मिस नेपाल २०२६ को प्रतिष्ठित उपाधि दीपमाला ढकालले जितेसँगै विश्वभर फैलिएको गैरआवासीय नेपाली (एनआरएन) समुदायमा खुसी र उत्साहको लहर छाएको छ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को वर्तमान कार्यसमितिमा हङकङबाट दोस्रो पुस्ताको संयोजक रहेकी ढकालले मिस नेपालको ताज जित्दै नेपाली डायस्पोराको इतिहासमा नयाँ अध्याय थपेकी छन्।
शनिबार सम्पन्न ग्रान्ड फिनालेमा दीपमालाले केवल मिस नेपालको मुख्य उपाधि मात्र जितिनन्, उनले एकैसाथ तीन ऐतिहासिक कीर्तिमानसमेत कायम गरिन्। उनी मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली, मिस नेपाल हङकङ (डायस्पोरा) बाट मुख्य उपाधि जित्ने पहिलो प्रतियोगी, तथा चार सहविधा जित्ने पहिलो प्रतिस्पर्धी बन्न सफल भइन्।
उनले मिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्युटी विथ पर्पस जस्ता महत्वपूर्ण सहविधा जित्दै आफ्नो क्षमता र व्यक्तित्वको उत्कृष्ट परिचय दिइन्। यही सफलताले उनलाई आगामी मिस वर्ल्ड प्रतियोगिताको तयारीका लागि थप आत्मविश्वाससमेत दिएको छ।
एनआरएनएको दोस्रो पुस्ताको सफल प्रतिनिधित्व
विदेशमा जन्मिएका वा हुर्किएका नेपाली मूलका युवाहरूलाई एनआरएनएले ‘दोस्रो पुस्ता’का रूपमा परिभाषित गर्दै आएको छ। नेपालसँगको भावनात्मक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई जीवन्त राख्ने उद्देश्यले गठन गरिएको यस अभियानको नेतृत्व गरिरहेकी दीपमालाले अहिले विश्वभरका नेपाली युवाका लागि प्रेरणाको नयाँ उदाहरण प्रस्तुत गरेकी छन्।
हङकङमा हुर्किएकी दीपमालाको सफलताको अर्को भावनात्मक पक्ष पनि छ। उनकी आमा रोशनी ढकालले सन् १९९४ मा मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। त्यसबेला पूरा हुन नसकेको सपना छोरीले तीन दशकपछि साकार पारेकी हुन्।

विश्वभरका गैरआवासीय नेपालीबाट बधाई
दीपमालाको जितसँगै अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ, यूएई, कतार, साउदी अरब, मलेसिया लगायत विभिन्न मुलुकमा रहेका नेपाली समुदायले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्। धेरैले यसलाई डायस्पोरा नेपालीको साझा गौरव भन्दै दोस्रो पुस्ताले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा अझ मजबुत बनाएको प्रतिक्रिया जनाएका छन्।
एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले दीपमालाको सफलताले गैरआवासीय नेपाली समुदायको गौरवलाई नयाँ उचाइमा पुर्याएको बताएकी छन्। त्यसै गरी एनआरएनए सचिव टिका गुरुङले आफ्नो कर्मथलो हङकङकी चेलीले मिस नेपालको उपाधी जित्नु हङकङबासीको मात्र नभएर विश्वभर रहेका नेपालीको गर्वको विषय रहेको जनाएकी छिन् । उनले यो उपलब्धिले विश्वभर रहेका नेपाली मूलका युवालाई आफ्नो पहिचान, संस्कृति र मातृभूमिसँग जोडिन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन्।
नेतृत्व तहबाट बधाई
दीपमालाको ऐतिहासिक सफलतापछि एनआरएनएका अन्तर्राष्ट्रिय नेतृत्व तहबाट पनि औपचारिक शुभकामना तथा बधाई व्यक्त गरिएको छ। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माको सन्देश प्रवत्ता सोम सापकोटा मार्फत दोस्रो पुस्ताको यो उपलब्धिलाई संगठनको दीर्घकालीन अभियानलाई सकारात्मक टेवा मिलेको बताएका छन् । विश्वभर रहेका नेपाली मूलका युवालाई नेपालसँग जोड्ने एनआरएनएको अभियानका लागि दीपमालाको सफलता एउटा प्रेरणादायी उदाहरण बनेको विश्लेषण गरिएको छ।
दीपमाला ढकालको सफलता केवल एउटा सौन्दर्य प्रतियोगिताको जित होइन। यो विश्वभर फैलिएका लाखौं गैरआवासीय नेपालीका सपना, पहिचान र मातृभूमिप्रतिको आत्मीय सम्बन्धको प्रतीक हो। विदेशमा जन्मिएर वा हुर्किए पनि नेपालीपनलाई गर्वका साथ आत्मसात् गर्दै नेपालको राष्ट्रिय मञ्चमा सर्वोच्च सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दीपमालाले दिएकी छन्।
पछिल्ला वर्षहरूमा एनआरएनएले दोस्रो पुस्तालाई नेतृत्व, भाषा, संस्कृति र मातृभूमिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। दीपमालाको जितले ती प्रयासलाई थप ऊर्जा प्रदान गरेको छ।
अब दीपमालाले आगामी एक वर्ष द हिडन ट्रेजरको प्रतिनिधिका रूपमा विभिन्न सामाजिक अभियानमा सहभागी हुनेछन् भने आगामी मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने तयारीमा जुट्नेछिन्। त्यस्तै, मिस नेपाल इन्टरनेसनल आर्या निशान्तले जापानमा हुने मिस इन्टरनेसनल र मिस नेपाल कस्मो कशिश सुब्बाले भियतनाममा आयोजना हुने मिस कस्मो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
विश्वभर छरिएर रहेका नेपाली समुदायका लागि दीपमाला ढकालको यो जित केवल एउटा व्यक्तिगत सफलता होइन, नेपाली डायस्पोराको इतिहासमा गर्व गर्न लायक एउटा अविस्मरणीय उपलब्धि बनेको छ।








