गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन शेरचनले जापानको टोकियोमा सम्पन्न नेपाल पत्रकार महासंघको ग्लोबल सम्मेलनले प्रवासी नेपाली पत्रकारिता, विश्वभर रहेका नेपाली समुदाय र नेपालको राष्ट्रिय हितलाई जोड्ने महत्वपूर्ण मञ्चका रूपमा आफूले लिएको बताएका छन्।

शनिबार टोकियोमा सम्पन्न सम्मेलनप्रति प्रतिक्रिया व्यक्त गर्दै वरिष्ठ उपाध्यक्ष शेरचनले विदेशमा रहेका नेपालीको आवाज, समस्या, उपलब्धि तथा राष्ट्रिय हितका विषयलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न पत्रकारिताको भूमिका अझ जिम्मेवार, तथ्यपरक र प्रभावकारी बन्नुपर्ने आवश्यकता सम्मेलनले स्पष्ट रूपमा उजागर गरेको बताए।

उनका अनुसार सम्मेलनमा प्रवासी नेपाली समुदायका समसामयिक मुद्दा, एनआरएनएको भूमिका, नेपालको लगानी सम्भावना, आर्थिक विकास, उद्यमशीलता तथा प्रवासी नेपालीको योगदानसँग सम्बन्धित विषयमा प्रस्तुत गरिएका खोजमूलक कार्यपत्र र गहन छलफलले आगामी दिनका लागि सकारात्मक मार्गनिर्देशन गरेको छ।

प्रवासी नेपाली पत्रकारिता र एनआरएनए अभियान राष्ट्र निर्माणको साझेदार : बरिष्ठ उपाध्यक्ष शेरचन

शेरचनले अब एनआरएनएलाई केवल रेमिटेन्स पठाउने संस्थाका रूपमा मात्र नहेर्न आग्रह गर्दै विश्वभर छरिएका नेपालीको ज्ञान, सीप, पूँजी, प्रविधि र अनुभवलाई नेपालको विकाससँग जोड्ने अभियानमा संघ सक्रिय रूपमा अघि बढिरहेको बताए।

उनले नेपालको आर्थिक समृद्धि, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा गैरआवासीय नेपालीको भूमिका दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै सरकार, निजी क्षेत्र, सञ्चारमाध्यम र प्रवासी नेपाली समुदायबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

ूविश्वभर रहेका नेपालीको अनुभव र क्षमतालाई राष्ट्र निर्माणसँग जोड्ने अभियानमा पत्रकारिताले सेतुको भूमिका खेल्नुपर्छ। सत्य, तथ्य र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरिने पत्रकारिताले नेपालप्रति अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँने शेरचनले बताएका छन्।

उनले जापानमा सम्पन्न ग्लोबल सम्मेलनले सरकार, नेपाल पत्रकार महासंघ, गैरआवासीय नेपाली संघ र विश्वभर रहेका नेपाली समुदायबीच सहकार्य, समन्वय र हातेमालोलाई अझ सुदृढ बनाउने स्पष्ट सन्देश दिएको विश्वास व्यक्त गरे।

वरिष्ठ उपाध्यक्ष शेरचनले सम्मेलनको सफल आयोजनाका लागि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र गोर्खाली, सम्पूर्ण आयोजक, वक्ता, सहभागी तथा पत्रकारहरूलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।

उनले आगामी दिनमा प्रवासी नेपाली पत्रकारिता अझ सशक्त, मर्यादित र प्रभावकारी बन्दै जाने तथा एनआरएनए, सरकार र विश्वभर रहेका नेपाली समुदायबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन्।

नेपाल पत्रकार महासंघको ग्लोबल सम्मेलनले विदेशमा रहेका नेपाली पत्रकारहरूबीच अनुभव आदान–प्रदान, सहकार्य विस्तार तथा प्रवासी नेपाली समुदायका साझा सरोकारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठान गर्ने प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूको निष्कर्ष रहेको छ।

प्रवासी नेपाली पत्रकारिता र एनआरएनए अभियान राष्ट्र निर्माणको साझेदार : बरिष्ठ उपाध्यक्ष शेरचन