत्था नानीहरुको एकचिहान बनाइएपछि २४ गते सबै निस्किएका हुन् । आन्दोलनकारीले मात्र होइन आफ्नै दलका वा अर्को दलका कार्यकर्ताले मौका छोपी रीस उठेका आफ्नै मान्छेको घर र स्थानीय तह पनि जलाए ।
आफ्नै आक्रोसित जनताबाट आफ्नै देशका सम्पदा बचाउन नसकेर भाग्नेहरू लाज पचाएर भन्दैछन् घुसपैठ भयो भनेर । अगिल्लो दिन जेनजी एक्लैले गरेको आन्दोलन भोलिपल्ट रीस, बद्ला र बदनाममा पोखियो तर उनीहरु यो कुरा पचाउँदैनन् । गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ हातमा जे छ लिएर उठ भनेर उनैले गीत लेखे गाए र त्यही भयो आज । यसको जस्अपजस यिनले नै लिनुपर्छ ।
अधिकांश प्रहरी कार्यालय जलाउनेहरू लागुऔषध प्रयोगकर्ता, विभिन्न मुद्दामा प्रहरीबाट कारबाहीमा परेका, अन्यायमा परेका, न्याय नपाएका सबैखाले युवा लिए । वडाध्यक्ष र मेयरसँग रीस उठेका, चाहेको काम नगरिदिएका, राहतका कृषि सामग्री वितरणमा पक्षपात महसुश गरेका सबै निस्किएका थिए हथौडा र मट्टितेल बोकेर ।
नजिकैको सैनिकले सिँहदरबार जलाएको देखेन भन्ने आरोप छ । उसले देखेको भए शासक भाग्ने थिएन । शासकसँग सुरक्षा संयन्त्रको साथ रहुन्जेल झन ठूलो जनधनको क्षति हुने थियो र परिवर्तन अझ पछि धकेलिने थियो । भ्रष्ट नेताबाट आजित भएको सैनिक यिनको बहिर्गमन चाहन्थ्यो सायद । उता निरिह र एक्लो बनेको प्रहरीले आत्मसमर्पण गरेर आफ्ना कार्यालय र सामाग्री बचाउने नीति लियो तर सकेन । बरु आफ्ना प्रहरी नै गुमायो ।
आफ्नै आक्रोसित जनताबाट आफ्नै देशका सम्पदा बचाउन नसकेर भाग्नेहरू लाज पचाएर भन्दैछन् घुसपैठ भयो भनेर । अगिल्लो दिन जेनजी एक्लैले गरेको आन्दोलन भोलिपल्ट रीस, बद्ला र बदनाममा पोखियो तर उनीहरु यो कुरा पचाउँदैनन् । गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ हातमा जे छ लिएर उठ भनेर उनैले गीत लेखे गाए र त्यही भयो आज । यसको जस्अपजस यिनले नै लिनुपर्छ ।
विदेशी घुसपैठ भयो भन्नेहरुले आफूतिरै फर्केका आफ्ना ३ ओटा औँला हेर्नुहोला । २०४७ मा भारतीय नेता काठमाडौँ आएर भाषण गर्नु घुषपैठ थिएन ? १० वर्षे जनयुद्ध भारतकै संरक्षणमा भयो । १२ बुँदे सहमतिको निर्देशक भारतनै थियो त्यो घुषपैठ थिएन ? आफूले गर्दा त्यही ठिक आफ्ना बिरुद्ध हुँदा बेठिक हुनसक्छ ?
अन्त्यमा,
किताबको गह्रुङ्गो झोला बोकेर स्कुलड्रेसमा सहभागि बालबालिकालाई ताकीताकी छातिमा हान्नेलाई आजै थुनौँ । निर्ममतापूर्वक प्रहरी मार्नेलाई पनि समातौँ ।
सरकारी सम्पति जल्नुमा यी नेता र दलको कुशासनको परिणाम हो, आफ्नो कार्यालयको सुरक्षा गर्न सकेनन्, यिनैबाट सम्पति भराऔँ ।
थोरै नेताको घरबाट किसानले भकारीमा अन्न राखेझैँ पैसा राखेको प्रमाण भेटियो । सबैको घर चेक गरेको भए सबैको घरमा भेटिन्थ्यो । विनासर्त सबै नेता, शासक, प्रशासकमाथि आजै अनुसन्धान थालौँ । महङ्गो जग्गा र महलको स्रोत मागौँ । तिनलाई जेल हाल्न र सम्पति जफत गर्न धेरै तथ्य र प्रमाण चाहिँदैन यत्ति काफी छ । तिनका परिवारसँग बस्ने घर रहेनछ भने मेयर आवास कार्यक्रम अन्तर्गत घर टहरा बनाएर राखौँ, सडकमा नछाडौँ । तिनकै विलासी जीवनको भोकले शासक र प्रशासक भ्रष्ट भएका हुन् अलेली सजाय तिनले पनि भोग्नुपर्छ ।
कार्की सरकारले बिर्सिनु हुँदैन बालबालिकाको रगतको अक्षरले सपथ खाएको हो यसरी अलमलिनु ठिक होइन ।
संसारको उदाहरण चाहिँदैन नेपालकै हेरौँ । २०४७ मा बहुदल आएको पञ्चायती संविधानले होइन पञ्चायत बिरुद्धको क्रान्तिले हो । ०६३ मा राजा फालेको २०४७ को संविधानले होइन रगतले हो । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव र प्रदेशसभा खारेज गर्न तिनले लेखेको संविधान पढेर सम्भव छैन, नयाँ संविधान लेखेर देशलाई पढ्न दिनुहोला । जेन्जीले छाडेको अपुरो आन्दोलन पूर्ण गर्ने कामका लागि तपाईहरु त्यहाँ जानुभएको हो, चुनाव जितेर होइन । निर्मम सत्य के हो भने संसदीय चुनाव मात्र गराउन तपाईहरु चाहिँदैन ओली देउवा काफी छन् । ३५ वर्ष ब्याक गियरमा कुधेको देशलाई अगाडितिर कुधाउने कामको थालनी गर्ने अवसर र इतिहास बनाउनुहोला नत्र ऐतिहासिक स्रापको भागिदार तपाईहरु पनि हुनुहुनेछ ।















