गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, प्रविधि र लगानीलाई नेपालको विकाससँग जोड्ने उद्देश्यसहित आयोजना गर्न लागेको ‘चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७’ लाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको छ। सोही अभियानअन्तर्गत संघले राष्ट्रपतिदेखि सरकारका प्रमुख मन्त्री तथा राष्ट्रिय योजना आयोगका नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेको छ। भेटवार्तामा सरकारले सम्मेलनलाई सहकार्य गर्ने, गैरआवासीय नेपालीसँग सम्बन्धित नीतिगत सुधार अघि बढाउने तथा लगानी र ज्ञान हस्तान्तरणलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।
यस अभियानको सबैभन्दा महत्वपूर्ण भेटका रूपमा सम्माननीय राष्ट्रपतिसँग भएको शिष्टाचार भेटलाई लिइएको छ। एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान, प्रविधि तथा हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मी र उपमहासचिव कृष्ण पोखरेलले राष्ट्रपति निवासमा पुगेर विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै सम्मेलनको उद्देश्य, तयारी र अपेक्षित उपलब्धिबारे जानकारी गराएका थिए।
भेटका क्रममा सम्माननीय राष्ट्रपतिले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक तथा दक्ष जनशक्तिलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभवको आदान–प्रदान गर्ने उद्देश्यसहित आयोजना हुन लागेको सम्मेलनको प्रशंसा गर्नुभयो। उहाँले नेपालको समृद्धिका लागि विदेशबाट आउने पूँजीसँगै ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनको लगानी पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूको बौद्धिक क्षमता र अनुभवलाई राष्ट्र निर्माणसँग प्रभावकारी रूपमा जोड्न सके नेपालले दीर्घकालीन रूपमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
राष्ट्रपतिले गैरआवासीय नेपाली समुदायले नेपालको आर्थिक, सामाजिक तथा बौद्धिक विकासमा अझ प्रभावकारी योगदान दिन सक्ने उल्लेख गर्दै सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र प्रवासी नेपाली समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले विश्व ज्ञान सम्मेलनलाई त्यस दिशामा महत्वपूर्ण अभियानका रूपमा समेत व्याख्या गर्नुभयो।
राष्ट्रपतिसँगको भेटपछि एनआरएनएले सरकारका विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग पनि उच्चस्तरीय संवादलाई निरन्तरता दिएको छ। डा. ज्ञानेन्द्र रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतम तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग छुट्टाछुट्टै भेट गरी विश्व ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गरेको थियो।

भेटवार्ताका क्रममा सरकारका तर्फबाट सम्मेलनलाई सफल बनाउन आवश्यक सहकार्य गर्ने, गैरआवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र लगानीलाई राष्ट्रिय विकाससँग जोड्ने तथा आवश्यक नीतिगत सुधार अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको एनआरएनएले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न थप सहज वातावरण सिर्जना गर्न सरकारले दोहोरो कर (डबल ट्याक्सेसन) प्रणाली हटाउने दिशामा आवश्यक प्रक्रिया अघि बढाएको जानकारी दिँदै विश्व ज्ञान सम्मेलन–२०२७ लाई सरकारी सहकार्य उपलब्ध गराइने प्रतिवद्धता जनाउनु भयो ।

परराष्ट्रमन्त्री शिशिर खनालले विश्वभर रहेका नेपाली विज्ञहरूको अनुभव नेपालका लागि महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै सम्मेलनलाई सफल बनाउन सरकार सकारात्मक रहेको बताउनु भएको छ । यस्ता सम्मेलनले नेपाल र विश्वभरका नेपालीबीच ज्ञान आदान–प्रदान र सहकार्य विस्तार गर्ने उहाँको विश्वास थियो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनासँग भएको भेटमा एआई, डिजिटल रूपान्तरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, नवप्रवर्तन र लगानी प्रवर्द्धनका विषयमा विस्तृत छलफल भएको थियो। सम्मेलनलाई सरकार, निजी क्षेत्र, विश्वविद्यालय तथा विश्वभर रहेका नेपाली विज्ञबीच दीर्घकालीन सहकार्यको प्रभावकारी मञ्च बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका थिए।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीसँग भएको भेटमा आधुनिक कृषि, अनुसन्धान, प्रविधि हस्तान्तरण तथा उत्पादन वृद्धि अभियानमा विश्वभर रहेका नेपाली कृषि विज्ञलाई परिचालन गर्ने विषयमा सहकार्य गर्ने समझदारी बनेको छ। मन्त्री चौधरीले एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत नेपाली कृषि वैज्ञानिकहरूको विवरण संकलन गरी सरकारसँग सहकार्य गर्न आग्रह गर्दै कृषि क्षेत्रमा नवप्रवर्तन भित्र्याउन यस्तो साझेदारी आवश्यक रहेको बताउनु भयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतमले गैरआवासीय नेपाली सम्बन्धी ऐनलाई पुस–माघभित्र संसदमा प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिँदै एक पटकको नेपाली, सधैंको नेपाली भन्ने अवधारणाप्रति सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले गैरआवासीय नेपालीका कानुनी तथा प्रशासनिक समस्या समाधान गर्न आवश्यक सुधार अघि बढाइने र लगानीमैत्री वातावरण निर्माणका लागि एनआरएनएसँग सहकार्य गरिने स्पष्ट पार्नुभयो ।

प्रतिनिधिमण्डलले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनसँग भेटवार्ता गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गरेको थियो। नेपालमा अनुसन्धान, नवप्रवर्तन, प्रविधि विकास तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने सरकारको अभियानमा विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता तथा उद्यमीहरूको ज्ञान, सीप र अनुभवलाई जोड्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउन सक्ने विषयमा छलफल भएको थियो।

त्यसैगरी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भएको भेटमा विश्व ज्ञान सम्मेलनलाई राष्ट्रिय विकासका प्राथमिकतासँग प्रत्यक्ष जोड्ने विषयमा छलफल भएको थियो।

विगतका सम्मेलनका निष्कर्षलाई कार्यान्वयनमुखी बनाउँदै यसपटक सम्मेलनलाई समाधानमुखी मोडलमा सञ्चालन गर्ने योजना रहेको डा. रेग्मीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित छ वटा विषयगत क्षेत्रमा केन्द्रित छलफल हुनेछ, जसले विश्वभर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीलाई नेपालका नीति निर्माता, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रसँग जोड्नेछ।
एनआरएनएको पछिल्लो उच्चस्तरीय कूटनीतिक पहलले विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ लाई केवल एउटा सम्मेलनमा सीमित नराखी ज्ञान, प्रविधि, नवप्रवर्तन, लगानी र नीतिगत सुधारमार्फत नेपालको विकाससँग विश्वभर रहेका नेपालीलाई जोड्ने राष्ट्रिय अभियानका रूपमा स्थापित गर्ने संकेत दिएको छ। राष्ट्रपतिदेखि सरकारका प्रमुख मन्त्रालयसम्मबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्मेलनको प्रभावकारिता अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।
उक्त भेटवार्ताहरूमा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा.रेग्मी, उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राई, उपमहासचिव कृष्ण पोखरेल, महिला संयोजक रश्मी थापा, सहकोषाध्यक्ष गंगा खतिवडा, प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे सहभागी थिए।








