गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकतापछि पहिलो पटक आयोजना हुन लागेको ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ प्रति देश–विदेशका गैरआवासीय नेपाली तथा विभिन्न क्षेत्रका नेतृत्वको आकर्षण बढ्दै गएको छ।

आगामी अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टर मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कंडेलका अनुसार सम्मेलनमा सहभागी हुने अतिथिहरूको उपस्थितिको पुष्टि (कन्फर्मेशन) आउने क्रम तीव्र रूपमा जारी छ। नेपालका सांसद, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, एनआरएनएका अध्यक्षसहित संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी, एसिया–प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, लगानीकर्ता, पर्यटन व्यवसायी, वैदेशिक रोजगार क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरू सम्मेलनमा सहभागी हुनेछन्।

कंडेलले सम्मेलनलाई उपलब्धिमूलक र प्रभावकारी बनाउन विभिन्न देशका प्रतिनिधिसँग निरन्तर समन्वय, अतिथि व्यवस्थापन, कार्यक्रमको अन्तिम तयारी तथा सहभागिता सुनिश्चित गर्ने कामलाई तीव्रता दिएको बताएका छन्। सम्मेलनलाई एनआरएनएको नयाँ एकताको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको उनको भनाइ छ।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले पनि एकतापछि हुन लागेको पहिलो एसिया प्यासिफिकको सम्मेलन भएकाले विश्वभर रहेका सबै एनआरएनए अभियन्तालाई ग्वाङ्झाउमा सहभागी हुन आग्रह गरेका छन्। उनले हालै निर्वाचित पदाधिकारी, सल्लाहकार तथा संरक्षकहरूलाई सम्मेलनमा उपस्थित भई औपचारिक रूपमा सपथ ग्रहण गर्न विशेष अनुरोध गरेका छन्। संघले हालै विभिन्न पदाधिकारी, सल्लाहकार र संरक्षकको मनोनयन समेत गरिसकेको छ।

‘आरोहण २०२६ सम्मेलनले विश्वभर फैलिएको नेपाली डायस्पोरालाई लगानी, पर्यटन, व्यापार, ज्ञान र पुस्तान्तरणीय सम्बन्धमार्फत नेपालसँग थप मजबुत रूपमा जोड्ने लक्ष्य लिएको छ।

सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, व्यापारिक साझेदारी (बी–टु–बी नेटवर्किङ), पर्यटन प्रवर्द्धन, सूचना प्रविधि, जलविद्युत, कृषि, पूर्वाधार विकास, वैदेशिक रोजगारी, श्रमिक सुरक्षा, महिला उद्यमशीलता तथा युवा सहभागिताजस्ता विषयमा गहन छलफल हुनेछ। विशेषगरी वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र उत्पादनमुखी बनाउने विषयमा समेत छुट्टै सत्र सञ्चालन गरिने कार्यक्रम रहेको छ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली युवालाई भाषा, संस्कृति, पर्यटन र नेपालसँगको भावनात्मक सम्बन्धमा जोड्ने कार्यक्रमलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ।

एनआरएनए एसिया प्यासिफिकको आरोहण : ग्वाङ्झाउमा सांसददेखि शीर्ष राजनीतिक नेतृत्व, विश्वभरका एनआरएनए अगुवा र पदाधिकारी सहभागी हुँदै

दुईदिने सम्मेलनमा पाँचवटा विषयगत सत्र सञ्चालन हुनेछन्। उद्घाटन समारोहमा नेपाल र चीनका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ भने सम्मेलनको समापनमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गर्दै नेपाल सरकारलाई लगानी, पर्यटन, वैदेशिक रोजगारी र प्रवासी नेपालीका सरोकारसँग सम्बन्धित नीतिगत सुझाव प्रस्तुत गरिनेछ।
एनआरएनए चाइना स्थानीय आयोजक रहेको सम्मेलनलाई सफल बनाउनका लागि एसिया प्यासिफिक उपसंयोजकहरु भविन्द्र बस्नेत, लालसिंह खड्कालगायतका टिम सक्रियरुपमा जुटिरहेका छन् ।

आयोजकका अनुसार सम्मेलनमा ६०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। एनआरएनएको एकतापछि आयोजना हुन लागेको पहिलो क्षेत्रीय सम्मेलन भएकाले यसलाई संघको भावी कार्यदिशा तय गर्ने तथा विश्वभरका नेपालीलाई साझा उद्देश्यमा जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।