प्राकृतिक प्रकोप : ‘चट्याङ’ भूकम्पपछिको दोस्रो जोखिम

news-details

चैतदेखि असारसम्मको समयमा सबैभन्दा बढी चट्याङ पर्ने गर्दछ । त्यसैले यो समयलाई चट्याङको जोखिमयुक्त समय मानिन्छ । यी ४ वटा महिनामा कुनै न कुनै दिन देशको कुनै स्थानमा चट्याङ परेको र त्यसबाट भएको क्षतिको समाचार हरेक दिनजसो पढ्न र हेर्न पाइन्छ । यसबाट वार्षिक एकसय जनाको हाराहारीमा मानिसको ज्यान जाने गरेको तथ्यांकले देखाउँछ ।

यो संख्या बाढी, पहिरो, आगलागी मध्ये कुनै एकभन्दा बढी हो । यसबाट हुने क्षतिको आधारमा भुकम्पपछि दोस्रो जोखिम मानिन्छ यसलाई ।

विज्ञान शास्त्रका अनुसार चट्याङ एक प्रकारको इलेक्ट्रिक चार्ज हो । वादलका बिपरित दिशा एकापसमा ठोक्किँदा करेण्ट उत्पन्न हुन्छ र ठूलो आगोको मुस्लो निस्किन्छ, यसैलाई बिजुली चम्किएको भनिन्छ । एकपटक बिजुली चम्किँदा १२ करोड ५० लाख भोल्टको करेण्ट उत्पन्न हुन्छ ।

चट्याङ विज्ञ श्रीराम शर्माका अनुसार चट्याङबाट निस्किने तापक्रम ३० हजार डिग्री सेन्टीग्रेडसम्म हुन्छ । यो सूर्यको तापक्रम भन्दा बढी हो । यसबाट निस्किने ज्वालाले मान्छे वा चौपायलाई जलाउँछ । करेन्टको असरले आँखा, मुटु र कानजस्ता संवेदनशील अंगमा क्षति गर्दछ ।

यसको असर जमिनबाट १० किलोमिटर माथिसम्म हुन्छ । यदि यो जमीनमा आउने हो भने घरहरु सल्किन्छन्, त्यसलाई पानीले निभाउन सकिँदैन । र यसले जनधनको ठूलो क्षति गर्छ । कहिलेकाहीँ यसको असर जमीनसम्म आइपुग्दा नै केही जनधनको क्षति हुनेगरेको हो ।

अफ्रीकापछि नेपाल संसारकै चट्याङको उच्च जोखिममा पर्छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन अनुसार नेपालको पूर्वी भेग झापा, मोरङ, उदयपुर, मकवानपुर र चितवन सबैभन्दा बढी जोखिम हुने क्षेत्रमा पर्दछन् । यसमध्ये मकवानपुर सबैभन्दा बढी जोखिम हुने क्षेत्र हो घटना र क्षतिका आधारमा ।

यस वर्ष वैसाख १ देखि जेठ ११ गतेसम्मको तथ्याङेक हेर्दा ४२ दिनमा मकवानपुरमा सबैभन्दा बढी ८ वटा चट्याङ परिसकेको छ । देशभर परेको ८२ वटा चट्याङमा ७५ भन्दा बढी पहाडी क्षेत्रमा परेको देखिन्छ । तराइको सिरहामा एउटा चट्याङ परेकोमा एक जनाको मृत्यु भएको छ भने मोरङमा २ वटा कन्चनपुमा १ वटा चट्याङ परे पनि कसैको ज्यान गएको छैन । प्राधिकरणले जोखिम मानेका तराइका ती जिल्लाभन्दा अधिकांश चट्याङ भित्री मधेस र पहाडमा परेको देखिन्छ ।

तथ्यांक अनुसार अघिल्लो वर्ष २०७६ साल वैसाखदेखि चैत मसान्तसम्म नेपालमा ३५८ चोटी चट्याङ परेको थियो । त्यसको असरबाट ८९ जनाले ज्यान गुमाए, २४६ जना घाइते भए भने १ हजार १ सय ७७ चौपाय मरेका थिए ।

२०७७ साल वैसाख १ गतेदेखि जेठ ११ गतेसम्मको प्रहरी प्रधान कार्यालयको तथ्यांक हेर्ने हो भने देशभरमा ८२ वटा चट्याङ परेका छन् । जसबाट १८ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् । ३७ वटा चौपाय मरेका छन् भने ३ वटा घर र २ वटा गोठ जलेर क्षति भएको छ ।

प्राधिकरणका उपसचिब जनार्दन गौतमका अनुसार नेपालमा वर्षा वा हावाहुरी जस्तै चट्याङ पर्ने कुराको अघिल्लो दिन वा केही घण्टा अघि पूर्वानुमान गर्न सकिने प्रविधि सबैतिर छैन । सुर्खेत लगायत केही जिल्लामा रहेको प्रविधीले एकदुई घण्टाअघि स्थानीय स्तरमा मात्र सुचित गर्न सकिन्छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसरी यदाकदा जमीनसम्म आइपुग्ने चट्याङको क्षतिबाट बच्न विभिन्न सावधानी अपनाउनु पर्छ । र यसबाट हुने क्षतिलाई न्यून गर्न सकिन्छ ।

कोरोनाजस्तै चट्याङबाट सुरक्षित क्षेत्र आफ्नै घर हो । तर घरमा रहेका विद्युतीय सामानहरु खतरा हुनसक्छन् । त्यसैले अर्थिङ गरेर पनि यसको प्रभावलाई हटाउन वा घटाउन सकिन्छ । यदि अर्थिङ गरिएको छैन भने १० किलोमिटर टाढाको चट्याङले समेत असर गर्नसक्ने विज्ञको चेतावनी रहेको छ ।

गड्याङगुडुङ सहित पानी परेमा टिभी, फ्रिज, कम्प्युटर, वासिङमेसिन चलाउनु जोखिमपूर्ण हुन्छ । यस्तै झ्याल ढोका वा भित्तामा अडेस लागेर बस्नु, घरका रेलिङ वा बारहरु छुनु घरभित्रै पनि बाथरुममा नुहाइधुवाई गर्नु वा भान्सामा काम गर्नु पनि जोखिम हुन्छ । यस्तो बेलामा तारवाला फोन पनि प्रयोग गर्नु हुँदैन ।

यदि हामी घर बाहिर छौँ भने यसबाट बच्नका लागि बिजुलीको खम्बा मुनि बस्नु जोखिम हुन्छ । यस्तै छाता नओढ्न, भुईंमा थ्याच्च नबस्न, लम्पसार परेर नसुत्न, समेत प्राधिकरणको सुझाव छ ।

रुखको ओतमा बस्नु झनै खतरा हुन्छ । पौडी खेल्नु र खेतबारीमा काम गर्नु पनि हुँदैन । यस्तै काममा घरबाहिर भएकोबेला कतै सुरक्षित हुन नसक्ने अवस्था भएमा जहाँको तहीँ टुक्रुक्क बसी टाउकोलाई दुईटा घुँडाको बिचमा लुकाएर दुबै हात टाउकोमा राखे सुरक्षित हुन सकिन्छ । यदि व्यक्ति सवारी साधनभित्र भए भित्रै बस्नुपर्छ बाहिर निस्किनु हुँदैन ।

वर्षायाम भएकाले चट्याङ जतिबेला पनि पर्नसक्छ । यसबाट बच्न यी र यस्ता उपायहरु आफुले अबलम्बन गरी आफ्ना बालबालिकालाई समेत सिकाउन सकियो भने आफ्नो घर परिवारमा पर्ने बिपत्ति आफैँ टार्न सकिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *