अनुभूति : ‘हात्तिलाई मान्छे बोकाऊ, मान्छेलाई हात्ति नबोकाऊ’

news-details

सर्वशक्तिमान कोरोनाले मान्छेलाई मृत्युको भय त दिएकै छ यसबाहेक अरु थुप्रै खाले तनाब पनि दिइरहेको छ ।

तनाबहरु अनेक छन्, खानको, बस्नको, लुट्नको, लुटेका लुकाउनुको, मौका छोप्नको, धेरै कमाउनको, कमाउन नपाउनुको, छोराछोरीको पढाइ छुटेको, स्कुल खुलेपछि एड्मीसन गर्ने पैसा नहुनुको, विदेशमा भएका आफन्तको स्वास्थ्यको, अरु दुःख बिरामीको उपचार गर्न नसक्नुको, निधन भएका आफन्तको शव उठाउने मलामी नपाउनुको, पेशा व्यावसाय गर्न नसक्नुको, कतिकति लेखी साध्य छैन ।

यीसँगै मेरो अर्को पनि छ एउटा तनाब, जुन अरु धेरैसँग मिल्न सक्छ । त्यो हो घरभाडा छुटको । यो वाक्य सुन्दा लोकप्रिय लाग्न सक्छ र लोकप्रिय हो पनि धेरैका लागि । राहत पनि मिल्छ यसबाट ।

म पनि दसौँ वर्ष डेरामै बसेको मान्छे हुँ । मलाई पनि थाहा छ भाडावाल हुनुको पीडा । हरेक ६ महिनामा भाडा बढ्ने, आफ्नो घरमा बसेजस्तो स्वतन्त्रता नहुने, घरबेटीले लाद्ने निरंकुश नियम, पानीको हाहाकार, असुविधा असंख्य ।

आफ्नै घरमा सरेपछि थाहा भयो घरबेटीका पनि केही समस्या र बाध्यता हुँदारहेछन् । भाडावालले सामान टुटाउने–फुटाउने, फोहोर पार्ने, सफाई नगर्ने, घरलाई क्यासिनो, बार र डान्सबार बनाउने, कतिले त युद्ध मैदान नै बनाइदिने । समयमा भाडा पनि नदिने । यस्ता धेरै छन् अप्ठ्यारा र असुविधा ।

यी यावत कुरा यहाँ नगरौँ अहिले । केबल कोरोनाको कहरले निम्त्याएको भाडा छुटको मात्र कुरा गरौँ । कस्ता घरबेटीले कस्ता भाडावालाई छुट दिने अलमलले निम्त्याएका तनाबका कुरा गरौँ ।

सामान्तयाः हुनेले नहुनेलाई वा कम हुनेलाई दिने हो कुनै छुट वा सहयोग । मेरो घरमा बस्नेको मेरो भन्दा ४ गुना बढी कमाइ छ । मैँले तपाइलाई त छुट दिनु पर्दैन होला नि हिजो सोधेको थिएँ उनलाई । दिनुपर्छ आफूले पाएको सुविधा छोड्नुहुन्न नि पो भने ।

धेरै जना आफूभन्दा कमजोर वा आफूजस्तै सामान्य मान्छेलाई पन्छाएर यिनलाई भाडामा दिएको थिए । पढेलेखेका मान्छे, गैह्र सरकारी संस्थामा काम गर्ने, आफ्नै कार भएका, यस्तै अनेक मूल्यांकन गरेर दिएको हु अहिले पश्चाताप भएको छ ।

आइएनजीओमा काम गर्ने मान्छे रहेछन्, म पनि बेरोजगार छु यसो जागिर पनि मिलाउलान्, रात बिरात दुःख बिराम पर्दा अस्पताल जान गाडि पनि देलान् भनिन् श्रीमतीले पनि । उनको तर्क ठिकै लाग्यो र यिनैलाई भाडामा दिइयो ।

न त उनले जागिर दिए । न त आपद विपत पर्दा गाडि काम लाग्यो । एकपटक राति २ बजे आमा बिरामी परेर अस्पताल जान सहयोग मागेको थिए, भरखरै जाँडले लट्ठ भएर सुतेका रहेछन् । उनी गाडी चलाउन सक्ने हालतमा थिएनन्, गाडिको चाबी देऊ न त भनेको अरुलाई चाबी दिने गरेको छैन भने । धन्न एकजना चिनजानका ट्याक्सीवालाले सहयोग गरे ।

अहिले तिनैलाई घरभाडा छुट दिनु परको छ । छुट पाउँदा ती खुशी हुनेछैनन् । न मलाई आशिर्वाद दिन्छन् । मेरो छुटले तिनलाई राहत मिल्ने छैन । श्रीमान् श्रीमती नै पियक्कड् छन् । उर्जा पानी पिएर एकरातमै सिध्याउँछन् १५ हजार रुपैया ।

आय आर्जनमा म भन्दा कमजोर र म जस्तै एकलाई यसरी भाडा छुट दिएको भए भाडा छुट दिँदा पनि भित्रैदेखि आनन्द आउँथ्यो होला । सरकारले १ महिनाको छुट दे भनेको छ । म दुई महिनाको छुट दिन्थेँ । तिनले जिन्दगिभर गुन सम्झिन्थे मेरो ।

मेरोभन्दा ४ गुना बढी बत्ती खर्च गर्छन् अझै बत्तीको पैसा पनि नतिर्ने कुरा पो गर्छन् यिनले । सरकारले मलाई यसरी छुट दिन्छ र रु म प्राइभेट फर्ममा २५ हजारको जागिर खान्छु । यिनको कमाइ एकलाखको छ । यिनको संस्थाले यिनकी श्रीमतीलाई समेत मासिक बीस हजार गृहिणी भत्ता दिन्छ । औषधी उपचार छुट्टै उपलब्ध हुन्छ ।

तिनलाई छुट दिएर न तिनले राहत महसुश गर्छन, न मलाई आनन्द आउँछ, उल्टै पीडा हुनेछ आफूलाई । एकातिर लकडाउन अवधिको आफ्नो तलब आउँछ आउँदैन पक्का छैन । अर्कोतिर घरभाडा नआउने निश्चित छ । म चाहिँ कहाँ जाउँ राहत माग्न ? यत्रो घर भएको मान्छे भनिहाल्छन् नगरपालिका जाउँ भने । घर बनाउँदाको लाखौँ ऋण बाँकी नै छ । बैँकले किस्ता छुट गर्ने छैन । सरकारले गर पनि भनेको छैन ।

खाली एउटा घरमा सम्पन्नता खोजेर कहाँ हुँदोरहेछ र रु स्थानीय सरकारसँग घरभाडाको मापदण्ड र करको दायरा पनि छैन । मैँले पन्ध्रहजार लिएको छु छिमेकीले सत्रहजार लिएका छन् । टोलमा बीसहजारसम्म चलेको छ रे उत्रै फ्लाटको । सायद अर्को चुनाबका लागि विषय बचाएका होलान् ।

अरुले भन्दा थोरै लिएको छु र त त्यो गुम्दा यत्रो तनाब हुँदैछ । अझ बीस हजार लिएको भए तनाबको स्तर झन बढ्ने थियो होला । अरुको बीस हजार गुम्दा मेरो पन्ध्रमात्र गुम्ने भयो भनेर खुशी हुनुपर्ने भएको छ ।

हुन पनि म भन्दा सम्पन्न एउटा परिवारलाई घरभाडा राहत दिनुभन्दा उसँग घरभाडा लिएर आधा आफू खाएर आधाले दुईवटा बिपन्न परिवारलाई खाद्य सामग्री दिन पाए कति खुशी हुन्थे, कति आशिर्वाद दिन्थे । यस्तै लागेको छ अहिले ।

मेरो चित्त खुशी नहुनुको कारण अरु पनि छ । मेरी श्रीमतीको नाक कान बुच्चै छ । नक्कली गहना लगाएर विवाह र पार्टीमा जान्छे । उसकी स्वास्नी चाहिँ कतै जानुअघि पहेँलपुर भएर माथि चढ्छे दिदी कस्तो देखिएकी छु भन्दै । अनि फुईं लगाउँछे म एउटा पार्टीमा लगाको गहना र कपडा अर्कोमा लगाउँदिन भनेर ।

तिनलाई मेरी श्रीमतीले घरको ऋण तिर्ने सानो रकमबाट घरभाडा छुट दिनुपर्ने । तिनका छोराको कोठाभरि लाखौँको खेलौना सामग्री छन् । त्यो देखेर मेरो छोरो रुन्छ मलाई पनि कार चाहियो, डोजर चाहियो भन्दै । दुईसय पचासमा सानो गाडि किनेर ल्याइदिएँ, झट्टी हान्यो बाहिरतिर । जुबलको जस्तै ठूलो गाडि चाहिन्छ भनेर घण्टौँ रोयो । उसको नक्कली कारको मूल्य कति पर्नेरहेछ भनेर सोधेको मलाई तिर्ने एक महिनाको घरभाडा बराबरको रहेछ ।

५ सयको खेलौना नपाउने मेरो छोराले पन्ध्रहजारको खेलौनासँग खेल्नेलाई घरभाडा राहत दिनुपर्ने भयो ।

यो संकट नेपालमा मात्र होइन हजार गुना ठूलो संकट महाशक्ति देशमा पनि छ । र, विश्वभरि संकट छ । एकापसमा देश र नागरिक मिलेर संकटलाई पार लगाउनुपर्छ । एकले अर्कोलाई सकेको सहयोग गर्नुपर्छ । तर नसकेको सहयोग कसरी गर्नु । नसक्नेले सक्नेलाई कसरी मद्दत गर्नु ।

हात्तिले मान्छे बोक्न सक्छ । बोकाउनै पर्छ कसैको उद्धार र मानवहितका लागि । तर जतिसुकै हित र उद्धार गर्छु भन्दा पनि मान्छेले हात्ति बोक्न सक्दैन । बोकाउने कोसिस पनि हुँदैन ।
बलियाले नै दुर्बललाई बोक्नुपर्छ दुर्बलको बुई चढ्नुहुन्न बलियाहरु । चेतना भया ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *