देश फेरि एकपटक जटिल मोडमा आइपुगेको छ । भदौ २३ र २४ गतेको आन्दोलनले भ्रष्टाचार अन्त्य, सुशासन र न्यायको माग गर्दै जनतालाई सडकमा ल्यायो । यो आन्दोलनमा असंख्य युवाहरूले आफ्नो भोलिको सपना बिर्सिएर देशको भविष्यको लागि हात उठाए । तर दुर्भाग्यवश, केही अवसरवादी समूहको घुसपैठले आन्दोलनलाई हिंसाको बाटो तिर धकेल्यो । सार्वजनिक सम्पत्ति जलाइए, लुटपाट गरियो, अनि राज्यले त्यसको जवाफमा गोली चलायो ।
त्यसै क्षण देशले गुमायो ७३ जना छोराछोरीहरू । ती दाजुभाइ र दिदीबहिनीहरू अब फर्केर कहिल्यै आउने छैनन् । कतै बूढा बाबु–आमाले छोराको मुख हेर्ने आशा राखेर ढोका ढोकैमा पर्खिरहेका छन्, कतै सानो नानीले बाबाको हात समाएर स्कुल जान नसक्ने भएर रातभर आँसु झारिरहेकी छ । कुनै परिवारमा दशैं अब कहिल्यै हरियो हुने छैन, कुनै आमाको आँचल सधैं चिसो हुनेछ । यो पीडा केवल ती परिवारको मात्र होइन, यो सम्पूर्ण राष्ट्रको साझा घाउ हो ।
यस्तो अवस्थामा अर्को ठूलो चोट देशले बेहोर्नुप¥यो—भाटभटेनी सुपरमार्केट जलेर खरानी भयो । ४० वर्षको संघर्ष, पसिना र इमानदारीले निर्माण भएको साझा संस्था एकै रातमा ध्वस्त पारियो । यो केवल पसल थिएन, यो लाखौं नेपालीको रोजिरोटी थियो ।
खोटाङको रावाबेसी गाउँका मिनबहादुर गुरुङले एउटा सानो किराना पसलबाट सुरु गरेर देशकै ठूलो सुपरमार्केट खडा गर्नुभयो । उहाँको पसलमा आमाको अचारदेखि गाउँको चामल, दूध–दहीदेखि तरकारीसम्म भेटिन्थ्यो । भाटभटेनीमा किनमेल गर्दा हामीले केवल सामान मात्र ल्याउँदैनथ्यौं, हामीले आफ्नै उत्पादन, आफ्नै पसिना, आफ्नै भविष्य घरसम्म ल्याउँथ्यौं ।
मिनबहादुर गुरुङसँग विदेश जाने बाटो खुलेको थियो, तर उहाँले रोज्नुभयो—यही देश । उहाँले विदेशतिर सम्पत्ति लैजानुभएन, बरु यहाँ गार्मेन्ट, होटल र विभिन्न उद्योग स्थापना गर्नुभयो । हजारौं युवालाई रोजगारी दिनुभयो, लाखौं उपभोक्तालाई सस्तो र गुणस्तरीय सामान दिनुभयो । उहाँले बाल अस्पताल बनाउनुभयो, जहाँ हजारौं बालबालिकाले जीवन पाए । यिनै उद्यमीहरूले देशलाई आत्मनिर्भर बनाउन ढुंगा गाडिरहेका छन् ।
तर नियतिको खेल देखौं—त्यही सपना, त्यही मेहनत केही घण्टामै जलेर खरानी बनाइयो। पसल ध्वस्त पारियो, सामान लुटियो, भविष्यमा विश्वास गर्ने हजारौं कर्मचारी बेरोजगार हुने त्रासमा पुगे । आन्दोलनको नाममा आफ्नो साझा सम्पत्ति जलाउनु भनेको आफ्नै घरमा आगो लगाउनु हो ।
तर गुरुङ हार मान्न तयार हुनुहुन्न । उहाँ अझै भन्नुहुन्छ, “म उठ्छु, फेरि बनाउँछु, फेरि देशकै लागि काम गर्छु ।” यो आत्मविश्वास केवल उहाँको मात्र होइन, यो त सम्पूर्ण नेपालीको साहस हो ।
हामी सबैले बुझ्नै पर्छ—उद्यमीहरू बिना देश अघि बढ्दैन । किसानले उत्पादन गर्छन्, श्रमिकले पसिना बगाउँछन्, उद्यमीले ती उत्पादनलाई बजारमा पु¥याउने पुल निर्माण गर्छन् । उद्यमीको संघर्ष भनेको केवल नाफा कमाउने होइन, राष्ट्रको मेरुदण्डलाई मजबुत पार्ने हो । त्यसैले उद्यमीलाई जोगाउनु भनेको देशको मेरुदण्डलाई जोगाउनु हो ।
आज म सम्पूर्ण नेपालीसँग हृदयदेखि अपिल गर्न चाहन्छु—जसले सामान चोरेका छन्, कृपया फिर्ता गरिदिनुहोस् । जलेका पसल सफा गर्न नजिकका टोलबासी श्रमदान गर्न अगाडि बढौं । व्यापारीहरूले केही समय थोरै नाफामा सामान बेचौं, उपभोक्ताले यो दशैं–तिहारमा भाटभटेनीलाई नै प्राथमिकता दिऔं ।
राज्यले दोषीलाई कठोर सजाय देओस्, तर अज्ञानतावश संलग्न भएका बालबालिकालाई शिक्षा र चेतना दिओस् ।
आज हामीले शहीद परिवारहरूको आँसु पुछ्नुपर्छ । उनीहरूलाई सम्झनुपर्छ कि उनका छोराछोरी, दाजुभाइ, दिदीबहिनीहरूले बेकारमा रगत बगाएका होइनन् । रगत बगाउनुको मूल्य तब हुन्छ जब हामी बाँकीले देश बनाउँछौं । र देश बनाउन उद्यमी, श्रमिक, किसान र उपभोक्ता सबैको साझा हात चाहिन्छ ।
भाटभटेनी केवल मिनबहादुर गुरुङको होइन, यो हजारौंको रोजगारी, लाखौंको भविष्य, हाम्रो साझा गौरव हो । यो जलाइएको छ, तर हामी सबै मिलेर यसलाई फेरि उठाउन सक्छौं । किनभने यो केवल पसल होइन, यो हाम्रो आशा हो, हाम्रो पहिचान हो, हाम्रो गौरव हो ।
(कटुवाल खोटाङ हलेसी सेवा समाज, काठमाडौंका निवर्तमान अध्यक्ष तथा युवा उद्यमी हुनुहुन्छ ।)








