कोरोना कहर र वैदेशिक रोजगार : चुनौतीलाई अवसरमा बदल्ने हो की ?

news-details

विदेशमा रहेका अलपत्र नेपालीहरुलाई सरकारले उद्धार गर्ने भएको छ । यसका लागि स्वदेश फर्कन चाहने विभिन्न देशमा रहेका नागरिकको विवरण १० दिनभित्र संकलन गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई सरकारले दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फिर्ता गर्ने निर्णय गरेको हो । समितिले यसका लागि पेश गरेको कार्यसूचि शनिबार बसेको मन्त्रीपरिषदको बैठकलेसमेत पारित गरिसकेको छ ।

अहिले झण्डै ४५ लाख नेपाली सार्क राष्ट्र बाहेकका मुलुकमा रहेको अनुमान छ । यसमा पनि मलेसीया तथा खाडी क्षेत्रका मात्र ७० प्रतिशतभन्दा बढी नेपाली रहेका छन । तर कति नेपाली विदेशमा छन् र कस्तो अवस्थामा छन भन्ने यकिन तथ्यांक सरकारसँग पनि छैन ।

विगतका केही वर्ष वैदेशीक रोजगार सम्बन्धी पत्रकारिता गर्ने अवसर पाएकोमा यस अवधिमा मैले वैदेशिक रोजगारका समस्या, पिडा तथा यससंग सम्बन्धित धेरै कुराहरु नजिकबाट नियाल्ने मौका पनि पाए ।

विदेश जानका लागि प्रक्रिया थालनी देखी विदेशी भूमिमा पुग्दासम्म नेपालीहरुले दुःख पाइरहेका घटनाहरु सर्वविदितै छ । त्यसपश्चात विदेशी भूमिमा कामका शिलशिलामा आइपर्ने दुःख त झनै कहालीलाग्दो नै छ ।

विशेषगरी खाडी मुलुकहरुमा गएका नेपालीहरुको दिनदिनै नराम्रा खबरहरु आउने कुराले पनि देशका मेरुदण्ड युवाहरुको अवस्था दयनीय रहनु हुन्न भन्नेमा नै मेरो जोड रहन्थ्यो । त्यसैले वैदेशिक रोजगारलाई बाध्यता नबनाएर स्वदेशमै रोजगार तथा स्वरोजगार बन्नुपर्छ भन्ने कुरालाई नै मध्यननजर गर्दै म रिपोर्टहरु बनाउने गर्दथे ।

तर भनेजस्तो सहज कहाँ थियो र ? १० वर्षे जनयुद्ध, राजनीतिक अस्थिरता तथा देश विकास र रोजगारी सिर्जनामा सरकारको खासै लगाव नदेखिएको अवस्थामा नै हो घर, परिवार, समाज अनि देशै छोडेर युवाहरु विदेशतर्फ आकर्षित बनेका । चाहेर वा नचाहेरै पनि धेरैको पहिलो रोजाई वैदेशिक रोजगार नै बन्न पुग्यो ।

विशेष गरी खाडी मुलुकमा जाने युवाहरु विना सीप र ज्ञान नै श्रम बजारमा प्रवेश गर्ने गर्दछन् । जसका कारण थोरै पारिश्रामिक पाउने समस्या त छदैछ, अपहेलीत तथा विभिन्न दुर्घटनामा परेका कयौं घटनाहरुलाई रिपोर्ट बनाएर पढ्नुपर्दा निकै गाह्रो हुन्थ्यो ।

एक पटक रिपोर्टिङ्गका क्रममा विदेशबाट फर्किएकी एक जना महिलासंग भेट भयो । मानसीक रुपमा निकै नै विचलीत हुनु भएकी उहाँसंग कुरा खोतल्दै जाने क्रममा निकै नै अभद« व्यवहार हुने गरेको सुने । घरेलु कामदारका रुपमा काम गर्ने ती महिलालाई निकै मानसीक तथा शारीरीक यातना दिइने रहेछ । जसका कारण आत्महत्या गर्न लागकी उहाँलाई कसैले बचाएर नेपाल फर्काइदिएका रहेछन् ।

यता पुरुषहरुको अवस्था पनि कम कहालीलाग्दो छैन । तल्लो तहको काम, कामकै शिलशिलामा अंगभंग तथा ज्याननै गुमाउनु परेका घटनाहरु लगातार आइरहनुले वैदेशीक रोजगारमा रहेका नेपालीहरुको अवस्था के छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।

विदेशमा रहने केही नेपालीले राम्रो आम्दानी नगरेका पनि होइनन् तर धेरै नेपालीहरुको अवस्था भने भयावह नै छ । यो त सामान्य अवस्थामा नेपालीहरुले विदेशी भूमिमा भोगेको समस्या थियो ।

यतीबेला कोभिड–१९ का कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा विदेशमा रहेका ठूलो संख्याका नेपालीहरु थप विचलीत बनेका छन् । यतीबेला वैदेशिक रोजगारीको क्षेत्रमा रहेका नेपालीहरु आफ्नै देशमा फर्कन चाहिरहेका छन् । यो एउटा चुनौतीले खडा गरेको अवसर पनि हो ।

कोही विद्धानले भनेका छन्, ‘सुनको कचौरामा बसेर नेपालले भीख मागीरहेछ ।’ कृषिमा अथाह सम्भावना हुदाहुदैं पनि खाद्यान्नका लागि नेपाल अन्य मुलुकमा निर्भर छ । अर्कोतर्फ जलविधुतमा पनि उत्तिकै सम्भावना छ । जडिबुटीको कुरा गर्ने हो भने हामी सस्तोमा जडीबुटी बेचेर महंगो औषधी किनेर खाइरहेका छौं । पर्यटनका कुरा गर्ने हो भने विश्वका हर कोही नागरिक नेपाल घुम्नका लागि आउन आतुर छन् । यी त केही सम्भावनाका कुरा मात्र भए । यस्ता थुप्रै सम्भावनाले भरीपूर्ण छ हाम्रो देश नेपाल । वास्तवमै विश्वका समृद्ध राष्ट्रहरुले पनि नेपाललाई स्रोत साधनले भरिपूर्ण सुन्दर देशको रुपमा व्याख्या गर्दछन् ।

कोही पनि नागरिक आफ्नो जन्मथलो छोडेर अरुको देशमा रमाउन चाहदैन । यो त बाध्यताले देश नै छोड्नुपर्ने स्थिती सृजना भएकोले मात्र हो । अब फेरी समय परिवर्तन हुदैंछ । सरकारको नारा नै छ, सुखी नेपाली, समृद्ध नेपाल । विकास उन्मुख योजनाहरुले केही हदसम्म प्राथमिकता पनि पाइरहेको छ ।

अब विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएर नेपाली माटोमा नै परिचालित गर्नु आवश्यक छ । तातो बालुवामा पसिना चुहाएर हरियाली बनाउन सक्ने नेपालीले आफ्नो देशमा पक्कै बहार ल्याउने छन् । मात्र अवसर अनी प्रोत्साहनको खाँचो छ । आफैमा सुन्दर देश नेपालमा देशका मेरुदण्ड युवाहरुको उपस्थितीले समृद्धिको बाटो अवश्य कोर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *