अनुभूति : ‘अपराधी र राजनीतिज्ञको चरित्र फरक देखिएन’

news-details

सन १९३१ मे ७ मा अमेरिकास्थित न्युयोर्कको एक गिरफ्तारी उनीहरूका लागि सबैभन्दा चर्चित गिरफ्तारी थियो । ‘दुई बन्दुके’ भनिने क्रोलेलाई एक प्रहरी हत्याको आरोपमा गिरफ्तारी गरिएको थियो । क्रोलेलाई पक्राउ गर्न १५० जना प्रहरी र केही जासुसहरू संलग्न थिए । दुईहप्तासम्म दुईजना प्रहरी पछि लागेर उसलाई पक्राउ गरिएको थियो ।

त्यस दिन न्युयोर्कको एक ठूलो भवनमा प्रेमिकासँग रहेको अवस्थामा क्रोलेलाई पक्राउ गरियो । पक्राउ गर्न लाग्दा प्रहरीमाथि नै निरन्तर फायर गरेकोले घरको भित्तोमा प्वाल पारेर अश्रुग्यास हानेर उसलाई समातिएको थियो ।

चुरोट, रक्सी जस्ता कुनै अम्मलको लत नभएको क्रोलेले केही दिनअघि एक प्रहरीको हत्या गरेको थियो । सडककिनारामा कार रोकेर आफ्नी प्रेमिकासँग रोमान्स गरिरहेको उसलाई प्रहरीले लाइसेन्स माग्यो । त्यही निहुँमा तत्कालै उसले प्रहरीमाथि लगातार गोलि प्रहार ग¥यो । त्यतिले मात्र नपुगेर लडेको लासमाथि पनि निरन्तर प्रहार गरिरह्यो ।

मैँले यो प्रसङ्ग किन यहाँ उल्लेख गरेको भने उसलाई फासी दिनु केही अघि उसले सगर्व बोलेको थियो ‘मेरो छातिभित्र थकित, शान्त र दयालु मुटु छ । म कसैलाई कहिल्यै नोक्सान पु¥याउन सक्दिन ।’

अब वर्तमान नेपालको कुरा गरौँ । नेपालका सबैजसो गुण्डा र हत्याराहरू आफुलाई समाजसेवी ठान्छन् । क्रोलेलेझैँ दयालु मान्छे ठान्छन् ।

केही हप्ताअघि मात्रै गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले एक आपराधिक चरित्रको व्यक्तिलाई नियुक्त गरेको भनेर आलोचना भयो ।

यिनले त आफूलाई महान मात्र ठानेनन् रमेश खरेल र नेपाल प्रहरीलाई नै गुण्डा भनिदिए । भ्रम पैदा हुन्छ यिनका कुरा सुन्दा । यी समाजसेवी, राजनितिज्ञ हुन् भने सच्चा समाजसेवी र राजनितिज्ञ चाहीँ को हुन् ? यिनलाई सम्झेर तिनले के ठान्लान आफूलाई । यिनको गुण्डागर्दीका बिरुद्ध यिनलाई कानुनी दायरामा ल्याएका कारण प्रहरी गुण्डा भए ।

यिनकै कुरामा व्यवहारतः सहमत देखिन्छन् राजनैतिक दल र नेता पनि । राजनैतिक परिवर्तनको नाममा २०५२ देखि २०६२ सम्म आफ्ना विरोधीहरू माथि तरबार र बन्दुक चलाए, के फरक छ र अहिले पनि ? सरकारमा बसेर जनतालाई भेन्टिलेटर, आइसियु वा समग्रमा उपचार उपलब्ध गराउन नसक्नुमा । फरक तरिकाले मान्छे मार्नु नै हो ।

खर्च गर्न नसकेको अनेक शीर्षकमा अनेकथरी बजेट भएर पनि हातबाट काम खोसिएका जनतालाई दुईछाक खान नदिनु र महामारीले छटपटिएकालाई उपचार नदिनु उसबेला खुकुरी हानेर तड्पाइ तड्पाइ मार्नुभन्दा केही फरक छ र ?

फेरि एकछिन अमेरिकाकै बिगत हेरौँ । अमेरिकाका २६ औँ राष्ट्रपति थियोडोर रुजबेल्टले जब आफ्नै दलका विलियम हावर्ड टाफ्टलाई राष्ट्रपतिमा समर्थन गरे, जिताए । अनि आफू सिकार खेल्न अफ्रिका गए ।

फर्केपछि रुजबेल्टले टाफ्टलाई देश र जनताप्रति अनुदार देखे । उनकै बिरुद्ध अर्को पार्टी खडा गरे उमेदवारी दिए र टाफ्टलाई नराम्ररी हराए । तर पनि टाफ्टले आफु र रिपब्लिकन हार्नुको कारण आफू भएको स्वीकार गरेनन् । आजका हाम्रा दलका अनुदार नेताको जस्तै चरित्र त्यसबेला त्यहाँ देखिएको थियो । यसको अर्थ हाम्रो राजनीति सय वर्ष अघिको अमेरिकाको भन्दा तल छ ।

धुजाधुजा पारेर पार्टी फुटाउँछन् । सार्वभौम सत्ता राजालाई बुझाउँछन् । देश र जनताप्रति हदैसम्म अनुदार हुन्छन् । महामारीमा रोग र भोकले जनता मरेको थाहासम्म पाउँदैनन् कुर्सी युद्धमा मस्त हुन्छन् ।

जनताले रूचाएका रमेश खरेल, नवराज सिलवाल र कुलमान घिसिङहरूलाई पाखा लगाउँछन् । डङडङी गनाएका भ्रष्टहरूलाई खुलेआम बचाउ गर्छन् । आफ्नो चिल्लो चाकडी गर्ने जो कोहीलाई नियुक्ति पत्र थमाउँछन् र तिनैलाई काखमा लिएर बुबु खुवाउँछन् । अनि आफुलाई तिनैबाट राष्ट्र नायक भनाउँछन् ।

गुण्डा नाइकेहरू चरी र घैटे मर्दा डाँको छोडेर रूनेहरू महामारीले गरिब मर्दा चित्त दुखाउँदैनन् । बरू त्यसबाट आफ्नो सम्पन्ताको अवसर निर्माण गर्छन् । भुकम्पको बिपदमा होस् वा कोरोनाको महामारीमा आफुजस्तै कालो मनका व्यापारीहरूसँग मिलेर कात्रोमासमेत कालोबजारी र कमिसन खान्छन् ।

कुनै दल र नेता त्यसको बिरोध गर्दैनन् । आफु र आफ्नो दललाई नपोस्ने व्यापारीलाई रमेश गोर्खाली, दिपक मनाङे, चक्रे मिलन र स्थानिय यस्तै चरित्र र अनुहारहरू लगाएर धम्क्याउँछन्, असुल्छन् । नसके अर्को बाटो अपनाउँछन् ।

अनि सयवर्ष अघिको अमेरिकन हत्यारा क्रोलेले झैँ भन्छन् मेरो मुटु दयालु छ । म जनताको दुखप्रति आँसु झार्छु । यसको शिक्षा के हो भने अविकसित अवस्थाको राजनैतिक चरित्र र आपराधिक चरित्रमा केही भिन्नता देखिन्न चाहे त्यो जुनसुकै मुलकको होस् ।

राजनीतिमा आपराधिकरण र अपराधमा राजनीतिकरण भनेको यही हो । यसमा थप कालाबजारीकरण, तस्करीकरण, घुसखोरी र भ्रष्टीकरण भएपछि कसरी ऊँभो लाग्छ देश । कसरी उन्तत बन्छ जनताको जीवन स्तर । जब अपराध र राजनीति दुबैको चरित्र एकै छ भने कसलाई कसले मन्त्री बनायो भनेर कराउनुको तुक छैन । दुबै जुम्ल्याहा हुन् ।

राजनीतिबाट भ्रष्ट्राचार, तस्करी, कालाबजारी, घुसखोरी र अपराधलाई अलग गराएर तिनलाई बिषादी खुवाउनुछ भने बोलेर हुन्न अब संगठीत भएर अगाडि नआइ सुख छैन । आफू अघि नसर्ने भए बोल्न छाडौँ । त्यो ढोँग हुनेछ ।

नमिठो लाग्ला तर आँखा चिम्लेर सोचौँ त जसरी गुण्डाको पछि लाग्नेहरू गुण्डा हुन् त्यसरी नै राजनीतिक गुण्डाको पछि लाग्नेहरू पनि उस्तै हुन् । यो कुरा बुझौँ । यी पछुवाहरूको पनि भूमिका छ देशको अधोगति हुनुमा ।

आजको कोराना संक्रमणबाट मात्र होइन यस्ताखाले राजनीतिक संक्रमणबाट देशलाई मुक्त गर्नुछ भने यिनको भरले सम्भव छैन । यो जनताको आरोप होइन । व्यवहारतः उनीहरू आफैँले प्रमाणित गरिसके । अझै पनि हामी उनीहरूलाई विश्वास गर्छौँ भने हाम्रो नालायकी हो ।

आजको मितिसम्म यो दुर्गन्धित राजनीतिको बिकल्प पनि देखिएको छैन । केही सामाजिक संजालमा राजनीति गर्नेहरू दुई पात नहुँदै च्यातिइसके, यिनको पनि आश रहेन ।

सरकारको पात्र फेरिने सम्भावना हट्यो । हिन्दी सिनेमा शैलीमा सहमति बन्यो । त्यही शैलीमा पुनः असहमति आउन सक्छ । तर एउटा चरित्रलाई अर्को समान चरित्रले पालो दिनुको कुनै अर्थ पनि थिएन ।

मेरो दलकोतर्फबाट गगन थापा, विश्वप्रकाश शर्मा वा मिनेन्द्र रिजालको पुस्ता वा यस्तै क्षमता र भिजनले देश चलाउनेछ भनेर ठूलो छाति बनाउन सकेका पनि त थिएनन् अरुले पनि । १० पटक भए पनि म आफैँ हुनुपर्छ । यही लोभले परिवर्तन र विकासका सम्भावनाहरू टरिरहन्छन् ।

तथापि राष्ट्र बिनासक यस्ता पार्टी र नेताको बिकल्प अझै बाँकी छ । हरेक दलमा निष्ठाको राजनीति चाहने असल नेता र कार्यकर्ता धेरै छन् जो आफ्नै दलको नालायकीमा बोल्न सकेका छैनन् ।

ती एक ठाउँमा आउनुपर्छ । स्वच्छ छवि भएका सेवा निवृत्त वा सेवा छाडेरै भएपनि प्रहरी, प्रशासक, पत्रकार, लेखक, कलाकार, विभिन्न पेशाकर्मी, किसान र देशप्रति चिन्ता गर्नेहरू सबै एकसाथ अघि सर्नुपर्छ अब ।

सपनामात्र बोकेर होइन एउटा गतिलो भिजनसहित अघि बढ्नुपर्छ । एकचोटि मुटुमाथी ढुंगा राखेर भएपनि यी सबै दललाई मतदान गर्ने शुभचिन्तकहरु सच्चिनैपर्छ । यिनलाई सुधार्नका लागि पनि यसपटक यिनलाई त्याग्नैपर्छ । घुर्की नै सही ।

सधैँका लागि त्याग्न नसके पनि एक पटकका लागि, यो देश र भावी पुस्ताको भविष्य सोचेर भए पनि यति आँट गर्नैपर्छ । यो आँटिलो निर्णयले देश र जनताका लागि तीनओटा फाइदाहरू हुनेछन् ।

एक, जब यी पाखा लाग्छन् नेपालको राजनीतिमा भएको यस्तो ‘मौन आन्दोलन’ एक ऐतिहासिक सिकाइ हुनेछ । यसबाट अरू देशले पनि सिक्नेछन् । केजरीँवालले दिल्लीमा देखाएको साँघुरो सिकाइभन्दा माथि हुनेछ हाम्रो सन्देश ।

दुई, नव उदय शक्तिले केही त गर्छ । किनभने यसमा नयाँ नेता, नयाँ भिजन र नयाँ उमङ्ग मात्र होइन राम्रो नगरे बढारिन्छु भन्ने डर पनि हुनेछ ।

तेस्रो, लामो इतिहास र संघर्षबाट बनेको तर बाटो बिराएका पुराना दलहरू या त सुध्रिएर आउनेछन् या त कहिल्यै आउने छैनन् । सुध्रेर आए पनि बिलाए पनि देश र जनताको हित नै हुनेछ ।

यति भए देशको राजनीति सुध्रिनेछ । राजनीति फोहोरी खेलको विशेषणबाट मुक्त हुनेछ । नयाँ पुस्ता राजनीतिमा आउनेछ । पलायन भएकाहरू देश फर्किनेछन् । नव युवाहरूले पनि मतदान गर्ने दल भेट्ने छन् ।

विभिन्न नाममा बिरोध मात्र नगरौँ । साँच्चै देशको माया छ र देशलाई योगदान गर्ने रहर छ भने यो अभियान आजैबाट सुरु गरौँ ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “अनुभूति : ‘अपराधी र राजनीतिज्ञको चरित्र फरक देखिएन’

  1. यिनले त आफूलाई महान मात्र ठानेनन् रमेश खरेल र नेपाल प्रहरीलाई नै गुण्डा भनिदिए । भ्रम पैदा हुन्छ यिनका कुरा सुन्दा । यी समाजसेवी, राजनितिज्ञ हुन् भने सच्चा समाजसेवी र राजनितिज्ञ चाहीँ को हुन् ? यो गम्भिर प्रस्न हो? सवैले वेलैमा सोचौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *