अनुभूति : प्रहरीको युनियन भनेकै ‘जनता’

news-details

आँखा रसाए । रोक्नै नसकिने गरि बगे मेरा आँसुहरु । हृदय बाउँडियो अनियन्त्रित भएर ।

कोरोनाको त्रास वा मृत्युको भयले आँखा रसाएका होइनन् । परिवार र आफन्तको चिन्ता पनि लिएको छैन । विदेशमा भएका प्रियजनले आफूहरु साबधानी र सुरक्षित छौँ भनेका छन् । परिवार र आफन्त कसैमा संक्रमण पनि छैन । तर पनि झर्दारहेछन् आँसुहरु ।

दुःखका आँसुहरु धेरैपटक झरेका छन् । तर खुशीका आँसुले गालाका डिलहरु कमै चुमेका छन् । त्यही कम मध्येको आँसु हो यो ।

यिनै आँसुहरुले आफ्नो जीवन सार्थक भएको र आफूले लगाएको वर्दीप्रति सन्तुष्टि मिलेको छ ।

जनताको प्रेम र अपनत्वले पग्लिएर आँसुका पवित्र मोतिहरु गालाको डिल हुँदै नीलो वर्दीका टाँकहरुसम्म झरेका छन् । र त सार्वजनिक गर्न मन लागेको हो आफ्नै आँसुको कथा ।
प्रहरीको जुनी पाएकोमा आज तेस्रोपटक झरेका हुन् खुशीका आँसु । २१ वर्ष पहिले पहिलो पटक वर्दी लगाएर परेड प्रदर्शन पछि सत्य, निश्पक्ष, लोभ, लालच र भयरहित भएर देश र जनताको सेवा गर्ने कसम खाएको थिएँ । त्यही दिक्षान्त समारोहमा आफ्नी आमालाई साक्षी राखी सपथ लिँदा पुछेको थिएँ आँखाका डिलहरु ।

दोस्रोपटक ०७२ को भूकम्पपछि नागरिकको असिम स्याबासी पाएर पुछेको थिएँ । र आज विश्वव्यापी कोरोना संग्राम लड्दै गर्दा नागरिकले प्रदान गरेको अपार मायाले मन पगालिदियो र बगेका छन् आँखाहरु ।

जीवनकालमा थुप्रैचोटी कुँडिएको छ चित्त । र, कतिपटक सुटुक्कै र कतिपटक सामुहिकरुपमै बगाएको छु आँसुहरु ।

समाजको साझा चरित्र नै हरेक समुदाय र संगठनमा प्रतिबिम्बित हुने कुरामा कुनै बहसको आवश्यकता पर्दैन । मैले अनुभव गरेको प्रहरी संगठनमा समाजको खराब प्रवृत्ति प्रतिबिम्बित हुन नदिनेको संख्या कम छैन, थिएन ।

तर संगठनका थोरै खलनायकहरुले नै उनीहरुलाई परास्त गरिरहेकै छन् । खलनायकहरुले नै सबैतिरबाट प्रोत्साहन र साथ पाउँदा उनीहरुले विजय हासिल गरेका हुन् ।

अधिकांश सिनेमाको अन्त्यमा देखिने सत्यको जीत वास्तविक जीवन र संगठनका नायकहरुले हात पार्न सकेको बिरलै पाइन्छ ।

खलनायकहरुबाट अपमानित हुँदै, हार्दै, आदर्श जीवनप्रति उपहास झेल्दै यो जूनि बित्नेमा अब द्विविधा छैन । र आशावादी पनि छैन सत्य, निष्ठा र इमान्दारिका दिन आउनेछन् भन्नेमा ।
तथापी आफ्नो जीवन र पेशा सार्थक भएको छ । म आफू, परिवार, आफन्त र देशले हिनताबोध गर्ने कुनै काम गरेको छैन । आर्थिक अनुसाशन र पेशागत मर्यादामा दृढ छु । वर्दीको बदनाम गर्नेहरु आफ्ना दुश्मन ठानेको छु सधैँ । तिनकै कारण आफ्नो पेशागत परिचय दिन हिचकिचाहट गर्नु परेको छ । वर्दीधारीले नै वर्दीमाथि छेपेको हिलो पुछ्दै बितेको छ आशलाग्दो आधा जीवन ।

म व्यक्ति ‘शम्भु’ र मेरो पद कहिल्यै अलगिएर प्रसंशित वा आलोचित हुँदैन । किनभने मसँग ‘प्रहरी’ शब्द र संगठन सधैँ जोडिएरै आइरहन्छ ।

म र मजस्ताहरु सबैको मूल्यांकनमा खराब चरित्र र कर्महरुलाई नै आधार बनाइरहन्छ समाजले । एकै तराजुमा राखेर जोखिरहन्छ । सधैँ यस्तै लागिरह्यो ।

तर आज फरक आभाष भएको छ । आफ्नै बिचारको प्रतिद्वन्दीजस्तो भएको छु । प्रहरीका सानातिना त्रुटीमा समेत धारे हात लगाउने मान्छेहरु प्रहरीको लाठीका समर्थक र प्रशंसक बनेका छन् । कुनैपनि प्रतिकुल अवस्थामा मानव अधिकार उल्लंघन गर्नु हुँदैन भन्नेहरुप्रति प्रतिवादमा खन्निएका छन् । जीवनको रक्षाभन्दा ठूलो कुनै मानव अधिकार हुन सक्दैन । जीवनवादका अघि अरु सबै वादहरु गौण हुन भन्दै प्रहरीलाई सेल्युट गरेका छन् ।

हरेक मानिस मृत्युको भयले घरैभित्र बस्नु परेको छ । आफ्नो जीवन र प्रियजनको पर्वाह नगरी लकडाउनको आदेश पालना गराउन सडक र वस्तीमा खटिएका प्रहरीहरुको जयजयकार गरेका छन् जनताले । प्रहरीका सानातिना गल्तीमा कसैले औलो उठाएको सहेका छैनन् । खरो प्रतिवादमा उत्रेको देखिन्छ ।

संकटको यो घडिमा जीवन समर्पण गर्ने सबैप्रति उच्च सम्मान गरेका छन् । यस्ताबेला पनि आफ्नो स्वार्थ साध्नेहरु र कर्तव्यबाट पीठ फर्काउनेहरुलाई धारे हात लगाएका छन् ।
गणेशमानसिंहले भनेका थिए रे जनता भेडा हुन् । आज मलाई पनि त्यस्तै लागेको छ । सत्य, सेवा र सुरक्षाप्रति एकोहोरो प्रेम प्रदर्शन गरेका छन् जनताले । त्यसैले त मेरो मन आभारी बनेर आँखाहरु बगेका हुन् ।

प्रहरी लोभियो, बिक्यो ।

प्रहरीले आफ्नो र अर्काको भेद ग¥यो ।

पीडितलाई बेवास्ता गयो ।

बिनाकारण यातना दियो ।

समयमै जनताको काम गरेन ।

सेवाग्राहीसँग राम्रोसँग बोल्दैन, नमस्कारसम्म फर्काउँदैन ।

प्रहरी कुकृतिसँग मिल्यो ।

बिकृृतिसँग अंकमाल ग¥यो ।

प्रहरी ‘प्रहरी’ जस्तो भएन ।

प्रहरीप्रतिका असंख्य आरोप हुन् यी ।

‘……भो छोरी भन्न दे, जस्तो देखे त्यस्तै भन्छन् ।’ यो उखान महिला डोमिनेटेड भएपनि सान्दर्भिक लागेर उदृत गरेको हुँ । कम्तिमा ती आमाजस्तै उदार बन्नुपर्छ आफूमाथि गरिने टिप्पणीप्रति । माथिका आरोपहरुलाई पूर्ण सत्य मान्न नसकिए पनि पूर्ण असत्य ठानियो भने सुधारको बाटो अबरोध हुनेछ ।

बोराको एउटा आलु कुहिएर नै अरु आलु कुहिने हुन् । कुहिएको आलुलाई कुहिएकै ठानेर बोराबाट नफालिँदा थप आलु नचाहेर पनि कुहिन बाध्य हुन्छन् ।

कुहिएकाले नकुहिएकालाई आफूजस्तै बनाउन सक्छ । तर नकुहिएकाले कुहिएकालाई आफूजस्तो बनाउन सक्दैन । तसर्थ कुहिएकालाई फाल्नुको बिकल्प हुँदैन । हरेक संगठनमा यो लागु हुन्छ । तर कुहिएको आलु फाल्न मोलकाज गर्छौं हामी । बरु कुहिएको आलु आफ्नै बोराको रहेछभने कुहएिकोलाई नकहुएिको र नकुहिएकोलाई कुहिएको देखेर त्यसैलाई मिल्काएका उदाहरणहरु प्रसस्तै छन् ।

नायकीय चरित्र प्रदर्शन गर्न चाहनेहरु यस्तै वास्तविकता भोग्दै, सहँदै आफूलाई बचाइरहेका छन् । न राज्यले तिनलाई स्याबासी भन्छ । न परिवार, समाज र आफन्तले त्यो चरित्र पालना गरेका छन् । बरु बेबकुफ विशेषण प्रदान गरेका छन् ।

प्रहरी हाम्रो साथी ।

प्रहरी हाम्रो हिरो ।

प्रहरी हाम्रो छोरो ।

प्रहरी न्यायरक्षक ।

प्रहरी त्यागी ।

प्रहरी बलिदानी ।

प्रहरी सेवक ।

प्रहरी देवता ।

प्रहरी निर्विकल्प ।

प्रहरी मेरो खाँचो ।

जनताबाट कहिलेकहिँ मात्र प्राप्त हुने यस्ता दुर्लभ खुशीहरुले नै झारिदिँदारहेछन् आँसुहरु ।

एउटा हिन्दी सिनेमाको एउटा संवाद यहाँ सान्दर्भिक लाग्यो । ‘यो शहरका हरेक प्रहरी केबल इमान्दार भइदिने हो भने मन्दिरबाट एउटा चप्पल पनि कसैले चोर्न सक्दैन ।’

इमान्दारीपूर्वक गरिने कर्मले प्रदान गर्ने शक्तिको संकेत हो यो । सबै भूगोल र सबै समाजमा उत्तिकै लागु हुन्छ यो ।

प्रहरी पहरेदार हो । उसको इमान्दार पहरेदारीमा अपराधले प्रवेश पाउन सक्दैन । देशका अरु राष्ट्रसेवक कस्ता छन् भन्ने तथ्यका आधारमा प्रहरीले आफ्नो चरित्र निर्माण गर्नु हुँदैन । म के हुँ ? म किन हुँ ? भन्ने कुराले आफूलाई मार्गदर्शन गर्नुपर्दछ ।

मेरो सबथोक जनता हो । म उसको दुखको साथी हुँ सुखको होइन । यो सत्य हरदम किन छातिमा नराख्ने ?

मैले अति आदर गर्ने मातापिता जस्तै हुन् जनता, आफ्नो प्रेमि वा प्रेमिका जस्तै मायालु । सन्तानजस्तै प्रिय हुन् सेवाग्राही । यो भन्दा पर्तिर किन ठान्ने ?

छातिमा हात राखौँ न । हामी आफ्ना सन्तान, आमाबाबु, श्रीमतीबाट कुनै कुरा खोसेर वा छक्याएर वा बाध्य पारेर लिन्छौँ ? बरु आफूले सकेको सुबिधा पहिले उनीहरुलाई प्रदान गरेर मात्र आफू उपभोग गर्छौ । नभए गर्दैनौँ । यही होइन र प्रेमको सत्य ?

त्यसो भए हामीलाई किन आरोप लाग्छ अरुका नानीहरुको नाना खोसेर आफ्ना नानीहरुको खेलौनाको रहर पुरा गर्छौ ? अरुका श्रीमतीहरुको फरिया खोसेर आफ्ना श्रीमतीहरुको गहनाको जोहो गर्छौ ।

हामीले आफ्ना प्रियजनको खुशी र सुरक्षाका लागि जस्तो त्याग गर्छौ अरुका लागि पनि त्यस्तै गरेका छौँ । तर सबैले गरेनौँ । आफ्ना श्रीमती, छोरी र आमाहरुमाथि निर्मम अत्याचार हुँदाजस्तै अरुकालागि पनि संवेदनशील र आक्रामक भएका छौँ । तर सबैले यसलाई धर्म ठानेनौँ ।

यहीँ हो सच्याउनु पर्ने । उनीहरुमाथि भएका धोका र अत्याचारका बिरुद्ध बलीदानी भएका उदाहरणहरु छन् । तर कम छन् ।

इतिहासले वर्तमान चल्दैन । उदाहरणको गहुँतले चोख्याएर सबैलाई पवित्र पार्न सकिन्न । सबैको चरित्र प्रहरी संगठनको पवित्रतासँग मेल खानुपर्दछ । अनि उदाहरणहरु पूर्ण व्यवहारमा परिवर्तन हुनेछन् ।

यसका लागि प्रहरी सेवा रोज्ने युवाहरुमै जाँचिइनुपर्छ उनीहरुको स्वच्छता र इमान्दारी । ऊभित्र केबल सत्य, निष्ठा, निश्पक्ष, न्याय, निडर र इमान्दारीको भारी हुनैपर्दछ । स्वार्थसहितको जागिर खान र शासक बन्न खोज्नेहरुको प्रवेशले प्रहरी संगठनको मर्ममा प्रहार भइरहेको छ । अब रोकिनुपर्छ ।

अनि त स्याबासीको भागिदार प्रहरी बाहेक कोही हुन सक्दैन । देखिने र वास्तविक चरित्र एकै र उस्तै हुनुपर्छ । नत्र प्रहरी अपजसिया पेशा हो भन्ने धारणा परिवर्तन गर्न सकस हुनेछ ।
प्रहरी कर्म प्रसस्तै जस र स्याबासी पाउने कर्म हो । जो हरेक अवस्थामा दुखी र पीडितहरुका लागि काम गर्छ ऊ कसरी अपजसिया हुनसक्छ ? अपेक्षाकृत काम नगर्दा वा गर्न नसक्दा वा गर्दागर्दै असफल भएका कारण अपजसिया भएको कुरा स्वीकार गर्नुपर्छ ।

प्रहरी तस्करीसँग मिल्यो ।

प्रहरीले मुद्दा दर्ता गरेन ।

प्रहरीले बिनाकारण थुन्यो ।

कारण भएर पनि थुनेन ।

प्रहरीले दुव्र्यवहार ग¥यो ।

प्रहरी रुखो भयो ।

प्रहरीकहाँ जानु पर्दा चिनेको मान्छे चाहिने ।

हरेक दिन सुनिने यस्ता आरोप र बाध्यता बन्द गर्ने काम प्रहरीकै हो । प्रहरी गुण्डा हो । प्रहरी कठोर छ । प्रहरी फलाम जसरी बज्रिन्छ । प्रहरी दुश्मन हो । यस्ता विशेषण अपराधीको मुखले बोल्न बाध्य हुन् बरु । नागरिक अपेक्षा यत्ति त होला ।

बरु वर्दीको पवित्रताभित्र स्वार्थ, लोभ, पक्षपात, भय, बेइमानी चरित्र बोकेर जोजो विद्यमान छौँ । आज जनताले दिएको प्रेमले लज्जित होऔँ । र सुधारौँ आफूलाई । निकट वर्तमानसम्ममा जान–अन्जान जे जे गलत भए त्यसप्रति पश्चाताप गर्दै असल र इमान्दारहरुकै कित्तामा मिसिइहालौँ । त्यो नै जनताको कित्ता हो । सच्चा सेवकको कित्ता हो । प्रहरी संगठनको कित्ता हो । शिरको टोपीमा लगाएको राष्ट्रिय निशानीको कित्ता हो ।

किन कि प्रहरीको साथी र आफन्त जनता बाहेक अरु हुनै सक्दैन । धनदौलत र अरु कुनै अमुक शक्ति प्रहरीका मित्र हुन् सक्दैनन् । यी सबै भ्रम र दुश्मन हुन् जीवन र पेशा दुबैप्रतिका । जनताको माया र आशीर्वादभन्दा ठूलो सम्पति अरु हुन सक्दैन । यो कुरा पश्चातापपछि मात्र किन सिक्ने ? सुरुमै किन संकल्पित नहुने ?

प्रहरी संगठनले तेह्रथुम आगलागी होस् वा ०७२ को भूकम्प, वा यस्तै प्राकृतिक प्रकोप, हरेकपटक राष्ट्रिय राहत कोषमा तलबबाट काटेर दिएकै हो । प्रहरी कर्मचारीले स्वीकारेकै हो पीडित जनताका लागि प्रदान गरिने यस्ता राष्ट्रिय दानलाई । यस्तै स्वीकृतिको निरन्तरता मानेहुन्छ कोरोना राहत कोषको दान पनि ।

ढुकुटी रित्तिने गरी देशले के काम गरेका छ र प्रहरीको तलब काट्नुपर्ने ? जनताको यो तर्क पनि गलत नहोला । तर ३ दिनको तलब आफू र आफूजस्तै नेपालीको स्वास्थ्य सुरक्षामा खर्चगर्दा हामी भोकै पर्दैनौँ । बरु आत्मसन्तुष्टि मिल्छ दिएर खानुमा । अरुलाई दिने अवसर पनि हो यो । यसरी नै लिएका छौँ ।

प्रहरीका लागि जनताले चर्को स्वरमा यसरी बोलिदिनुजस्तो ठूलो अपनत्व के हुनसक्छ ? प्रहरीका लागि योभन्दा ठूलो पुरस्कार होला र अरु केही ?

प्रहरीको युनियन छैन । युनियनले खोक्रो पारेको देशमा प्रहरीको युनियनको कल्पना मात्र गर्नु देशकालागि धोखा हो, पाप हो । प्रहरी जनताको साथी बन्न सके प्रहरीको युनियन उनीहरु आफैँ बनिदिनेरहेछन् भन्ने उदाहरण होइन र यो ?

हामी प्रहरीको साथी बन्नेभन्दा पनि साथी भन्नेतिर पो बढी लाग्यौँ कि ?

भोलि कहिल्यै आउँदैन । त्यसैले आजै सपथ गरौँ ।

अनि पो बन्नेछ वर्दी जनताको शक्ति । र, वर्दीका शक्ति जनता । त्यसपछि कहाँ रहला अपराध, अन्याय र बेथिति ?

समिक्षा गरौँ । यस्ता महान जनतामाथि कुनै एकमात्र प्रहरीबाट सानो भन्दा सानो धोका नहोस् । प्रेमको बदला केबल प्रेम नै फिर्ता गर्न सकौं । नयाँ वर्ष ०७७ को यस पुनित अवसरमा सम्पूर्ण वर्दीधारीहरु जनताका नाममा एकसाथ सपथ गरौँ । केबल जनताका लागि ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “अनुभूति : प्रहरीको युनियन भनेकै ‘जनता’

  1. धेरै निकै राम्रो लेख पोस्ट गर्नु भएको मा धन्यवाद सम्भु सुस्केर ज्यु ,
    नेपाल प्रहरी ले जनताको मन जित्ने काम हरेक नेपाल प्रहरी ले गर्नु पर्छ अनि जनताले बिस्वाश गर्छन,
    नत्र भने यो यौटा किताब को पानामा लेखिएको लेख मात्र हुने छ ।
    प्रहरी मेरो साथी>>>भन्ने नारा हरेक नेपाली जनता को मुख मा गुञ्जियोस भन्ने आशा छ धेरै धेरै धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *