मन्त्री विष्टलाई मलेसिया रोजगारी ‘तातो दुध निल्नु न ओकल्नु’

news-details

झण्डै ६ महिना बन्द भएको पहिलो रोजगारी गन्तब्य मलेसिया अव खुल्ने आशामा बसेका नेपालीहरु अझै अन्योलमा छन् । भिषा लागेका तथा कलिङ भिषा आएकाहरुलाई समेत हेक्का नराखी एक्कासी मलेसिया रोजगारी बन्द गरेका श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले लामो संघर्षपछि मलेसियासँग श्रम सम्झौता त गरे तर अहिले उनलाई यही सम्झौता ‘तातो दुध निल्नुन ओकल्नु’ भएको छ ।

एक्कासी कुटनैतिक पहलविना नै मलेसिया रोजगारी बन्द गरेपछि खुलाउनका लागि चौतर्फी दवाव खेपेका मन्त्री विष्टले मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनसँग हतारमा सम्झौता गरेर खोक्रोरुपमा त वाहवाही कमाए तर अहिले उनी आफै भने विलखबन्दमा परेका छन् । मलेसियासँग श्रमसम्झौता गरेको १५ दिन नाघिसक्दासमेत मलेसिया रोजगारी नखुल्दा विदेश जान चाहने हजारौै युवाहरुमा निराशा छाएको छ ।
‘विना लागतमा मलेसिया रोजगारी खुल्यो भन्ने सामाचार दिन हतार गर्ने मन्त्री विष्ट १५ दिन नाघिसक्दा के हेरेर बसिरहेका छन्’ विदेश जाने चक्करमा राजधानीमा बसिरहेका संखुवासभाका देवीबहादुर खत्रीले आक्रोष पोखे ।

हतारमा मलेसिया बन्द गरेर चुकेका मन्त्री अहिले अपुरो सम्झौता गरेर झन फसेको जानकारहरु बताउँछन् । कामदार पठाउने र कामदारका पक्षमा गरिएको सम्झौता सही भएपनि आफैले कारवाही गरेका संस्थाबाट नै कामदार पठाउन मलेसियाले भनेपछि मन्त्री विष्ट झन अफ्ठ्यारोमा परेका हुन् । अहिले मन्त्री विष्ट आफुले कारवाही गरेका संस्थालाई पन्छाई आफु निकट व्यवसायीलाई सुम्पिएर सोही प्रकृया स्थापित गर्ने दाउमा रहेको मन्त्रालय स्रोतको भनाई छ ।

अहिलेको अवस्था भनेको जग्गा पास गरेर धनीपूर्जा हात पारिसकेपछि टेक्निकल टिमलाई लिएर जग्गा खोज्न निस्केजस्तो भएको छ । नयाँ बोतलमा पुरानै रक्सी हाल्नु थियो भने किन सम्झौता गर्नु ? प्रश्न उठ्न थालेको छ ।

‘मलेसियासँग सम्झौता गर्नु राम्रो पक्ष हो तर सोही प्रकारका संस्था स्थापित भयो भने मन्त्रीज्यूले नैतिकताका आधारमा राजिनामा दिनु पर्छ’ लोकतान्त्रिक वैदशिक रोजगार फोरमका अध्यक्ष हंशराज वाग्लेको भनाई छ ।

मलेसियासँग रोजगारी खुलाउने शर्तमा हस्ताक्षर गर्दासमेत यति लामोसमयसम्म नखुल्दा दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न हुन सक्ने खतरा झन बढेको छ । यसले गर्दा मन्त्री विष्ट झन चंगुलमा फसेका छन् ।

यता मेनपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत सम्झौता अपुरो भएको र व्यवसायीलाई मान्य नहुने बताउँदै आएको छ । ‘दुई देशबीच भएको सम्झौता ‘दालमा कुच काला’ भनेझै किन अहिलेसम्म सार्वजनिक गरिएको छैन’ संघले आवाज उठाउँदै आएको छ । मेनपावर व्यवसायीलाई साथमा नलिई सरकारले कसरी कामदार मलेसिया पठाउन सक्ला त्यो भोलिका दिनले नै बताउने छ ।

हुन त मन्त्री नेपालमा नै सबैलाई रोजगार दिने ध्याउन्नमा छन् ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “मन्त्री विष्टलाई मलेसिया रोजगारी ‘तातो दुध निल्नु न ओकल्नु’

  1. पहिलो पटक श्रमिकका पक्षमा नेपालको शिर ठाडो हुने गरी मन्त्री विष्टले गरेको सम्झौता वैदेशिक रोजगारीमा नेपाली श्रमिकलाई ठग्दै लुटको स्वर्ग खडा गरेकाहरुलाई नपच्नु स्वाभाविक हो । आज विश्वमा मानव श्रम सर्वाधिक मूल्यवान बन्दैछ । सीमित व्यक्तिको स्वार्थका लागि झुकेर श्रमिक पठाउन जरुरी छैन । मलेसियालाई जनशक्ति र नेपाललाई रोजगारी चाहिएको हो । आजको जमानामा श्रमिक पठाउनेले स्वाभिमान झुकाउन जरुरी छैन । मन्त्री विष्टले श्रमिकको हित र देशको स्वाभिमानका लागी चट्टानी अडान राखेका छन । तर केही प्रायोजितको नूनको गुन तिर्ने समाचार आम नागरिकले बुझिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *